पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि भाइटिका महोत्सव आयोजना गर्ने

पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि तिहारको अवसरमा यही कात्तिक २३ गते भाइटिका महोत्सव आयोजना गर्ने भएको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो महोत्सव आयोजना गर्न लागिएको हो । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्धेश्य समेत महोत्सवले लिएको उनले जनाए ।

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, द्यौसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको छ । गत बर्षको ११ औं भाइटिका महोत्सवमा १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका थिए । भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहो¥याएर समेत टिका लगाउन पोखरा आउन थालेका छन् । भाइटिका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रडक्ट समेत बन्न थालेको छ ।

महोत्सवमा सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु भइसकेको महोत्सवका संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् । लेकसाइड स्थित होटल लेण्डमार्क, ग्ल्यासियर होटल एण्ड स्पाः र बटरफ्लाई लजमा नाम दर्ता गराउन सकिने संस्थाले जनाएको छ । होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । महोत्सवमा आफ्ना पर्यटकीय प्रतिष्ठानका पर्यटकलाई कार्यक्रममा सहभागीता गराइदिन समेत संघले सम्बन्धित सबैमा आव्हान गरेको छ । अपरान्ह साडे दुई बजे सुरु हुने कार्यक्रममा सहभागिता लागि संघले संचारकर्मीलाई समेत अनुरोध गरेको छ ।