पर्यटनको गन्तब्य इलाम



केहि बर्ष यता आएर नेपालमा संघ÷संस्था, स्कुल कलेजहरु का विद्यार्थी घुमफिरको लागी दार्जलिङ जाने र फर्किएर आउदा इलाम जाने क्रम बढदो छ । जुन कारणले नेपालीहरु इलाम धेरै जना पुगेका छन । घुमफिरको लागी इलाम जानेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक र बाँकी १० प्रतिशत बाह्य पर्यटक रहेको तथ्याक रहेको छ । इलाम जादा झापाको चारआलीबाट मेची राजमार्ग भएर जानु पर्दछ । इलामको यात्रामा कोल्बुङबाट मनोरम पर्यटकीय स्थलहरुसुरु हुन्छ । साविक कोल्वुङ र अहिले रोङ गाउँपालिका झापा र इलामको सिमा हो । जहाँ सडकमानै जोरकलश गेटले इलाम जानेहरुलाई स्वागत गरेको छ । राजमार्गमा पर्ने हर्कटे र कन्याम इलाम जिल्लाको प्रवेशद्वार हो ।

इलाम जाने पर्यटकहरुको लागी इलामको सिमा प्रवेश गर्ना साथै पाथीभरा देवी मन्दिर पुगिन्छ । पाथीभरा देवी इलामकोे धार्मीक पर्यटकियस्थल हो । साबिक कोल्वुङ र हाल रोङ गाउपालिकामा रहेको पाथीभारा झापाको चारआलीबाट बसमा २ घण्टामा पुग्न सकिन्छ । त्यहा खान बस्न सामान्य होटल रहेको छ । मन्दिर परिशरबाट मौसम सफा भएको बेला ताप्लेजुङको पाथीभरा भगवतीको समेत दृष्यावलोकन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रुपमा लिने गरिएको छ । मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौं भक्तजनहरु कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ पुग्ने गर्दछन् । मन्दिर परिशर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरु, इलामका नागबेली चियावारी, भारत, भुटान र बंगलादेशसम्मका भू–भागहरु खुल्ला आँखाले नियाल्न सकिन्छ । यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजगा पनि देख्न सकिन्छ । पाथीभरा मन्दिर राजमार्गबाट १ हजार तेत्तीस वटा सिमेन्टका खुटिकला चढेर पुग्न सकिन्छ ।

लिम्बु जातिहरुकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट रहेको मानिन्छ । लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ बनेको छ । जसमा “इ“को शाब्दिक अर्थ घुमाउरो र “लाम“को शाब्दिक अर्थ बाटो अर्थात इलामको अर्थ घुमाउरो बाटो हुन्छ । यस अर्थलाई पुिष्ट गर्ने साच्चै नै झापाको चारआली देखि इलाम जादा धेरै घुमाउरो बाटोको यात्रा गर्नु पर्दछ । इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाको चियाबारी, हरियाली वातावरण,साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरुका लागी आकर्षणको केन्द्र बन्ने गरेको छ ।

सास्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको इलाम पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले पनि चिनिन्छ । अर्को तर्फ इलामलाई विभिन्न ८ अ को जिल्ला भनेर पनि चिनिन्छ । जसमा अ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्रीसो, आलु र अतिथि सत्कार हुन्छ । इलामलाई सूर्याेदयको जिल्ला भनेर पनि चिनिन्छ । यहाँबाट सूर्य उदाउँदै र अस्ताउँदै गरेको दृश्य देख्न सकिन्छ । अर्को तर्फ इलामको सुन्दरतासँगै गाँसिएर आउने चियाले नेपाली गीत–संगीतमा थुप्रै कर्णप्रिय स्वरलहरी र कलाकार जन्माएको छ । पूर्वको बिहानीसँग सूर्याेदयको दृश्य नियाल्न इलाम पुग्नेहरु श्रीअन्तुलाई रोज्ने गर्छन् । झापाको चारआलीबाट मेची राजमार्गमा ८० किलोमिटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ । जोरकलश गेट पार गरे पछि पाथीभरा, कन्याम, फिक्कल, तिनघरे इलाम भंज्याङ हुदै इलाम वजार पुगिन्छ । तिनघरे र इलाम वजारको बिचमा पर्ने माईखोला माच्छाको लागी प्रख्यात मानिन्छ ।

कन्याम इलामको मनोरम पर्यटकीयस्थल हो । मनोरम चियाबारी भएको कन्याममा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन । कन्याम पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न पर्यटकहरु कन्याममा घुम्न र वनभोज गर्न पुग्ने गर्दछन । पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरु उपलब्ध रहेका छन् । हिउदमा घुमघाम र पिकनिकमा जानेले कन्याम ढपक्कै ढाकिन्छ । मेची राजमार्गको दाया–बायाको चियाबारी पर्यटकको स्वागतका लागि ओछयाइएको हरियो गलैंचाझै लाग्छ । त्यसमाथिको कोणधारी सल्लाको रुखको सौन्दर्यले सबैको मन लोभ्याएको हुन्छ । कोही शैक्षिक भ्रमणको वहानामा, त कोही घुमघामको शिलशिलामा पिकनिक खान कन्याममा पुग्दछन । कन्याममा कात्तिक–मंसीरबाट शुरु हुने पिकनिक चैत–बैशाखसम्म भै रहन्छ । सिरसिर चल्ने बतास त एकैछिनमा ढपक्कै छोप्ने कुहिरोभित्रको चियाबारीमा लुटपुटिंदै रमाउन उमेरले कसैलाई छेक्दैन । त्यसमाथि घोडा चढेर चियाबारी फन्को मार्दाको मज्जै बेग्लै हुन्छ ।

इलाम पुगेपछि पर्यटकहरुलाई घुमफिर गर्न सन्दकपुर छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडका श्रृखलाहरु रहेका छन । जहा सयौं प्रजातिका चराहरु तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरु समेत इलाममा पाइन्छ । धर्मिक तथा पर्यटकीयस्थल पुग्नेहरुका लागी सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिकस्थलहरु रहेका छन । यो बाहेक इलाममा घुमफिरको लागी कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीयस्थलहरु इलाममा पर्दछ । सबै भाग पहाडी भेकमा पर्ने हुदा प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यको रुपमा इलाम चिनिएको छ । इलाममा नौ कुना भएको माई पोखरी तथा टोडके झरना हेर्न पनि पर्यटकहरु आकर्षित हुन्छन ।

चियाँ खाएका तर चियाँको बोटनै नदेखेका धेरै पर्यटकहरु पनि इलाम पुग्ने गर्दछन । डाडाँपाखा भरी देखिने चियाँका बोटले इलाम पुग्ने पर्यटकहरुको आकर्षण केन्द्रनै चियाँवारी हुने गर्दछ । सन् १८६२ मा कर्नेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त चियाको विरुवा इलामको चियाबगानमा रोपेपछि इलाममा चिया खेती सुरु भएको हो । त्यो चियाको विरुवा चीन सरकारले राणाँ प्रधानमन्त्री जँगबहादुर राण्ााँलाई उपहार पठाएका थिए । अहिले इलाममा तीन किसिमको चियाँ पाइन्छ । इलाममा पाइने चियाको जातहरुमा चिनिया, आसामी र क्याम्बोड हुन् । चिया भिरालो पहाडी क्षेत्रमा उत्पादन हुने नगदेबाली हो । यसको उत्पादनको शुरुआत चीनबाट भएको मानिन्छ । करिब १५० बर्षअगाडि अर्थात् वि.सं. १९२० मा नेपालको इलाममा प्रवेश गरेको चिया खेतीले व्यावसायिक रुप लिएको करिब ५ दशक मात्र भएको छ । इलाममा उत्पादित चिया भारत, पाकिस्तान मात्र होइन जर्मन, अमेरिका, जापान, हल्यान्ड आदि देशमा समेत पुग्ने गरेको छ । इलाममा हाल १० भन्दा बढी चिया प्रशोधन कारखानाहरु रहेका छन् ।

इलाममा चियाँ मात्र होइन पशुपालन खासगरी गाई पालन पेशा पनि अग्रस्थानमा रहेको छ । पहिला इलाममा बेलायती तथा स्थानीय जातका गाईबस्तुहरु पाल्ने गर्दथे । अहिले आएर जर्सी, होलेस्टेन जातका गाई पाल्ने प्रचलन रहेको छ । पशुपालनमा बाख्रा तथा उच्च हिमाली भेकमा भेडा पनि पाल्ने गर्दछन । इलाममा चिया पत्ती, अलँैची, अदुवा, आलु,अम्लिसो, अकबरे खुर्सानी, इसकुस, दूध आदि यहाँका मुख्य कृषि उपज हुन् । फिक्कल बजार इलाम जिल्लाको पूर्वी भेकको व्यापारिक केन्द्र हो । इलामको पूर्वी ब्यापारिक केन्द्र फिक्कल जिल्लाकै महत्वपूर्ण स्थानमा पर्दछ । जिल्लाका पूर्वी भेगका किसानले उत्पादन गरेको अलैची, अदुवा, कुचो, दूध, मटर, सागसब्जी र अन्य नगदेबाली बिक्रि गर्ने फिक्कल बजार पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ । प्राय गरी चिसो हावापानी भइरहने फिक्कल बजार भारतीय सीमावर्ती पशुपतिनगरबाट ११ किलोमिटरको दुरीमा पर्दछ । इलामको सदरमुकामबाट करिब ४३ किमी टाढा रहेको यो बजारमा पर्यटकका लागि आवास र घुम्ने स्थानहरु पनि छन् । दाजिलिङ भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि फिक्कल आवासस्थल हो । नेपालबाट भारतको दार्जिलिङ घुम्न जाने पर्यटकहरु पनि फिक्कल भएर जाने गरेका छन् । कन्याम आएका पर्यटकहरुको बस्ने ठाउँ पनि फिक्कल नै हो ।
माईपोखरी इलाम जिल्लाको उत्तरी भेकमा रहेको छ । माई पोखरी धार्मिक आस्थाको केन्द्रको रुपमा प्रख्यात छ । पूर्वाञ्चलभरि ख्यातिप्राप्त पुण्यभूमि इलामका चार माई जोगमाइ, महमाइ, पूवामाइ र देउमाइको बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको १० हेक्टर वनक्षेत्रमा माइपोखरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास भएको छ । माई पोखरीका नौ कुना छन् । जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ । पत्रे चट्टानको पहाडमा रहेको विशाल जलाशयको नौ वटा कुनाले त्यहा पुग्ने जो कोहिलाई पनि आनन्द दिलाउछ । धार्मिक मान्यता अनुसार यि कुनाहरुमा नवदुर्गाले वास गरेको विश्वास गरिन्छ । खासगरी धार्मिक पर्यटनकै लागि आस्थाको केन्द्र विन्दु माइपोखरी जैविक विविधताको पनि विशाल भण्डार रहेको छ । माई पोखरी वरपरको जंगलमा विश्वमै नपाइने कतिपय जीवजन्तु एवं वनस्पति पाइन्छ । माई पोखरीलाई रामसार क्षेत्रको रुपमा पनि सूचिकृत गरिएको छ । प्राकृतिक सौन्दर्यका हिसावले उत्कृष्ट छ माई पोखरी । त्यसैले त बर्षेनी हजारौं पर्यटकहरु यस क्षेत्रमा भ्रमणका लागि पुग्ने गर्छन् । माई पोखरीमा वस्नका लागि सामन्य होटल तथा लजको व्यवस्था छ । इलाम वजारवाट १५ कि.मी.यात्रामा माई पोखरी पुग्न सकिन्छ । यहासम्म पुग्न साना गाडीहरु पनि पाइन्छ ।

दाम्पत्य जीवन बिताउने प्रण गरेका जोडीका लागि इलाम घुमफिरको लागी अझ महत्वपूर्ण मानिन्छ । हरियाली वातावरण र स्वच्छ हावापानी भएका कारण लगनगााठो बाधेपछि इलामलाई हनिमुन गन्तव्य बनाउनेहरुको संख्या पनि धेरै हुन्छन । हनिमुन गन्तव्य बनाउनेहरुका हरेक थुम्का–थुम्कामा रहेको चियाबारी, कोडधारी, सल्लाघारी र स्वच्छ हावापानीले रमाउने गर्दछन । बदलिरहने इलामको मौसमले जोडीहरुलाई आनन्द दिने गर्दछ । चियाका बुट्टामा छेलिएर र सल्लाघारीभित्र लुकेर मज्जा लिनेको संख्या इलाममा धेरै देखिन्छ । वन भोजका लागि उत्कृष्ट गन्तव्य बनेको कन्याममा सबैभन्दा धेरै प्रेमजोडी भेटन सकिन्छ । इलाम जिल्लाका हरेक डाँडा चियाबारीले भरिएकाले नवदम्पती वा प्रेमजोडीका लागि उपयुक्त स्थान भएको छ । पशुपतिनगर, बौद्धधामको सल्लाघारी, पञ्चकन्या मन्दिरको दर्शन र नजिकै करफोकको सल्लाघारीका साथै इलाम सदरमुकाममा रहेका चियाबारी अनि त्यसबीचमा रहेको लभडाडो पनि प्रेमजोडीका लागि गन्तब्य बन्ने गर्दछ । त्यतिमात्र नभएर पाथीभरा मन्दिरमा प्रेमको कसम खाने साथै विवाह बन्धनमा गाँसिएर इलाम घुम्नेहरुको संख्या पनि वृद्धि भैरहेको छ ।

इलाम जाने पर्यटकलाई सजिलोका लागि इलामबजार र अन्तुडाँडामा सूचनाकेन्द्र स्थापना गरिएको छ । यसले इलाम पुग्ने पर्यटकहरुका लागि सजिलो बनाइदिएको छ । मोतीझैँ टल्किने हिमशृंखला नियाल्न पाउनु इलामको विशेषता हो । श्रीअन्तु, माइपोखरी, सन्दकपुर यहाँको मुख्य पर्यटकीय स्थल हुन् । यीमध्ये कुनै ठाउँ नटेके इलामको यात्रा अधुरो रहन्छ । इलामको भ्राणमा धेरै कुराहरु सिक्न पाइन्छ । समग्रमा इलामको विकासमा चिया पर्यटनको महत्वपूर्ण योगदान छ । इलाम अन्य स्थान भन्दा पर्यटनको पूर्वाधार छुट्टै किसिमको छ । आन्तरिक पर्यटनको लागि इलामले अलग पहिचान कमाएको छ । इलाम भनेकै कृषि र चिया पर्यटन हो । उसो त ओलन अर्थात दूध, अदुवा, कुचो बनाउने अम्रिसो र आलु पनि इलामको मुख्य नगदे बालीहरु हुन् । चिज बनाउने कम्पनी, डेरी उद्योगहरु, दूध चिस्यान केन्द्र, गाई पालन जस्ता कृषिजन्य पेशाले इलामलाई समृद्ध बनाएको छ । केही नफल्ने खोल्साहरुमा नगदेबाली अलैंचीका हरिया बोट, स्कूसका बोट देख्न सकिन्छ ।

इलाम पुगेपछि खाना र बस्नलाई कुनै समस्या पर्दैन । धेरैको इलाम पुगेपछि खानेकुरामा मःम, थुक्पा नै पहिलो रोजाइमा पर्दछ भने इच्छा हुनेहरुले छ्याङ अर्थात लोकल जाड र तोङबा पनि निकै रुचाउछन । शुद्ध दूधबाट बनेको मिठाईं ललिपप इलामको चर्चित परिकार हो । ३० देखि १ सय रुपैयाँसम्मको प्याकेटमा यस्तो मिठाईं किन्न पाइन्छ । इलाममा गुणस्तरीय छुर्पी पनि पाइन्छ । विभिन्न किसिमका चिया प्याकेटमा उपलब्ध हुन्छन् । ग्रिन टी, ह्वाइट टी र ब्ल्याक टी इलामका उत्पादन हुन् जुन ५० देखि २ हजार रुपैयाँसम्मको प्याकेटमा पाइन्छन ।

इलाम बजार काठमाण्डौबाट ८५० कि.मी.पर्दछ । दाङबाट इलाम जादा दाङ नारायणघाट २६४ र नारायणघाटबाट इलाम ७०४ समेत ९६८ कि.मी.दूरी पर्दछ । झापाको चारआलीबाट काकरभिट्टा १२ कि.मी र भद्रपुर एरपोर्ट ७ कि.मी.को दुरीमा रहेको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी