हार्दिकताको खानी ‘रानागाउँ होमस्टे’



थुइँक्क मौसम, हिमाल हेर्ने लालसा यहाँ पनि पूरा भएन । यो माघ महिनाको अन्तिम साता धुँमिलो छ, मौसम । उसो त अस्ति भर्खर कालावाङ घरेडीको होम स्टेमा पाहुना बन्दा पनि यस्तै नियति भोग्नुप¥यो । प्रकृतिले साथ नदिए पनि के भो र? आखिर, गाउँलेले ममता दिए त पुगी हाल्यो नि !

रानागाउँ स्थित सागर राना र शान्ति रानाले सञ्चालनमा ल्याएको होमस्टे पुग्दा शुद्ध गाउँले खान्कीमा जिब्रो फड्कार्न पायौँ हामी तीनै जनाले । पत्रकार श्रीराम भाइ र धनबहादुर सुब्बा दाइसँग । सुस्ताउन भ्याएका छैनौ कति चाँडो खाजा आयो थाली भरि । भुटेको बारीकै मकै, सेतो भटमास, सिन्की अचार । अर्को कचौरा भरि जिम्मुले झानेको बारीकै बोडी र गहतको तरकारी । नाकले जिम्मुको गन्घ लिँदै गर्दा जिब्रोले समेत मौलिक स्वादमा रमिरहेको थियो । अचेलका पुस्ता जंक फूडमा रमिरहेका छन् । हामी भने गाउँघरका रैथाने स्वादको खोजीमा यसरी हस्याङ र फस्याङ गर्दे गाउँठाउँ उकाली ओराली गरिहेकाछौँ । उचित आहार, विहार विचारको मूलमन्त्रलाई आत्मसात मात्र गर्न जान्ने हो भने पनि धेरै रोगको आक्रमणबाट बच्न सक्छौँ हामी । रोग लागेर अस्पताल धाउँदै पैसा फुक्नुभन्दा बरु आफ्नो स्वास्थ्य प्रति समयमै सजग हुनुनै बेस ।

गाउँ घुम्दाको मज्जा उम्दा छ । नेपालमै छन्, असंख्य घुम्न लायक ठाउँहरु । समुन्द्रको किनार मात्र छैन, सबथोक छ यहाँ । यिनको पहिचान मात्र गर्न जान्ने हो भने नेपालीको भाग्य आफै चम्किन्छ । अचेल नेपालीहरुमा समेत घुमफिर गर्ने लतको विकास हुँदैछ । गाउँमै समेत होम स्टे (घरबास) खुल्नाले ग्रामीण पर्यटनका द्वार भटाभट खुल्दैछन् ।

 

 

घुम्नलाई सकभर सँगी–साथीका साथ लाग्नु नै बेस । समूहमा घुम्दा समेत फरक आनीबानी र ज्ञानको सेयरिङ्ग मज्जैले हुन्छ । मन हल्का हुन्छ । आत्म विश्वास बढेर आउछ । अरुलाई सत्कार गर्ने परम्पराको विकास हुन्छ । सामाजिक जनजीवन, कला, संस्कृतिसँग जानकार हुन्छौँ । भौगोलिक विविधतासँग नजिक हुन सकिन्छ ।

 

घुमघाममा सँगी–साथी जुटाउनै गाह्रो । सबैको समय–सारिणी मिलाएर साइत पार्नु नै धौ–धौ । जहाँ इच्छा त्यहाँ शक्ति भनेझैँ । कति साथीहरुले त अन्तिममा आएर एक न एक बहाना पारी तर्किदिँदा झनक्क रिसाइ पनि दिएको छु । फेरि प्रत्येकका अभिरुचिका पाटा पनि पृथक–पृथक । सहमतिको बिन्दुमा ल्याइ पु¥याउन कम्ती सकस त हुँदैन ।

 

११ बजे भनेको बल्ल १ बजेको महेन्द्रनगर जाने नाइट बस चढ्यौँ, बसपार्कबाट । तनहूँको डुम्रेबाट ३ बजे र ३ः३० मा बस छुट्छ रानागाउँ जानलाई ।

 

रानागाउँ भाल्डाँडा होमस्टेका सचिव रुपबहादुर रानासँग बारम्बार फोन सम्पर्कमा छौँ । डुम्रेबाट रानागाउँको दूरी १२ कि.मि. । बेशिशहर जाने सडकको भन्सारबाट ९ कि.मि.मा रानागाउँ । २०५४ सालमा एमालेको सरकार छँदा ‘आफ्नो गाउँ आफै बनाउँ’ अभियान अन्तर्गत कच्ची बाटो खनिएको हो ।

 

डुम्रेको चुँदी खोला पारिबाट चढेको बस बल्ल ४ बजे गन्तव्यतर्फ उकालियो । घुम्तीमा चालकले स्टेरिङ मोड्दा त आङ नै सिरिङ्ग हुने । भानु–२ भकुन्थोकका प्रकाशले यता बस चलाउन थालेको वर्षदिन पुग्यो । त्यसपूर्व ८ वर्ष त जिप र ट्रेक्टर गुडाए । एकै घन्टामा बसले रानागाउँ पु¥यायो । रुपबहादुर राना तनहूँको पूर्व जि.वि.स. सदस्य समेत हुन् । उनैले हाम्रो बासको चाजोपाजो मिलाएका थिए । अध्यक्ष पदमबहादुर रानाको व्यस्तताले भने भेट गर्न सकेनौँ ।

 

होमस्टेमा रुपबहादुर रानासँग गफिदै गर्दा झमक्क साँझ प¥यो । होमस्टेकी सञ्चालिका शान्ता राना समतिकिा कोषाध्यक्ष समेत हुन् । ४० घरमा ९ घर मात्र दलितका रहेछन् अरु सबै राना र थापामगरका । २७ घर त रानामगरका मात्र छन् । शान्ता राना पाहुनाको सत्कार गर्नमा खप्पीस । बेलुकीको खाना हाजिर भो हाम्रा अघिल्तिर । बारीको रायोको साग, कोदोको ढिँडो र थपुवा भात । कचौरा भरि लोकल कुखुराको मासु । मासको बाक्लो दाल । नारेपा खानेलाई विशुद्ध कोदोको तीनपाने । थपी–थपी खायौँ खाना । धनबहादुर दाइको भने भोजन कम लिने आदत रहेछ । उनैले मलाई २०४१ साल तिर नवलपरासीबाट पोखरा आउँदा फोटोग्राफी सिकाएका हुन् । त्यो समय फोटोग्राफरले क्यामरा भिरेको देख्दा सारा भुम्मिन्थे ।

 

ब्राम्हण कुलमा जन्मिए पनि जनजाति स्वभाव छ श्रीराम भाइको । उनी जिब्रो नचपाइकन प्रष्ट बोल्छन् । निर्भिकतापूर्वक प्रस्तुत हुन्छन् । सरल, सहज र सहयोगी भावका छन् । कुरो मिलाएर बोल्नमा खप्पीस छन् । झनक्क रिसाइ हाले पनि छिनभरमै ठण्डा हुन्छन् । त्यसैले पनि होला, उनीसँगको मेरो सँगत अति बाक्लिएको ।

 

शान्तिका श्रीमान् सागर भर्खर खाडीबाट आएका रहेछन् । जस्तापाताले छाइएको उनको होमस्टे गाउँभरमै अति व्यवस्थित मानिन्छ । उनीसँगको गफका त्र पनि गज्जबले जम्यो । थानीमाईको दर्शन गरी हस्याङ फस्याङ गर्दै आइपुगेका । सुत्नु अघि श्रीराम भाइले राजेश हमालको डायलग भनी वातावरणलाई थप रोमाञ्जित तुल्याए ।

 

एशियन फोरमको सहयोगमा २०७१ देखि ११ घरमा होमस्टे संचालित छन् । ती सबै मगरका हुन् । आदिकवि भानुभक्तको जन्मथलो चुँदी रम्घाको ३ किलोमिटर मुन्तिरको बस्ती नै रानागाउँ हो । होचो पाखाको दक्षिणी भित्तामा छिरोलिएको बस्ती छ, यो । विगतमा भानु गा.बि.स.को वडा नं. ४ मा पर्दथ्यो । तनहूँसुर, मिर्लुङ, पुर्कोट, बसन्तपुर, चोक, रुपाकोट, बरभञ्ज्याङ, सतीस्वाँरा, र रिस्ती गा.बि.स.का केही वडाहरुलाई गाभेर भानु नगरपालिकाको घोषित गरिएको छ । हाल रानागाउँ भानु नगरपालिका–४ अन्तर्गत पर्दछ ।

 

रानागाउँको पूर्वमा चण्डीथोक धरादी, पश्चिममा खातीथोक पर्दछ । उत्तरमा जंगलको मुन्तिर चिसापानी र सँुगुरे बस्ती छ । सुँगुरे बस्तीमा तामाङका १४ घरधुरी छन् । चिसापानीमा भने बाहुन, नेवार, गुरुङ र मगरका मिश्रीत बसोबास रहेको छ ।

 

रानागाउँका पुर्खाहरु धेरै वर्षअघि कास्कीको अर्घौपौवाबाट आएर तनहूँको तनहूँसुरमा बसोबास गरे । त्यसपछि केही भाइ रानागाउँमा आए । त्यसैले यहाँको मगरहरु विगतमा तनहूँसुरमा कुलपूजा गर्न जाने गर्थे । यसरी अर्घौपौवाबाट आएकोले अर्घौले मगर समेत भन्ने गरिन्छ । तनहूँसुरका धेरै राना थरका मगरहरु भने चितवनतिर बसाई सरेका छन् । योग्य खेतीको खोजीमा शुरुमा गणवीर रानामगर रानागाउँ आएको बताउछन् उद्योग व्यवसायी एवं तनहूँका एमाले नेता प्रेम राना ।

 

अचेल यहाँका सबै घरबाट बैदेशिक रोजगारमा गएका छन् । खाडी मुलुक, भारत, मलेसिया, कोरिया उनीहरुका रोजाइमा पर्दछन् । बैदेशिक रेमिट्न्यान्स नै गाउँको मुख्य आय श्रोत हो ।

 

यहाँको उत्पादनमा मुख्य बाली कोदो, मकै हो । विगतमा घैया धान लगाए पनि हाल छाडेका छन् । पाखो जमिन भएकोले गहुँ खेती हुदैन । तोरी भएपनि जौ चाहिँ हुदैन । विगतमा फापर लगाए पनि अचेल छाडेका छन् । बिदेशतिर पलायन हुने रोगले धेरै धर्ती बाँझो छाडेका छन् । केही खरका घरहरु जिर्ण अवस्थामा छन् । धर्ती सबै आवाद गर्ने हो भने खानलाई छेलोखेलो हुन्छ । खेतीपातीमा श्रम नपुग्नाले उब्जनीले वर्षदिन थेग्दैन । नगदे बालीतर्फ बोडी, सिमी, आलु, गहत फलाउछन् । भैँसीपालनमा चासो नदेखाए पनि सुँगुर, बाख्रा र लोकल कुखुरा पालनतर्फ भने लहसिएको देख्न सकिन्छ । घरका बारीमा आँप, अम्बा, मेवा, केरा, अमिलो, आरु, चिउरीका बोट सहजै देख्न पाइन्छ ।

शिक्षातर्फ एकाधले स्नातकोत्तर उत्तीर्ण गरेपनि रोजगारीकै सिलसिलामा शहरतिर प्रवेश गरेका छन् ।

 

वनजंगल चहार्ने हो भने साल, चिलाउने, कटुस, पाखुरी, साँज, जमुना र कतै कतै बेलका बोट भेटिन्छन् । मौसम खुलेको खण्डमा रानागाउँबाट हिमशैललाई अँगालो मार्न पुगिन्छ । अन्नपूर्ण, माछापुच्छ्रे, गणेश र मनास्लु हिमाल मुसुक्क हाँसिदिँदा मात्र पनि पापी मनलाई मोहनी नै लगाइदिन्छ । एकटकले हिमालतिर नजर लगाउँदा सिनित्त दिन गएको पत्तै पाइन्न । गाउँमा पुरातात्विक कालिका मन्दिर छ । कालिका मन्दिरको पूर्वी डाँडामा स्थानीयले पूजाआजा गर्छन् । चैत अष्टमीमा मेला नै लाग्ने गर्छ ।

 

यसै वर्षभित्र ७ मिटर चौडाइको बाटो पिच गर्नलाई बजेट बिनियोजन समेत भइसकेछ । बाटो पिच भएपश्चात अझ पर्यटकहरु ओइरिने पर्खाईमा गाउँले छन् ।

 

यहाँको मुख्य समस्या खानेपानीको हो । डाँडा मुन्तिरबाट १÷२ दिन बिराएर लिफ्टबाट पानी तानेर टंकीमा हालेर वितरण गर्छन् । जसको व्यवस्था इम्प्याक्ट नेपाल भन्ने सँस्थाले गरेको हो ।

 

रानागाउँमा होमस्टे सञ्चालन भएपछि धेरै उपलब्धि हाँसिल गरेको गाउँलेको ठम्याइ छ । उनीहरु अनुशासित भएका छन् । बोलीचालीका भाषामा सुधार आएको छ । घरायसी व्यवस्थापन राम्रो हुँदै गएको छ । घरमा खाली हुने बेडमा पाहुनालाई सुताएर आय आर्जन गर्न सिकेको छन् । बारीमा अग्र्यानिक उत्पादन गर्ने जाँगर बढेको छ ।

 

अग्रिम सूचना दिएको खण्डमा मगरका ख्यातिप्राप्त नृत्य कौरा समेत नचाउछन् । शहरबजारका महँगो क्याफेमा घन्टाभरमै जाने गर्छ हजार–हजारका नोट । त्यहि बजेटको केही अंश मात्र गाउँका होम स्टेमा लग्ने हो भने पनि मनग्गे हुन्छ । गाम्लेका आत्मीयताले तपाईंको मन फेरि–फेरि डोरिन्छ, त्यसतर्फ । दुईचोटि खाजा, बेलुकी लोकल कुखुरा सहितको ढिँडो, भात र १ रात सुतेको ८ सय पचास रुपैयाँ दिए पुग्छ एकजनाले । नाच हेर्ने हो भने स्वेच्छाले फूल लाइदिए पुग्छ । हामी त पहिलो चोटि पुगेर आयौँ, तपाईं नि?

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी