पहाडकी रानी बन्दीपुर



गण्डकी बन्दीपुर तनहुँ जिल्लामा पर्दछ । बन्दीपुर राणाशासनको समयमा पश्चिम ३ नं.को गौडा थियो । पन्चायती ब्यवस्थामा २०२५ सालसम्म तनहू जिल्लाको सदरमुकाम भयो । २०६९ मा नगरपालिका थपिंदा बन्दीपुर नगरपालिका भयो । अहिले नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दीपुर नगरपालिका बन्दीपुर गाउँपालिका भएको छ । बन्दीपुर कुनैबेला मुख्य व्यापारीक नाकाको रुपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङ र गोरखाको ब्यापारी केन्द्र र चितवनबाट सामान ल्याउने र पठाउने बजारको रुपमा विकास भएको थियो । तनहुँ जिल्लाको सदरमुकाम विसं २०२५ सालमा दमौली सारिए पछि बन्दीपुर पर्यटनको गन्तब्य बन्यो ।

बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । नेवार जातीको रहनसहन, सस्कृति र प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको अर्को विशेषता हो । बजारबाट दश मिनेटको दुरीमा रहेको टुँडिखेलबाट हिमाल मात्र होइन फराकिलो क्षितिजमा फैलिएका तनहू, लमजुङ र गोरखा जिल्लाका फाँट, पहाड र गाउँ पनि देखिन्छन् । बन्दीपुरबाट भक्तपुरको उत्तरमा पर्ने जुगल हिमाल देखिन्छ । त्यसैगरी लाङटाङ, गणेश हिमाल, मनास्लु, हिमचुली तथा बौद्धसहित, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल देखिन्छ । हिमाल र मस्र्याङदी नदीले बनाएका उपत्यका हेर्दा बन्दीपुर पुग्ने जो कोहि पनि आनन्द महसुस गर्दछ ।

बन्दीपुरको इतिहास लामो छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि ब्यापारको नया संभावना खोज्ने क्रममा भक्तपुरका नेवारहरुले वन्दीपुरलाई उत्तरी पहाड र दक्षिणी मदेश जोडने ब्यापारी नाकाको रुपमा विकास गरेका हुन । आफ्नो शिप र उद्यमशिलताको ब्यापारको शिलशिलामा भक्तपुरबाट बन्दीपुरमा बसाई सरेका हुन । भक्तपुरे नेवारहरुले उपत्यकाको परिस्कृत संस्कृतिको नमुना झल्काउने वन्दीपुरमा बिकास गरे । बन्दीपुरमा भक्तपुरबाट नेवार सम्प्रदाय मात्र आएनन् । उनिहरुले आफ्नो कला, सस्कृति, ब्यापारी शिप, भवन शैली, कालीगढ पनि साथै ल्याएर वन्दीपुरलाई आकर्षक स्थल बनाएका हुन ।

वन्दीपुरमा राणा शासनको वेला ब्यापारीक उन्नती र अन्य विकास समेत उच्चतम अवस्थामा थियो । पृथ्वी राजमार्ग बनेपछि सदरमुकाम दमौलीमा सर्नु र ब्यापारीक केन्द्रपनि दमौली, डुम्रे, विमलनगर, खैरेनी, भसांर आदी स्थानमा विकास हुदै जाँदा वन्दीपुरका आदिवासी नेवारजातिहरु विस्तारै ब्यापारको खोजिमा कुनैबेला विस्थापीत हुन पुगेका थिए । तर आज भोली वन्दिपुरको रनकै अर्कै छ । विस्थापीत वन्दीपुरे क्रमस पुन वन्दीपुरमा फकर्ने क्रम बढन थालेको छ । नयाँ आधुनिक भवनहरु बन्दै छन । बन्दीपुरमा शिक्षा, स्वास्थ्य र सडक बिकासको क्रमश बिकास हुदै गएको छ । पहिला वन्दीपुरमा खानेपानीको ठूलो समस्या थियो । तर अहिले नयाँ खानेपानी योजनाले वन्दीपुरमा सबैलाई खानेपानीको समस्या हल गराइ दिएको छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । जेठदेखि असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभा फुलले स्वागत गर्दछ । बन्दीपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । सुविधासम्पन्न रिसोर्ट मात्र होइन पुराना नेवारी घरहरुलाई पनि मध्यमस्तरको होटल र होमस्टेका रुपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरुमा खाना र बिहानको खाजा खाने गरी स–शुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ ।

२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सार्दा सायद बन्दीपुरेहरुले सोचेका थिएनन् होला, आज बन्दीपुरको यो बिकास हुन्छ भनेर । सदरमुकाम बन्दीपुरबाट दमौली सारिएपछि बन्दीपुरका व्यापारी नारायणगढ, दमौली र डुम्रे बजार बिस्तापित हुन पुगे । बन्दीपुरको चहल पहल बिस्तारै हराउदै गयो । धेरै घर परिवारले विस्तारै बन्दीपुरलाई छाड्दै गए । तर पनि बन्दीपुरलाई प्रकृतिले भने कहिल्यै साथ छाडेन । बन्दीपुर छाडेर अन्यत्र बसाइँसराइ गरेकाहरुले बन्दीपुरलाई पर्यटन मार्फत् उकास्ने अठोट लिए । बिस्तापित बन्दीपुरे क्रमश आफ्नो थलो फर्किए । बन्दीपुरमा विस्तारै होटल खुल्ने क्रम तीव्र भयो । अहिले बन्दीपुर पर्यटकका लागि स्वर्ग जस्तै ठाउँ बनेको छ । बन्दीपुरले अहिले काँचुली फेरेको छ । कोलाहल, धूँवा–धुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्य भएको छ ।

मानिसहरुको चहलपहल र होमस्टेका घरहरु हेर्दा वन्दिपुर अव वाह्य पर्यटकहरु मात्र नभएर ग्रामीण पर्यटकहरुको गन्तब्य समेत बनेको छ । अहिले बन्दीपुरेहरुले वरपर पर्यटकहरुको लागी नयाँ गन्तव्यहरुको खोजी गर्न थालेका छन । पर्यटकलाई होमस्टेको व्यवस्था पनि बन्दीपुरेहरुले गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न बन्दीपुरमा होमस्टे देखि थ्री स्टारसम्मका होटल सन्चालनमा छन् । बन्दीपुर पुग्नने पर्यटकहरु यहाँको हावापानी, संस्कृति, रितिरिवाज देखेर आकर्षित हुने गर्दछन । एक दिन मात्रै बस्ने सोचमा आएका पर्यटक पनि बन्दीपुर पुगे पछि थप केही दिन नबसी फर्किंदैनन् । बन्दीपुरको आकर्षक बस्ती देखेर बन्दीपुर जानेहरु रमाउने गरेका छन । परम्परागत नेवारी संस्कृतिमा आधारित घरहरुले पर्यटकको आकर्षण बढेको छ । बन्दिपुरमा पिकनिकका लागि समेत विभिन्न जिल्लाबाट विद्यार्थी जाने गर्दछन ।

बन्दीपुर घुम्न जाने पर्यटकलाई बन्दीपुर वरपरका पर्यटकीय एवं ऐतिहासिक स्थलको बारेमा जानकारी दिने गरिन्छ । बन्दीपुर बजारमा ढुंगाले छापेका बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ । बन्दीपुरका पुराना घरहरुलाई सजाइएको छ । त्यसैले होला विदेशी पर्यटकहरु आकर्षित हुने गरेका छन् । वन्दीपुर पुग्दा जो कोहिलाई पनि भक्तपुरको कुनै भागमा पुगेझै लाग्छ । सडकको दायाँ बायाँ टम्म जोडिएका घरहरु दक्षिणी मोहडाका घरमा तल तिर ढलान त्यसमाथि घाम ताप्ने वारदली र फुलका गमला लहरै सजाएको हुन्छ । ढुङगाले छाएका घर सडकमा पनि ढुङगा विच्छाइएको सुन्दर दृष्यले वन्दीपुर पुग्ने मानिसहरु हर्षित हुने गर्दछन ।

वन्दीपुर नामका बारेमा अनेकौ किम्वदन्दी रहेका छन । तर विश्वास लाग्ने केही कुरा यस्ता रहेका छन । गण्डकी अञ्चलका अधिकास ठाउका नाम डी बाट उच्चारण हुन्छन् । जस्तै, राम्डी, माडी, मस्र्याङदी, चुदीँ, दरौदीँ आदि …। मगर भाषामा डि लाई पानी भनिन्छ । वन्दिपुर वर पर मगर जातिको वस्ती भएको र परापूर्व कालमा वनको पानी खानपर्ने भएकोले ठाउको नाम बनडी अर्थात वनको पानी बाट वन्दिपुर भएको भन्ने भनाई छ । भने विगत राणाकालीन समयमा अपराधीहरुलाई थुन्ने अर्थात बन्दी गर्ने स्थान भएकोले वन्दीपुर भनिएको हो भन्ने कुरापनि पाइन्छ । तर वन्दीपुरको बारेमा अनुसन्धान गर्ने इटालीका लिण्डा इटालिएनले वन्दिपुरको खडक देवीको पुजारीको नाम वन्दी थियो र उनकै नाम बाट वन्दीपुर हुन गएको कुरा उल्लेख गरेका छन ।

बन्दीपुर पहिलो पटक पुगेको मानिस त्यहाको स्वच्छ वातावरण, सफा सडक, प्राय सबैघरमा होमस्टे सुविधा देख्दा एकैछिन त अचम्म पर्दछ । बन्दीपुर प्रकृतिक सौन्दर्यको लागि जति प्रसिद्ध छ, त्यतिनै बन्दीपुरेहरु अतिथी सत्कारका लागी पनि प्रख्यात मानिन्छन । नेवारी सम्प्रदायको वस्ती पहाडी श्रृखलाको बन्दीपुर बजार सानो भूभाग भएपनि अति सुन्दर ऐतिहासिक बजार मानिन्छ । त्यसैले वन्दीपुर पुग्ने पर्यटकहरु आजभोलीधेरै हुने गरेका छन । बन्दीपुर पुगेपछि बल्ल थाहाहुन्छ त्यो ठाउको महत्व । बन्दीपुर प्राकृतिक दृश्ष्यावलोकन गर्ने टाकुरोको रुपमा चर्चिती स्थान हो ।

वन्दीपुर पहाडकी रानी को उपनामले पनि चिन्ने गरिन्छ । वन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मीक स्थलहरु आकर्षण केन्द्र बनेको छ । वन्दीपुरमा १८ औ शताब्दी मा स्थापीत खड्क देवीको मन्दीर विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमाका मुख्य धार्मीकस्थल मानिन्छन । त्यसैगरी जात्रा लाग्ने महिनामा नेवारी सस्कृतिका गाईजात्रा, विस्केत जात्रा, वाघजात्रा, लाखे र पाउदुरी जात्राले पनि बन्दीपुर पुग्ने पर्यटकहरुलाई छुट्टै आनन्द दिलाउछ । बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तिनधारामा आजभोली पिकनिक स्पोट भएको छ । वन्दीपुरबाट सुकौरा केशवटार, गुदी पोखरी भञ्ज्याङ हुदै सदरमुकाम दमौली पुग्ने मोटर मार्ग पनि छ ।

केहि बर्ष यता आएर वन्दीपुर प्यारालाईडिङका लागि पनि आकर्षक केन्द्र बनेको छ । ११५० मिटर उचाईमा रहेको भन्ज्याङ चौतारा, सुन्दर डाडाकाडाँमा ग्लाईडरहरुले आनन्द लिने गर्दछन । पोखराबाट सेती नदीमा ¥याफटीङ गर्दैै दमौली सम्म आउने र तिनै पर्यटकहरु प्यारालाईडिङका लागि वन्दीपुरमा पुग्ने गर्दछन । बन्दीपुर पुगेपछि नेपालकै पुरानो स्लेट खानी समेत अवलोकन गर्न सकिन्छ । कुनै समयमा बन्दीपुरका घर छाउने ढुङगा अर्थात स्लेट भनेपछि नेपालकै प्रख्यात मानिने थियो । पृथ्वी राजमार्ग बनेपछि बन्दीपुरका घर छाउने ढुङगा गोरखा, लमजुङ र धादीङ जिल्लाका बिभिन्न गाउँघरमा लाने गरिन्थो । बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार अर्थात गुफा पुग्न सकिन्छ । बिमल नगरको यो सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् ।

बन्दीपुरमा बाख्रा अनुसन्धान केन्द्र नेपालकै नमुना फार्मका रुपमा विकसित भएको छ । फार्ममा विभिन्न नौ जातका १६ प्रकारका बाख्रा पालेको छ । फार्मले हाइब्रिड पद्धतिबाट बाख्राहरु उत्पादन गर्ने, बाख्रापालन सम्बन्धी तालिम दिने र डाले घाँसको अनुसन्धान र कृषकलाई व्यावसायिक रुपमा उत्प्रेरितका कार्यहरु गर्दै आएको छ । पहाडी क्षेत्रमा पाइने बोर, जमुनापारी, खरी, वारवारी, सानेन, टोजेनवर्ग, नुवियान लगायतका उन्नत जातका बाख्रा फार्ममा छन । नेपालका लागि नौलो लाग्ने दूध दिने बाख्रा पनि फार्ममा छ । दूध उत्पादनकै लागि सरकारले अमेरिकाबाट बाख्रा आयात गरेको छ । सानन नामको यो बाख्राले दैनिक ४ देखि ५ लिटरसम्म दुध दिन्छ । स्वीट्जरल्याडको सानन् उपत्यकामा विकास भएको यो जातको बाख्रा दूध उत्पादनको लागि विश्वभर प्रख्यात छ । यो बाख्रा पूर्णरुपमा सेतो हन्छ । यसका कान ठाडो ठाडो हुन्छ ।

काठमाण्डौ बाट १४३ कि मी र पोखरा बाट ७३ कि मी दूरीमा रहेको डूम्रे बजारबाट ८ किलोमिटर उकालो यात्रामा बन्दीपुर पुग्न सकिन्छ । डूम्रेबाट तनहूको सदरमुकाम दमौली १८ किलोमिटर पर्दछ । बन्दीपुर महाभारत श्रृखंलाको १०३० मिटरको उचाईमा पर्दछ । बन्दीपुर जादा बाटोमा पर्ने मस्र्याङदी नदी र चुदीँ खोलाको नागबेली आकारको दृष्य समेत देख्न सकिन्छ । काठमाण्डौ अर्थात मुग्लिनबाट वन्दीपुर जाँदा मस्र्याङदी पावर हाउस, र विमलनगरको सिद्ध गुफा समेत हेर्न सकिन्छ । पहाड, वेसी र टारको विच भागमा रहेको बन्दीपुर सलक्क उठेको पहाडि भुभाग को दम्सीलो थाप्लोको पहाडमा छ ।

तनहूमा ग्रामीण जनजीवनको बारेमा अध्ययन गर्न सकिने धेरै स्थलहरु छन । तपाइ पनि वन्दीपुर जान चाहनु हुन्छ भने कम्तीमा एक हप्ताको प्याकेज कार्यक्रम बनाउन पर्दछ । वन्दीपुर पुगेपछि लमजुङ जिल्लामा पर्ने भुजुङ घलेगाउँ, पसगाउ, मा रहेको सुन्दर गुरुङ जातिको वस्ती पुग्न सक्नु भयो भने थप उपलब्धि हुने छ । त्यहा पुग्नको लागी पनि आजभोली यातायातका साधनहरु पाइन्छ । पृथ्र्वी राजमार्गको डुभ्रे देखि लमजुङको सदरमुकाम बेसिशहर सम्म ४२ कि.मी. दुरीमा बस सेवा सन्चालनमा छ । बेसिशहरबाट घलेगाउँ र भुजुङजाने जीपहरु पाइन्छ । घलेगाउँ घुमेर पैदल यात्रामा कास्की जिल्लाको रवैया डाडाँ गोर्जे, थुम्सीकोट, कालिका हुदै वेगनास ताल को दृश्यालोकन गर्दै पोखरा निस्कने समय र योजना मिलाउनु भयो भने झनै राम्रो हुन्छ । यसको लागि समय निकाल्न पर्दछ । एक पटक वन्दिपुर पुग्नुहोस साच्चीकै प्राकृतिक आनन्द लिनुहोस । पर्यटनको विकास गर्न स्थलगत अध्यन गरी नयाँ सोचको विकास गर्नुहोस ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Tourists enjoy Dragon Boat Festival holiday across China
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी