जगदीशपुरमा लाठी नचाउँदा



नौ बजेभित्र सुतीहाल्नुपर्ने आफ्नो बानी । मेरा आर्ट गुरु शान्ताराम गिरीज्यूको समेत । साँढे आठ बज्यो, बल्ल आइपुग्यो भान्छाका परिकार । अक्सर खानपिनमा शौखिन म । जस्तो अर्डर गरेँ त्यस्तै आयो । घन्टौँको मेहनत परेको थियो, परिकार बनाउनमा ।

सम्पुरन सवा मोटी चामलको भात । पालकको साग अनि आलुका नानी चर्लेचर्ले गरी फ्राइ गरेका । गोलभेडा र हरिया धनियाँको अचार सम्झदैँ ट्वाक्क जिब्रोमा लाग्ने । कचौरामा कति बाक्लो अडरको दाल । सलादका रुपमा गाँजर, कागती, प्याज र हरियो खुर्सानीको घोगा । एउटा प्लेटमा विघ्न ठूल्ठूला रहु माछाका तीन पिस । न धेरै चिल्लो भनेजस्तै पकाइछिन् बबिता थारुले । धित मरुञ्जेल खाँदैछौँ र उनलाई मनले नमानेर घरि–घरि मुखैले समेत धन्यवाद दिइरहेकाछौँ–“कति मिठा खाना!” बबिताले भने “हजुरहरुलाई भनेजस्तो मिठो भएन होला, हगि?” भन्दै थिइन । कस्तो हार्दिकता होमस्टेमा आएका पाहुनाप्रति । शहर बजारतिरका होटल रेष्टुरेण्टमा भने बिल चढुञ्जेलसम्म मात्र मख्ख पर्छन सञ्चालकहरु । जब पाहुनाले अडर दिन छाड्छन् तब कुर्ची चाँडो खाली गरिदिए हुन्थ्यो भनेझैं गर्छन् ।

कपिलवस्तुको जगदिशपुर जलायशय होमस्टे नं. चारमा फागुनको अन्तिम सातातिर हामी बास बस्न पुगेका थियौँ । बुटवलका मेरा आर्ट गुरु दम्पत्ती र म । ६ महिना अघिदेखिको योजना बल्ल कार्यान्वयन भयो । मेरा गुरु टेलिसिरियल उत्पादन, निर्देशन र चरित्र अभिनय समेत गर्छन् । साथै विभिन्न संघसंस्थामा समेत आवद्ध भएकाले जहिले पनि मिटिङको मिटिङ । एकताका मेरो समेत त्यही हविगत थियो । पाँच वर्षयता व्यवसाय, राजनीतिक दल र संघसंस्थाको जिम्मेवारीबाट छुटकारा लिएकोले बल्ल अलि फुर्सद मिलेको छ । घुमफिर गर्छु, पढ्छु, लेख्छु र चित्र कोर्छु । पुराना साथीहरुसँग भलाकुसारी गर्छु । अतीत सम्झेर ल्याउँदा समेत मिठा लाग्छन् । गौरबोध हुन्छ । छापामा अरुका कथा उधिन्दा समेत आनन्द हुन्छ, मन ।

जगदिशपुर तालनेर राखिएको होमस्टेको सूचना बोर्डले धेरैनै सघाउ ग¥यो हामीलाई । त्यहीबाट फोन नम्बर टिपेर अध्यक्षलाई कल गरेँ, फिटिक्कै उठ्दैन । सचिव सरिता थारुलाई गर्दा बल्ल उठ्यो । उनैको होमस्टे हो, यो ।

गुरु दम्पत्तीलाई एट्याच्ड बाथ सहितको सरिता थारुको होमस्टे नं.चार मा व्यवस्था मिलएका रहेछन् भने मलाई भने अध्यक्ष गयाप्रसाद चौधरीको होमस्टे नं. एकमा । गाउँभरका होमस्टेमा यी दुईमात्र एट्याच्ड बाथरुम सहित रहेछ । मलाई लिन भने होमस्टेका अध्यक्ष आए । उनी स्थानीय मा.बि.का प्रधानाध्यापक समेत हुन् । गुरु र मेरो जोड होमस्टेलाई कसरी मौलिकता प्रदान गर्ने भनी सुझावहरु दिन थाल्यौँ । रैथाने प्रजातिका बीउ विजनमा जोड दिनुपर्ने, विषादी प्रयोग नगर्ने, मौलिक कला–संस्कृतिको जगेर्ना गर्दै आयआर्जनको रुपमा विकास गर्नुपर्ने भनी सुझायौँ । हामी यसरी गाउँ घर चहार्नु परेको मौलिक स्वाद, कला, संस्कृति, जातजातिका दिनचर्या बुझ्नलाई हो । आघुनिकता खोज्ने हो भने त शहर बजार नै काफी छ नि ! किन कुकुर झुकाउँदै गाउँबस्ती चहार्नुपथ्र्यौ र? पहिले थरुनीहरुले जुठा भाँडावर्तन माझ्नुप¥यो भने घोलामा लगेर बालुवा, माटाले टिलिक्कै टल्काउदै सफा गर्थे भनी मैले भने । मेरा गुरु नाट्यकर्मी न परे । जुरुक्क उठेर यसरी पैतालाले मस्काउथे भन्दै अभिनय गरे । अध्यक्ष समेत हामी सबैजना गलल्ल हाँस्यौँ । पेटका आन्द्रा बटारिएर चुडिएला झैँ भो, अहँ फिटिक्कै हाँसो थामिएन ।

सिजनमा पाहुलाई घर छेउका कुला, घोलामा लगेर पाहुनालाई थाल, बाल्टीनले पानी सुकाएर माछा मार्न सिकाउनुस् । त्यस्तै हलो जोत्न र बयलगाडा –लरिया) चलाउन सिकाउनुस् । विभिन्न चाडपर्वमा गाउने, नाच्ने थारु गीत तृत्यमा उनीहरुलाई साथै चनाउनुस् । बृद्धसँग सिक्नुस र आगामी पुस्तालाई हस्तान्तरण गर्नुस् । अचेल चौतर्फी पहिचानका राजनीतक मुद्दा बुलन्द भए पनि रैथाने संस्कृति दिनानुदिन लोप हुँदैछन् कसैलाई फिटिक्कै चासो नै छैन न त राज्यलाई नै छ । त्यसो भएको हुनाले अब तपाईंहरु नै अग्रसर हुनुस् सचेत स्वभिमानी नागरिक बनेर । राज्यको मात्र मुख ताक्ने तपाईंहरु दास कदापि हैन भनी बारम्बार सुझायौँ ।

अनयास दिमागमा एउटा जुक्ति फु¥यो । गत भदौमा पहिलोचोटि घान्द्रुक जाँदा गुरुङ पहिरनमा ठाट्टिएर फोटो खिचाएको थिएँ । गतवर्ष सीमावर्ती उत्तर प्रदेशका मेरा भारतीय साथीसँग छत्तीस वर्षपछि भेट हुँदा त्यहीको भेषभुषामा क्लिक गर्न भुसुक्क विर्सदा धेरै समयसम्म थकथक लागिरहेको थियो । यहाँ भने मौकामा चोका हान्ने सुर कसिहाले । “भोलि बिहानै थारु भेषभुषामा हामी फोटो सेसन गर्दछौँ, जुटाइदिनुहोला, कटवाँसको लौरी समेत ।” हामीले आग्रह ग¥यौँ ।

भोलिपल्ट बिहानै गुरुमालाई थरुनी बनाउन थाले अर्को कोठामा लगेर । गुरु र मलाई भने खाँट्टी थारु । धोती, फेथा थारु भाइहरुले मिलाइदिन थाले । एकजना थारु दाइको सर्ट भने मलाई पेटमा आधा मात्र भो । वटन लाउने त कुरै छाड्नुस् । धर्मसंकटमा परेँ म मोटाउनुको सजाय भोगिरहेछु, आखिर । हत्तपत्त जुक्ति फुरिहाल्यो । युकेबाट सासूले पठाइदिएको टी–शर्ट फुकालेर सेन्डो भेस्टमा मात्र सजिएँ । कटवासको लाठी समेत आइपुग्यो । लाठी नचाउँदै बुकुर्सी मार्दै धोती कसेर आँगनमा बुर्लुक्क–बुर्लुक्क बुर्कुसी मारेँ । वरिपरि का घरबाट सवैजना निस्केर खितित्त हाँसेका छन् । उनीहरुका हाँसोले मेरो उर्जा उत्कर्षमा थियो । विगतमा गाउँमा छँदा युवाकालमा थुप्रै नाटक लेखन, निर्देशन र अभिनय समेत गर्थे । नेपाली फिचर फिल्म ‘आमाको माया’मा समेत स्व. रबि शाह, सुभद्रा अधिकारी र जयचन्द ठाकुरसँग छोटो संवाद गर्ने अवसर प्राप्त भएको थियो । यो जगदीशपुरले पुनः मलाई रङ्गमञ्चमै पुनरागमन गराउने त हैन? आफूले आफैलाई प्रश्न गरेँ । टक–टक–ट्वाक–ट्वाक गुरुसँग लाठी ठोकाउँदा कम्ती मज्जा त आएको थिएन । “अर्कोचाटि टेलिफिल्मका सुटिङ गर्न युनिट लिएर यही नै आउनुपर्ला” मेरा गुरु भदै थिए ।
कपिलवस्तुको जगदीशपुर ताल नेपालकै सर्वाधिक ठूलो कृत्रिम ताल हो । सारस चराको बासस्थान समेत हो, यो । हिउँदको समयमा साइवेरियाबाट समेत असंख्य आगन्तुक चराहरु आइपुग्छन् । त्यही तालनेरको एउटा गाउँ हो जगदीशपुर । कपिलवस्तु नगरपालिकाको वडा नं. ९ मा अवस्थित छ, यो । जहाँ ४० घरधुरीमध्ये १३ घरमा थारु होमस्टे सञ्चालन भएको छ दुईवर्ष अघिदेखि । उनीहरुलाई आइयुसीएन भन्न्े विदेशी संस्थाले ताल र चरा सम्बन्धि तालिमकै सिलसिलामा सौराहा र अमलटारी होमस्टेको अवलोकन गराएपश्चात उनीहरु होमस्टे सञ्चालनतर्फ अग्रसर हुन थालेका हुन् ।

होमस्टेमा थारु परिकार अन्यत्रभन्दा सस्तोमा मौलिक स्वाद सहित खान पाइन्छ । घँुघी, ढिकरी, चिचर, सोजिना परिकार हार्दिकताका साथ पेटभर टन्न खान पाउँदा मोहनी लाएसरी नै हुन्छ । होमस्टेका सञ्चालकहरु मृदुभाषी, सरल र सहयोगी भावका छन् । त्यहाँ पाइला टेक्दा आफ्नै घर आँगनमा वर्षौ दिनपछि आगमन भएझैँ झल्को दिन्छ । थारुका चिटिक्कका घर, वस्तुभाउ, हाँस, कुखुरा, लरिया (वयलगाडा) सहजै देखिन्छन् । घरका छाना होस् वा बारी तरकारीले लछप्पै ढाकिएका छन् । यतिखेर आँगनमै लिची र आँपका बोटमा फलका चिचिला लाग्दैछन् । त्यसैको फेदमा काठका खुट्टा र बाबियोको डोरी, नरिवलको डोरीले जेलेर बुनिएका चारपाई (खाट) मा लम्पसार पर्दा थकान दूर हुन्छ, उखरमाउलो तराईको गर्मीले निथ्रुक्क भिजेको शरीर छिनभरमै ओवाउछ । चापाकलको पानी पित्तल वा कासका लोटामा थापेर तन्तनी पिउँदा सर्वतको काम गर्छ । उनीहरुका भाषा लवज सुन्दै र बोल्न अभ्यास गर्दा मित्रता गाढा भएर आउँछ ।

गाउँमा दश घर मघेशीका छन् । मघेशीमा केवट, हरिजन, चमार दलित छन् । सुखलाल हरिजनका परिवारमा आठजना छन् । सम्पत्तीको नाममा २ वटा फुसको छानो सहितको टहरो, एउटा गोठ र पाठापाटी सहितको १६ वटा कालो हुर्रा (सुँगुर) पालेका छन् । उनी बसेको जग्गा ऐलानी हो । हुर्रा पाल्नु पुख्र्यौली पेशा हो । अन्यत्र खोरमै थुनेर दाना खुवाएर हुर्रा पाले पनि उनले भने दैनिकी दुई घन्टा चराउने गर्छन् । यसरी चरान गरेको हुर्राको मासु तिख्खर हुने बताए । उनका माइला छोरा सौतम भने दश कक्षा पढ्दैछन् ।
सुखलाल सम्झन्छन् चालिस वर्षअघि कपिलस्तुकै अनामपुर पञ्चायत धुपहीबाट आएका कुरा । उतिवेला बिहे लगत्तै ससुराका साथ लागि यता आएका थिए ।

जगदीशपुरबासीहरुका मुख्य पेशा कृषि नै हो । कृषिमा धान, गहुँ नै हो । हिजोआज व्यावसायिक खेतीतर्फ लहसिएका छन् । काउली, बन्दा, आलु, प्याज, खुर्सानी, करेला, काँक्रो, लौका, बोडी मनग्गे फलाएर स्थानीय हाटबजारमा बिक्री गर्छन् । अचाक्ली भएको खण्डमा गाडीमा राखेर पोखरा, काठमाण्डौंसम्म पठाउँछन् ।

प्रत्येकका घर आँगनमै फलफूलका बोटले यो गर्मीमा छहारी दिन्छन् । काब्रोका बोटहरु समेत देख्न पाउँदा अमिलो काब्रोको अचार खान नछुटाउ झैँ लाग्छ । बजारका भित्री गल्ली छिर्नासाथ लहरै होमस्टेमा भेटिन्छन् ।

जगदीशपुरको पूर्वमा बन्दीउली गाउँ पर्दछ । जहाँ थारु, मुस्लिम, केवट बस्छन् । पश्चिमको चम्कीपुर पहाडी र मधेशीको मिश्रित बस्ती हो । उत्तरको हरनामपुर र दक्षिणको श्रीनगर समेत पहाडी र मधेशीको बस्ती हो । सनातन कालदेखि उनीहरु एकापसमा मिलेर बसेका छन् । एउटाका चाडपर्व अर्का समुदायले समेत चाख मानी–मानी हेर्छन्।

यो बस्ती विगतमा डेहान भन्ने ठाउँमा थियो । जगदीशपुर ताल फुटेर बस्ती नै बगाउन सक्ने भयले पञ्चायत कालमा तत्कालीन सरकारले उठाएर यता बसाएको हो ।

जगदीशपुर जलाशय होमस्टेको रात्रि जीवन आरामदायी नै रह्यो । पहिलो र दोस्रो दिन पनि बिहानीभर गाउँ अवलोकन ग¥यौँ । धित मरुञ्जेल फोटो लियौँ । बबिता र सरिता थारुले वरसम्म छाड्न आइन् । अर्कोचोटि आउँदा तालको अवलोकन समेत मज्जाले गर्नुपर्ला भनी ई–रिक्सा चढी जहदीमा ओल्र्यौँ । काठका स–साना पान टङ्की देख्दा नवलपरासीको विगत नयन वरिपरि फन्फनी नाच्न थाले । संयोगले काठको रंगीन भुरुङतिर नजर प¥यो । पान टङ्कीको पसलमा ६ थान किनीहालेँ । बाल्यकालमा १ पैसामा एउटा पिपलगेडी किन्थे अचेल १ रुपैयाँ प¥यो । कती फन्फनी नचाइन्थ्यो बचपनमा झुरुङ (लड्डु) । हो, तराईको जहाँकही पुग्दा यही पीपलगेडी र भुरुङ कम्ती त खोजेको हैन ! अहँ भेटिदै नभेटिने । यसरी जहदीमा दुवै किन्न पाउँदा मन प्रफुल्ल भएर आयो ।

‘पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैँ जगदीशपुरका थारु होम स्टेमा बस्ने बहानामा तौलिहवा, तिलौराकोट र लुम्बिनीको दर्शन गर्न समेत भ्यायौँ ।

कसरी पुग्ने?
बुटवलको लुम्बिनी अञ्चल अस्पतालको उत्तरतर्फबाट जितपुर ४ नम्बर सम्म जाने विङ्गर र बस छुट्छन् । उसो त बसपार्कबाट समेत तौलिहवाको निम्ति बसा छुट्छन् । एकै घन्टामा ४ नम्बर पु¥याउँछन् । ४ नम्बरबाट जगदीशपुरको दूरी १३ किलोमिटर ।
४ नम्बरबाट तौलिहवा जाने पक्की सडकलाई बुङची भन्ने ठाउँमा छाडी पूर्व दक्षिणतिर मोडिने । ४ नम्बरबाट ई–रिक्सा लिएको खण्डमा एकै घन्टामा पु¥याइदिन्छ । भाडा पाँच सय रुपैयाँ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • यूनिट्राभले दियो पर्यटनका संस्था र पर्यटन बोर्डलाई चेतावनी, माग पुरा नभए चैत २१ गतेबाट आन्दोलन गर्ने
  • रारा ताल कस्तो र कसरी जाने (भिडियोमा हेर्नुहोस् )
  • भेटियो नेपालकै अग्लो झोलुङ्गे पुल, हेर्न जाने हैन त !
  • गण्डकी प्रदेश : आर्थिक समृद्धिको आधार पर्यटन
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी