एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी

के.बि.मसाल
अहिले नेपालको कुनैपनि जिल्लामा घुमघाममा निस्कदा पर्यटनका कुराहरु उठने गर्दछ । पर्यटन क्षेत्रको विकास गर्न सबै स्थानीय तहहरु जुरमुरायको पाइन्छ । तर पनि धेरै ठाउमा पर्यटनको विकास गर्न पुर्वाधारकै कमी देखिन्छ । सरकारले सार्बजनिक गरेको एक सय वटा पर्यटकीय गन्तव्यको सुचिमा चितवन जिल्लाको माडीको सोमेश्वरगढीलाई पनि समाबेश गरिएको छ । चितवन जिल्लाको माडी नगरपालिका ५ मा रहेको सोमेश्वरगढी ऐतिहासिकस्थल हो ।

चितवनको माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ । वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ । निकुञ्जको वन्यजन्तु र मानिसबीचको द्वन्द्वले चिनिएको माडी अहिले पर्यटनको गन्तब्य हुन थालेको छ । प्रकृतिले सिँगारेको माडी उपत्यका पर्यटनको हब बन्दै गएको छ । माडी क्षेत्रको वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक, धार्मिक स्थल, थारु बस्ती र उनीहरुको संस्कृति, तरकारी तथा फलफूल खेती, माछापालन, रेशम खेती आदी पर्यटकका लागि आकषर्णका केन्द्र बनेका छन । चारैतिर पहाड, जंगल र बीचमा उपत्यका रहेको माडी पर्यटकका लागि रमणिय स्थल मानिन्छ । माडीको कल्याणपुरमा रहेको सहिद स्मारक टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भूगोल अवलोकन गर्न सकिन्छ । रातको समयमा टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द पर्यटकहरुले लिन पाउछन् ।


माडी उपत्यका भित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरुङ्गी र जंगली जनावारहरु देख्न पाइउदा पर्यटकहरु रमाउछन । माडी क्षेत्र तीर्थाटन पर्यटकहरुलाई पनि उत्तिकै महत्व मानिन्छ । माडी क्षेत्रमा गोद्धकधाम, पाण्डवनगर गाउँ, वाल्मीकी आश्रम, सोमेश्वरगढी, गर्दी र बघौडाका थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, गोपालनगरको माछापालन, लक्ष्मीनिवास गाउँ आदि रहेका छन । जुन कारणले माडी एउटा सानो संग्रहालयजस्तो मानिन्छ । अयोध्यापुरीको जंगल क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट मेघौली र आसपासका केही क्षेत्र देख्न सकिन्छ । कल्याणपुर गाउँको गोपालनगरमा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि आजभोली पर्यटकियस्थल बनेको छ ।


माडी नगरपालिका नेपालको प्रदेश नम्बर तीनमा पर्ने चितवन जिल्लामा पर्दछ । चितवन जिल्लाको साबिक बघौडा, गर्दी, कल्याणपुर र अयोध्यापुरी गाउँ विकास समितिलाई समेटेर माडी नगरपालिका भएको हो । अहिले माडी नगरपालिकाको केन्द्रभने बसन्तपुर बजार रहको छ । माडी उपत्यका भरतपुरको चौबिसकोटीबाट दक्षिणतर्फ ४० कि.मी.पार गरेपछि माडी क्षेत्र शुरु हुन्छ । भरतपुरको चौबीसकोठीबाट दक्षिण तर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, जगतपुर हुदै चितवन राष्ट्रिय निकुञ्ज पार गरेपछि आउने उपत्यकानै माडी क्षेत्र हो । माडी उपत्यकामा जादा १० कि.मी निकुञ्जको जंगल पार गर्नु पर्दछ । माडी उपत्यकाको चारैतिर चुरे पहाडले घेरेको छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको माडी उपत्यकामा जैविक बिबिधता रहेको छ ।

माडी उपत्यकाको दक्षिण तिर सोमेश्वर चुरे डांडा जुन भारतसंग जोडिएको छ भने यसको पुर्ब, पश्चिम र उत्तरमा राष्ट्रिय निकुन्ज पर्दछ । उर्बर एबं सुन्दर भूभाग चारै तिरबाट चुरे पहाड अनी राष्ट्रिय निकुन्जले घेरिएको माडी उपत्यकामा दर्जनौ साना खोला, नालाहरु दक्षिणबाट उत्पन्न भै उत्तरतिर बगेका छन । मरोट खोला, देउता खोला, घोसरी खोला, मगोई खोला, रौतने खोला, बादरमुडे खोला, रिमाल खोला, घाघर खोला, बघाई खोला माडी उपत्यकाका प्रमुख खोलाहरु हुन् । रेवा नदी माडीको प्रमुख नदी हो । जुन खोला नालाहरुले माडीबासी किसानहरुको लागि बरदान र कहिलेकाहि बिनास समेत गर्ने गरेको छ । रेवा नदी माडी उपत्यकाको दक्षिण पुर्बबाट उदगम भएर माडीको उत्तर तिर राष्ट्रिय निकुन्ज संग जोडिएर नागबेली आकारमा बगिरहेको छ ।

माडीका चार गाउँ बेग्लै चार वस्तुहरुका लागि प्रख्यात मानिन्छन् । गर्दी गाउँ तरकारी तथा फलफुल र तोरी खेती, बघौडा गाउँ रेशम खेती, कल्याणपुर गाउँ माछापालन र रेशम खेती,अयोध्यापुरी गाउँ धान र मकै खेतीका लागि प्रख्यात मानिन्छ । जुन कारणले धान, तोरी, रेशम र माछाका लागि माडी प्रख्यात छ । माडी उपत्यकाको बसन्तपुर बजारलाई माडीको मध्य बिन्दुको रुपमा लिइन्छ । बसन्तपुर बजारमा माडीको हेल्थ सेन्टर, क्याम्पस, माडी एफ एम, त्रिबेणी विकास बैंक, पुष्पान्जली हष्पिटल आदी संघ सस्था रहेका छन । किनमेलको लागि किराना तथा फेन्सी पसलहरु खुलेका छन । त्यसैगरी बरुवा बजार, बसन्तपुर बजार, कल्याणपुर, किर्तनपुर. देबेन्द्रपुर, खर्कटा आदी माडी उपत्यकाका प्रमुख बजारहरु हुन् । माडी पुगेपछि पर्यटकहरुले घुमफिर गर्ने स्थलहरु मध्ये चैते दशैँमा लाग्ने गोदक मेला तथा परशुराम कुण्ड स्नान तीर्थाटन यात्रा, पाच पाण्डव गुप्त वास बसेको क्षेत्र, सोमेश्वर कालिका मन्दिर, बैकुण्ठ ताल, कल्याणपुर गोपालनगरको माछा खेती जस्ता स्थलहरु पर्यटकियस्थल बनेका छन । त्यसैगरी नेपालको द्वन्द कालको अत्यन्त हृदय विदारक बाँदरमुढे घटनाको स्मारक पनि पर्यटकहरुले अवलोकन गर्न सक्दछन ।

माडीभित्र रहेका ऐतिहासिक महत्वका वस्तु वा स्थानहरुले पनि माडी उपत्यका पर्यटकहरुलाई आकर्षणको स्थल भएको छ । ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढी माडीमानै पर्दछ । सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको छ । नेपाल र अंगे्रजबीच लडाइँको समयमा अग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो । तर पछि पानीको समस्याले गर्दा सेनालाई त्यहाँबाट उपरदाङगढी सारिएको इतिहास छ । लिच्छवी शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका थिए ।


माडी क्षेत्रको वाल्मीकि आश्रम नेपालकै एक मुख्य धार्मिक स्थल हो । तर वाल्मीकी आश्रम पुग्न भने माडी उपत्यकाबाट भन्दा सजिलो यात्रा नवलपरासीको बरघाट हुदै त्रिवेणी भएर जादा सजिलो हुन्छ । माडीभित्र वाल्मीकि आश्रमलगायत गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, कुकुरनाथ, बिरालोनाथ आदि धार्मिक महत्वका स्थान, ताल, नदी, र मन्दिर रहेका छन् । गर्दीमा रहेको पाण्डवनगर पनि नेपालकै मुख्य धार्मिक स्थलमा पर्दछ । युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव र द्रौपदी रेवा नदी किनार आई बसेका हुनाले नै त्यो ठाउँलाई पाण्डवनगर भनिएको हो भन्ने धार्मिक मान्यता रहिआएको छ । यहाँ अझै पनि अर्जुनले वाणले खोपेर बनाएको भनिने इनार र उनीहरुका मूर्तीहरु देख्न सकिन्छ । अयोध्यापुरीमा रहेको वैकुण्ठ ताल पनि पवित्र धार्मिक स्थल मानिन्छ । जहा वैशाख शुक्ल पूर्णिमा र बालाचतुर्दशी गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । जहाँ भगवान गौतम बुद्धले पनि एक रात बिताएका स्थल मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालका सबैभन्दा लोकप्रिय पर्यटन स्थलहरूमध्ये एक हो । चितवन राष्ट्रिय निकुञ्जमा दुई मुख्य प्रवेशहरु छन । पूर्वमा सौराहा र पश्चिममा मेघौली गाँउ । पर्यटकहरुको लागि चितवन राष्ट्रिय निकुञ्ज लोकप्रिय छ । निकुञ्जमा विशेष गरेर एक सिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरु पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरुमा हरिण, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज भित्र पाइने, पाटेबाघ, लगुना, गौरी गाई, मृग, भालु लगायतका जंगली जनावर, निकुञ्ज भित्र रहेको घडियाल गोही प्रजनन केन्द्र र विभिन्न किसीमका किराफटेगं्रा, चराचुरुगीं हेर्न प्रत्येक वर्ष हजारौ स्वदेशी तथा विदेशी पर्यटकहरुको ओइरो लाग्ने गर्दछ ।


चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु जैविक विविधताले गर्दा पर्यटकहरु चितवनको माडी क्षेत्र घुम्न मन पराउछन । विश्व सम्पदा सुचीमा समेत सुचिकृत यस निकुञ्ज भित्र रहेका ठुला घांसे मैदान, सिमसार क्षेत्र ताल र यहां पाइने चराहरुको चिरविर आवाजले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । त्यसमा पनि हात्तीमाथी चढेर जंगल घुम्न पाइने हुनाले निकुञ्ज भित्रका जंगली जनावर हेर्न झनै सजिलो भएको छ । चितवन राष्ट्रिय निकुञ्ज ऋजष्तधबल ल्बतष्यलब िएबचप नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ कि.मी.रहेको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ ।

माडीको इतिहास
काठमाडौंमा लिच्छवि वंशको शासन शुरु भएपछि लिच्छवि राजा मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी काठमान्डौँ फर्कने क्रममा चितवनमा थारु जातिको बसोबास शुरु भएको थियो । चितवनमा बसोबासको शुरुवात माडी क्षेत्रबाट भएको मानिन्छ । लिच्छविकालीन राजा अशुंवर्माको पालामा भारतसँग हुने गरेका सबै व्यापारहरु माडीको सोमेश्वरको बाटो हुँदै हुने गर्दथियो । माडीको सोमेश्वर त्यतिखेरको एकमात्र नेपाल र भारतबीचको सीमा नाका थियो । यसरी लिच्छविकालमा माडी एउटा व्यापारिक नाका भएको थियो । चितवनको मानव बस्तीको विकास माडीबाट शुरु भएको मानिन्छ ।

माडीको नामाकरण
हालको बघौडा र गर्दी मात्र शुरुमा माडी क्षेत्र थियो । पछि २०२३ सालमा चितवनलाई २२ पञ्चायतबाट ४२ पञ्चायत बनाउने क्रममा अयोध्यापुरी, कल्याणपुर र ठोरी पञ्चायत थप गरी पाँच पञ्चायतको माडीको प्रशासनिक भूगोल भयो । २०३४÷०३५ मा सीमा पुनर्गठन समितिले ठोरीलाई पर्सा जिल्लामा गाभेपछि माडी क्षेत्र हालको भूगोलमा आएको हो । माडीको नाम माण्डव्य ऋषिले तपस्या गरेका हुनाले उनै ऋषिको नामबाट रहन गएको मानिन्छ । अर्को तर्क अनुसार चारैतिरबाट माडीलाई पहाडले घेरिएको उपत्यका भित्र बग्ने रेवा नदीले मडारिदै बनेको सम्म भूभागलाई माडी पनि भनिन्छ । थारु भाषाअनुसार हाल माडी भनेर चिनिने सम्पूर्ण भूगोललाई नभई बघौडा गाउँको रेवा नदीकिनारको केही भागलाई मात्र शुरुमा माडी भनेर चिनिन्थ्यो । थारु भाषामा माड भनेको धापिलो वा ओसिलो र डी भनेको घडेरी हुन्छ । यसरी माड र डी मिलेर माडी नाम रहेको कुरा पनि पाइन्छ ।

माडी पुगेपछि पुग्नै पर्ने ठाउ
चितवनको सदरमुकाम भरतपुरबाट ६८ र पर्साको सदरमुकाम बिरंगजबाट ७० किलोमिटरको दुरीमा रहेको ठोरी अहिले पर्सा जिल्लामा पर्दछ । जुन चितवनको माडी नगरपालिकासँग जोडिएको छ । ठोरी नेपालको राजनितीमा ऐतिहासिकस्थल मानिन्छ । माडी उपत्यकाबाट ठोरी जान ९ कि.मी.निकुञ्ज भित्रको सडक यात्रा गर्नु पर्दछ । ठोरी लौहपुरुष गणेशमानको जीवनका महत्वपूर्ण घटनासँग जोडिएको स्थल हो । गणेशमान सिंहले धनुर्वाणको प्रशिक्षणदेखि राजनीतिक प्रशिक्षण दिएको स्थलको रुपमा ठोरीको इतिहास छ । राणा शासन विरोधी अभियानको क्रममा पेस्तोलसहित सिंह ठोरीबाटै पक्राउ परेका थिए । राणा र पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा पटकपटक ठोरी पुगेका सिंहले मुलुकमा प्रजातन्त्र बहाली भएपछि आफैंले इच्छाएर ठोरीमा आमसभा राख्न लगाएका थिए । काठमाडौं मकवानपुर–ठोरी र गोरखा, तनहुँ र चितवन–ठोरी क्रान्तिकारीहरुको भूमिगत पैदल मार्ग थियो । त्यसैले ठोरीदेखि ४० किमि नजिक नरकटियागंजस्थित लालहरी घिमिरेको घरमा हतियार भण्डार रहेको र ठोरीमा सेल्टर चलाएको गणेशमानकालीन वृद्धहरुको भनाइ छ ।

बि.स.१९८५ बाट ठोरीमा बस्ती शुरु भयो भने २०२१ सालबाट पहाडी जिल्लाका बिभिन्न ठाउबाट ठोरीमा आएर बसोबास गरेका थिए । ठोरीको निर्मलबस्ती २०३४ साल अघि चितवन जिल्लामा थियो । सदरमुकाम भरतपुरबाट त्यस समय ठोरी पुग्न हिडेर जानुपर्ने थियो । चितवन राष्ट्रिय निकुन्जमा जिवजन्तुको डर, राप्ती, रेवा जस्ता नदीले गर्दा ठोरी पुग्न कठिन थियो । त्यो समयका तनहु, लमजुङ, गोरखा र धादीङ जिल्लाका मानिसहरुको नुनतेल र अन्य आवस्यक सामाग्री खरिद गर्ने नाकाको रुपमा पनि ठोरी थियो । ठोरीलाई २०३५ सालमा पर्सामा समायोजन गराइए पनि अझ ठोरीका बासिन्दा प्रदेश ३ अर्थात चितवन जिल्लामा रहन चाहन्छन ।

माडी उपत्यकामा घुमफिर गर्दा बस्ने खानेको कुनै समस्या पर्दैन । पर्यटकहरुलाई सेबा दिन होमस्टे सञ्चालनमा आएका छन । माडी नगरपालिका–८शिवद्वारमा मगर समुदायले ०७२ सालदेखि होमस्टे सञ्चालन गरेका छन् । शिवद्वारमा ११ वटा घरमा होमस्टे सन्चालन गरी पर्यटकहरुलाई पारिवारिक वातावरणमा राख्ने गरिन्छ । वन्यजन्तु, वनजंगल, प्राकृतिक सुन्दरता र संस्कृति हेर्न जाने पर्यटकहरुलाई होमस्टेले सुविधा दिएको छ । बाह्य पर्यटकहरु लुम्बिनी, पोखरा घुमेपछि माडी पुग्ने गर्दछन । होमस्टेमा बस्ने, स्थानीय संस्कृति हेर्ने, गाउँघरको जनजीवन अवलोकन गर्न पाउदा पर्यटकहरु खुशि हुन्छन् । शिवद्वारमा मात्र होइन माडीकै पाण्डप नगरमा पनि बोटे जातीले होमस्टे सन्चालन गरेका छन ।
माडी उपत्यका घुमफिर गर्न भरतपुरको चौबिसकोटीबाट सार्वजनीक बस तथा साना गाडीहरु समेतको सेवा छ ।