चिसो आधार शिविरको न्यानो स्मृति

अगनसिंह थापा

आँखाले नभ्याउने सेताम्य हिउँ र चिसोको साम्राज्य छ जताततै । हिउँको सेतोपनलाई न्याय दिलाउन सक्ने कुनै मापदण्डको शब्द वा बिम्ब छैन मसंग । न त छ मसंग- बुझाउन सक्ने गरि बताउने शब्दशैली वा सामर्थ्य । घाम लागेपछिको सेतोपनको प्रचुरता कतिसम्म भने कालो चस्मा बिना हिउँ हेर्नै सकिदैन । त्यस्तै छ चरम चिसो माइनस ८ डिग्रीको । त्यसमाथि मुटु छिचोल्ने सिरसिरे बतासले थप चिसो बनाउन सहयोग गरेको छ ।

जतिसुकै प्रबल प्रतिकूलता किन नहोस् । हिम सौन्दर्यको भब्यताले नगण्य बनाइदिन्छ । त्यसैले त साङ्ग्रिला उपत्यका अर्थात् अन्नपूर्ण आधार शिविरको आगनभरी उल्लास र उमंगको मेला लाग्छ एकाबिहानै । मन थाम्न नसकिने अपूर्व सौन्दर्यमा नुहाउन नशा-नशामा उत्साहको कोसी उर्लाएर भेला भएका छन् पर्यटकहरू ।

घामको पहिलोपहिलो झुल्काले हिमशिखरहरू तामाका मुना जस्तै एकपछि अर्को टुसाउदै जान्छन् । सुखद आश्चर्यमा परम तृप्ति बनेर । यस्तो अनुपम दृश्यसंगै एकैसाथ थाहै नपाइकन हर्ष, प्रसन्नता र रोमान्चकता छाउछ पर्यटकको मुहारमा । प्रीति कुन दिनदेखि कसरी बस्यो, प्यार गर्ने आफैलाई नै थाहा नभए जस्तो अज्ञानता मै । आफैलाई पूर्ण बनाइदिने यो भन्दा अरु के हुन सक्छ पर्यटकका लागि खुसीको खजना !

अन्नपूर्ण बेसक्याम्पको विशेषता भनेको चारैतिर मज्जाले मुस्कुराइरहने विशाल हिमचुचुराहरू बीच आफैलाई आनन्दमा हराउनु हो । हिमशिखर कतिसम्म आखै सामुन्ने देखिन्छन् भने मानौं सजिलै हातैले सुम्सुम्याउन सकिन्छ । अति आकर्षक यी सुन्दर शिखरहरूको नाम पढ्नुभन्दा प्रत्यक्ष भिडियो हेर्नुमा हितकारी लाग्छ । किनभने लेख्ने, पढ्ने र सुन्नेको होइन, हेर्नेको जमानामा छ आजकल ।

विश्व पदयात्रा मानचित्रमा उत्कृष्टताको श्रेणीमा कहलिएको गन्तव्य स्थल हो- अन्नपूर्ण आधार शिविर । अन्नपूर्ण संरक्षण क्षेत्र (नेपालकै सबैभन्दा ठूलो संरक्षण क्षेत्र, ६६२२ बर्गकिलोमिटर) भित्र पर्ने यो अति चर्चित र आकर्षक केन्द्र (४१३० मिटर) पदयात्राका लागि पुग्ने नेपालका सर्बाधिक धेरै पर्यटक पुग्ने मध्येका गन्तव्य पनि हो ।


प्राकृतिक, जैविक, भौगोलिक, ऎतिहासिक र सास्कृतिक सम्पदाका बिबिध खाले सौन्दर्यले झकिझकाउ सिंगारिएको छ अन्नपूर्ण पदमार्ग । जसमा मौलिक विशेषताका दर्जनौं लोकप्रिय पर्यटकीय गाउँ समेटिएका छन् । मनमोहकताको हिसाबले पनि बिशेष किसिमका   फरकफरक सम्पदाका आयामबाट फरकफरक मिठासका आनन्द, उर्जा र पाठ सिक्न सक्छन् पर्यटकले ।

शहरदेखि गाउँका कुनाकाप्चासम्म कच्ची बाटो बिस्तारको धुलोधुवाबाट निस्सासिएका छन् अहिले आम नेपाली । शान्त शीतल बनजङ्गलको वातावरण र स्वस्छ स्वास्थ हावा यस्तो आक्रान्तबाट मुक्ति कारक मात्र बन्दैन । जो कोहीको लागि जीवन उर्जा पनि बन्न सक्छ ।

प्रकृति कै मनमोहक र अनुपम छ्हारीमा मान्छेको मन रसिक बन्छ । रोमाञ्चले झङ्कृत हुन्छ । आफुभित्र भएको स्रष्टालाई यसैको टेको बनाएर अब्बल साहित्य सृजना गर्न सक्छन् । अथवा अथाह आनन्दमा डाफे मुनाल झै उड्दै सारा संसार भुल्न सक्छन् । आफैलाई शून्य या सापेक्षतामा झारेर । आफ्ना मायालुलाई भेट्न उत्सुक जोडीहरू चराकै लय टप्प टिप्न सक्छन् । र सुखद मिलनका रोमाञ्चक क्षणलाई पुनर्जागृत गराउन सक्छन् । अनेक परिस्थितिको सामना गर्दै कहिले नजीक कहिले टाढा हुँदै निरन्तर बग्ने मोदीगङ्गा निरन्तरता, संघर्ष र धैर्यको पाठशाला बन्न सक्छ ।

फेसबुकका भित्ताभरि टासिन आइरहने फोटो र समाचारहरू हेर्दै ड्याम कि ड्याम्म लाइक ठोकेर ब्यस्त हुनु पर्ने बाध्यता बन्दै गएको छ हाम्रो दिनचर्या । तमाम काम गोलि मार्दै संस्थापक मार्क जुकरबर्गले दिलाएको बेतलबी जागीरमा झुन्डिरहने अम्मलबाट छुट्टी पाउन सक्छौ हामी । हाम्रा परम्परागत एवं मौलिक संस्कारका गाउँघर हेरेपछि । र जीवन दर्शन बन्न सक्छ त्यहाँका स्वाभिमानी र आदर्श जीवन शैलीको संगत गरेपछि ।

सरलता, इमान्दारी जागर, अनुशासन र लगनशीलताका कारण गाउँलेहरूका संगतमा आएका प्रायः पर्यटक गहिरोसंग प्रभावित हुन्छन् । अझ अरूको दुखमा दिलोज्यान दिने बानी सिको गर्न लायकको छ । मानवीय पीडा भुलाउने, मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव दिने उच्च मनोरञ्जनात्मक नाचगान र चाडपर्वको वैशिष्टयता आफ्नै ठाउमा छ यस पदमार्गमा पर्ने पर्यटकीय गाउँघरको ।

जतिजति उचाई बढ्दैछ, उतिउति होटेल र कामदारको संख्यामा कटौती हुदैछ । होटेलको आतिथ्यता र सरोकारमा पनि कमी आउदैछ । जसरी उचाईको वृद्धिसंगै बोटबिरुवा घट्दै गएका छन् । माछापुच्छ्रे आधार शिविर (३७००मि) देखि अन्नपूर्ण आधार शिविर (४१३०मि) सम्म त बोट-बिरुवाको नामोनिशान भेटिदैन । हिउँ कुल्चेर हिड्नु पर्छ पूरै बाटो । जहाँ हिडेका पाइला मेटिदिन्छ हिउँले नै । तर हिमशिखर झनझन नसालु बन्दैछन् , नजिकिदै र प्रष्टिदै जानाले ।

मालिक लगायत कामदार सबै पुरुष मात्र छन् होटलमा देउराली (३००० मि) देखि नै । महिला बाहेक बुढाबुढी केटाकेटी कोहि बस्दैनन् । खेतीयोग्य जग्गा पनि भेटिदैन। होटेल बाहेक न त घरबस्ती छन्, न त छन् कुनै मानवजन्य निसाना नै । बरु अनेक आकारप्रकारमा बडेमानका प्रकृतिप्रदत्त चट्टान भेटिन्छन् ठाउँठाउँमा । माथिमाथिका पहाडपर्वतमा भने सुकेका खैरा खर मात्र देखिन्छन् ।

हिडाइबाट उत्पन्न शरीरको ताप र घामको रापले लगाउदैको लुगा खोलेर कता फ्याकु जस्तो भैरहदा छिनभरमै मौसम लुगलुग कमाउने चिसोमा बदलिन्छ । एक्कासि डाकाले घर घेरे जस्तै बाक्लो हुस्सु र कुहिरोले घेरि दिन्छ सूर्यलाई । अनि चिसो सिरेटोले ढाड सेकिदिन्छ । हिमाली भेगको बिशेषता नै रहेछ कि छिनको छिन मौसम परिवर्तन हुने । सफा मौसम धेरै नटिक्ने । प्रायः अपरान्हपछि उस्तै परे पानी र हिउँ परि हाल्छ । नत्र आपत्तिको रापमा जलेर आँसु झार्नै लागेको अनुहार जस्तो धुम्म हुन्छ । साझ नहुदै अध्यारोले छोप्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको जति प्रसिद्धि छ सम्पदाका हिसाबले । उति नै मानवीय कमीकमजोरीका चर्का बिरोध र बेग्रेल्ती गुनासाहरू छन् । बिशेषत: होटलमा बासको असुविधा टड्कारो छ । कुनैबेला पैसा तिर्ने पर्यटक समेत सुविधाजनक कोठाको के कुरा ? डाइनिङ हलमा टेबुल-बेन्च जोडेर भेडाबाख्रा जसरी कोचिएर सुत्नु पर्छ । उस्तै परे पिढी र खुल्ला आकाश मुनि पनि सकसका साथ कठ्याङ्गृएर रात गुजार्न बाध्य हुन्छन् ।

ज्यानको जोखिम मोलेर गर्नु पर्छ पदयात्रा । पदयात्रा मात्र होइन । आधार शिविर पनि जोखिममुक्त छैन । हिमशिखरहरूबाट हिमपहिरो निरन्तर झरझरिरहन्छ । पहिरोको डिलबाट असुरक्षित किसिमले दृश्यालोकन गर्नु पर्ने समस्या छ पर्यटकका । यी र यस्ता विद्यमान प्रमुख समस्या समाधान भै दिए साच्चिकै धरतीको स्वर्ग बन्ने थियो यो अनेक आयामबाट सुसज्जित पर्यटकीय क्षेत्र ।

याे लेख पढेर तपार्इलार्इ कस्ताे लाग्याे ? कमेन्ट गर्नुहाेला ।