पर्यटकको हब बन्दै ‘सिन्धुलीगढी’



पर्यटकहरु जहिले पनि नयाँ कुरा र ठाउमा आकर्षित हुन्छन् । आफुले नदेखेको ठाउ पुग्ने पर्यटकहरुको इच्छा हुन्छ । कतिपय अवस्थामा पर्यटकहरुलाई कुनै ठाउको बारेमा बनाइएको गीत अथवा कुनै लेखकले लेखेको लेख र पुस्तकले पनि पर्यटकहरुलाई ती ठाउमा घुमफिर गर्न मन लाग्छ । सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मा¥यो नि मायाले मा¥यो…कृष्णविक्रम थापाले २०३७ सालमा रेडियो नेपालमा गाएको यो गीतले धेरै पर्यटकहरु को मन छुने गरेको छ । गीत–गायनले इतिहास, संस्कृति, परम्पराका साथै भूगोलको पनि उजागर गर्दछ । खोला–खोल्सा, नदी–नाला, अथवा गढी–किल्लाका गीतहरुले पनि पर्यटकलाई ती ठाउको गन्तब्यमा पु¥याउछ ।

काठमाण्डौको कोटेश्वरबाट जिप, भ्यान, हाइस वा बस सिन्धुलीगढी जानको लागि यातायातका साधन पाइन्छ । बनेपा, भकुण्डेबेसी, नेपालथोक, खुर्कोट हुँदै खनियाखर्क पुगिन्छ । हाइवेमा ऐतिहासिक सिन्धुलीगढी प्रवेशद्वार लेखिएको स्वागतद्वार पनि छ । सिन्धुलीगढी कमलामाइ नगरपालिकाको स्वामित्वमा आएको छ । नगरपालिकाले गढीको संरक्षणका लागि गुरुयोजना बनाएको छ । वीपी राजमार्गको सोलाभञ्ज्याङबाट गढी पुग्ने बाटोलाई स्तरीकरण गरिएको छ । अहिले सिँढी उक्लिएर १० मिनेटमा र आफ्नै सवारी साधन भए ५ मिनेटमा गढी पुग्न सकिन्छ । सोलाभञ्ज्याङमा सानातिना चिया–खाजा पसल र जुनार बिक्री गर्ने पसल पनि छन् । पर्यटकहरुलाई खाने–बस्ने होटल खनियाखर्क तीन किलोमिटर वरै पर्दछ ।

प्राकृतिक रुपमा सिन्धुली भित्री मधेसको समथर भूमि देखि लिएर पहाडी भुभाग र तराईको चुरे क्षेत्र देखि लिएर महाभारतसम्म फैलिएको छ । १८२४ सालमा अंग्रेज फौजलाई हराएर चर्चा कमाएको दुईसय एकाउन्न वर्ष पुरानो सिन्धुलीगढी आजभोली पर्यटनको गन्तब्य भएको छ । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठयारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका स्थलहरु त्यहा पुग्ने पर्यटकहरुलाई अहिले अचम्मलाग्दा देखिन्छन् । गढीमा पुग्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउ सकिने धेरै कुरा भेटिन्छन ।

काठमाडौंबाट बिपी राजमार्गको रमणीय नागबेली बाटो हुँदै सिन्धुलीगढी १ सय ३० किलोमिटरमा पुग्न सकिन्छ । ऐतिहासिक गढीमा रहेको दरबारको यतिखेर भग्नावशेष मात्र देख्न सकिन्छ । सिन्धुलीगढीबाट तराईका मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य पनि हेर्न सकिन्छ । गढीको डाँडोमा पुग्ने बित्तिकै पर्यटकहरुको मन रमाउन थाल्दछ । गढीडाडाँको चिसो हावाले पर्यटकलाई नलोभ्याउने कुरै हुदैन । गढी क्षेत्र नजिकैको सोलाभन्ज्याङबाट हुस्सुसँग लुकामारी खेल्न र हुस्सु नलागेको बेला गौरिशंकर हिमाललाई नजिकैबाट हेर्न पनि सकिन्छ । पुर्खाको वीरताको इतिहास हेर्न र गर्मीको बेला तराइको गर्मी छल्न आजभोली आन्तरिक पर्यटकहरु सिन्धुलीगढी पुग्ने गर्दछन ।

सिन्धुलीगढी परिसरमै सिद्धबाबाको मन्दिर छ । गढीपरिसरमा सिद्धबाबाको मन्दिर दर्शन गर्न पाइन्छ । मन्दिरमा रहेको ११२ वर्ष पुरानो घण्टीले मन्दिरको आकर्षण बढाएको छ । सिन्धुलीगढी संरक्षणका लागि स्थानीय बासिन्दाले सिन्धुलीगढी संरक्षण समिति गठन गरेका छन् । गढीमा रहेको सानोगढी, पौवागढी, इनार र तोप हान्ने प्वाललाई स्थानीयले पुनर्निर्माण गरेरे ऐतिहासिक महत्वलाई जोगाउने काम गरेका छन् । गढी परिसरमा वनभोज स्थलको निमार्ण गरिएको छ भने खानेपानीको पनि व्यवस्था गरिएको छ । गढी संरक्षणमा पछिल्लो समय नेपाली सेनाले समेत चासो देखाएको छ । सेनाले त्यस क्षेत्रको सरसफाइ गर्नुका साथै इतिहास झल्काउने विभिन्न सामग्रीलाई होर्डिङ बोर्ड बनाएर राखेको छ । विभिन्न ऐतिहासिक स्थलको जानकारी दिने साइनेज बनाएर ती ठाउमा राखिएको छ । सेनाले बनाएको ऐतिहासिक सिन्धुलीगढीबारेको बृत्तचित्र घुम्न आउने पर्यटकहरुलाई दैनिक देखाउने ब्यवस्था मिलाइएको छ । अंग्रेज साम्राज्यलाई पराजित गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते त्यहाँ विजयोत्सव मनाइन्छ । गढी सिन्धुलीको पुरानो सदरमुकामसमेत हो । सिन्धुलीको पहिचान जोगाइराख्न ०६४ सालदेखि नेपाल पत्रकार महासंघ सिन्धुलीले कात्तिक २४ गते विजयोत्सव मनाउँदै आएको छ । यस दिन सिन्धुली गढीमा आन्तरिक पर्यटकहरुको निकै भिडभाड हुने गर्दछ ।

सिन्धुली गढीमा पुगे पछि पर्यटकहरु प्रकृति र ऐतिहासिक सम्पदा संग रमाउन थाल्दछन । समाद्रिक सतह देखि गढीको १,४०० मिटर उचाईबाट उत्तर तीर तामाकोसी र गौरीशंकर हिमाल देखिन्छ । दक्षिणमा हरियाली वनजंगलले ढाकेको चुरेपहाडसँगै तराईका समथर भूभाग । पूर्वमा सुनकोसी र पश्चिममा वाग्मती र मरिणखोला नागवेली आकारका बग्दै गरेको दृष्यले पर्यटकहरु आफ्नो मोवाइलबाट सेल्फि लिनको लागि आतुर हुन्छन् । वरिपरिका पहाडबीचको गढीथुम्को हेर्दै आकर्षक मानिन्छ । सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले बीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २५१ बर्षअघि पृथ्वी नारायण शाहले नेपाल एकिकरण सुरु गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरुले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए । ब्रिटिस कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको थियो ।

नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजीत छ । जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ । गढीमा दुई वटा टापुमा युद्धको समयमा सानो र ठूलो तोप राखेकाले सानोगढी र ठूलोगढी भनिएको हो । गढीको स्थापना कहिले भयो भन्ने तथ्य फेला नपरे पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले १७६२ मा निर्माण गराएको गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए । गढीमा बसेर वीर गोर्खालीले युद्ध जितेको स्थलमा फोटो खिच्न पाउदा पर्यटकहरु छुट्टै आनन्दको अनुभूति गर्दछन । पुर्खाले बगाएको रगतको कथा सुन्न पाउँदा गर्वले छाती फुलाउँछन् । कतिपय पर्यटक यो नेपाली शिर उचाली संसारमा लम्कन्छ भन्ने गितमा नाच्च समेत लाग्दछन ।

सिन्धुली गढीमा पृथ्वीनारायण शाहले विजय युद्धपछि सेना बस्न काठ र खरको छानो राखेर घर बनाई गढीको स्थापना गरेका थिए । १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, इँटाको गारो लगाएको दुईतले दरबार निर्माण सुरु भएकोमा पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए । सिन्धुली गढीको क्षेत्रफल तीन हजार वर्गमिटरमा फैलिएको छ । दरबार क्षेत्र महाभारत जंगलबीचमा पर्दछ । २०१९ सालसम्म जिल्लाका सबै सरकारी कार्यालय गढीमै थिए । २०२२ मा सेनाको ब्यारेक, प्रहरी चौकी र कारागारमात्र गढीमा राखेर बाकी सबै कार्यालय सिन्धुलीमाढी सारियो । पछि २०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो । २०५२ सालसम्म प्रहरी चौकी गढी परिसरमा थियो । माओवादी जनयुद्ध सुरुवातसँगै प्रहरी चौकीमा आक्रमणपछि गढीबाट सिन्धुलीमाढीमा सारियो ।

सिन्धुलीगढीको अर्को आकर्षण हो यहाको मनोरम प्रकृति । जुन कारणले पर्यटकहरु मनोरम प्रकृतिसंग रमाउन सिन्धुलीगढी पुग्ने गर्दछन । महाभारत पर्वत श्रृखलाको बीचमा पर्ने गढी चिसो हावापानी भएको जीवन्त लेक हो । गढी क्षेत्रको हावापानी न धेरै चिसो न गर्मी । जाडो महिनामा औसत तापक्रम सूर्योदयको समयमा ८ देखि १० डिग्री सेल्सियसका बीच रहन्छ भने सूर्यास्तमा १० देखि १२ डिग्री सेल्सियस । गर्मी महिनामा औसत तापक्रम सूर्योदयको समयमा १८ देखि २० डिग्री सेल्सियसबीच रहन्छ भने सूर्यास्तको समयमा २५ देखि २८ डिग्री । चैत–वैशाखमा डाडै राताम्मे हुनेगरी फुल्ने गुरासले पर्यटकलाई मोहित तुल्याउछ । अर्को तर्फ कात्तिक–मङसिरमा पाखाभरी पहेलै देखिने जुनारले पर्यटकहरु झनै लोभिन्छन् । केहिबर्ष अगाडि देखि सिन्धुलीमा जापानी सहयोगमा उन्नत जुनार खेती भइरहेको छ । गढी आसपास क्षेत्रमा घुमघाम गर्दा पर्यटकहरुले लोपोन्मुख हायु जातिको संस्कृति र रहनसहनका बारेमा पनि अध्यन गर्न सक्दछन् ।

सिन्धुली गढी जादा जुनारको स्वाद संग रमाउने पर्यटकहरु पनि धेरै हुन्छन । जुनारका लागि सिन्धुली जिल्ला प्रख्यात मानिन्छ । सिन्धुलीको जलकन्या बाशेश्वर रतनचुरा भुवनेश्वरी मझुवा तिनकन्या वितिजोर गाउँहरु जुनार उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । हेर्दा सुन्तलाजस्तो ! सुन्तलाजस्तै स्वादको ! तर सुन्तलाको चहकिलो गुलियोभन्दा फरक स्वादको मन्द गुलियो हुन्छ जुनार ! पातलो बोक्रा हुने सुन्तलाभन्दा महँगो ! बाक्ला बोक्राभित्र आफ्नो रस साँचेर राख्ने अनौठो जातको फल हुन्छ जुनार । सिन्धुलीगढी पुग्ने हरेक ब्यक्तिले खनियाँखर्क, सोलाभञ्ज्याङमा जुनार किन्न पाउँछन् । अलि पर घुम्न जानेहरुले चपौली, खनियाँखर्क लगायतका गाउँमा आफ्नै हातले जुनारसुन्तला टिपेर खान पाउँछन् । सिन्धुली गढीमा पुग्ने पर्यटकहरुको घरमा ल्याउने कोशेलीको रुपमा जुनार फल हुने गरेको छ ।

गढीको इतिहास
वि.सं.१८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अग्रैजी फौजलाई राजा पृथ्वीनारायण शाहका पालामा वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट भगाएका थिए । जसमा झण्डै १६ सय अग्रेज सेना हताहत भएका ऐतिहासिक तथ्य छ । अग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अग्रेजहरूको पहिलो पराजय । रणकौशलमा निपूर्ण मानिएका ठूलो सख्यामा आएका अग्रेज फौजले गोलाबारी र बन्धुकका साथ सिन्धुलीगढीमाथि आक्रमण गरेका थिए । अग्रेज फौजमाथि वीर गोर्खाली सैनिकले बडो चातुर्य र बहादुरीका साथ लडेर बैरीको फौजलाई तहनहस मात्र पारेनन, उनीहरुसँग रहेको हातहतियारसमेत बरामद गरेका थिए । सिन्धुलीगढिबाट पराजित भएर जनकपुर पुगेपछि अग्रेज कप्तान किनलोकले अब म गोर्खाली सैनिकसँग लडेर नेपाल विजय गर्न नसक्ने भए भनेका थिए । नेपालको विकट भौगोलिक क्षेत्रमा पाइने जैविक विविधतासँग परिचत नभएका अग्रेज फौजलाई गोर्खालीसँगको यो युद्ध ज्यादै महँगो सबित भएको थियो । यो लडाइँमा स्थानीय जनताले पनि सिस्नु, अल्लो, अरिङ्गालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोगले अग्रेजका फौजमाथि आक्रमण गर्न सघाएको भनाइ छ ।

वि.सं.१३६७ मा सिम्रौनगढका सेनाले काठमाडौँमा व्यापक लुटपाट गरी बनेपा हुँदै सिन्धुलीगढीको बाटो भएर जनकपुर हुदै सीतामडी फर्केका थिए । इतिहासका घटनाक्रम अध्ययन गर्दा डोयहरुको आक्रमणको करिब ४० वर्षपछि जयस्थिति मल्लका पालामा अर्थात् वि.सं.१४०६ को मङिसरमा बगालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौँलाई लगभग ध्वस्त बनाई फर्किंदा पनि सिन्धुलीगढीको बाटो हुँदै बगाल गएका थिए । यो अपार क्षतिबाट विक्षिप्त भएर पुनःआक्रमणको प्रतिरोध एवं बचावटका लागि गढी स्थापना वि.सं. १४११ र वि.सं. १४५२ को बीचमा जयस्थिति मल्लले गरेका हुन् । राजा जयस्थितिले गढीको फेदीभन्दा केहीपर भारदारलाई सुराकीका रुपमा राखेका थिए । काठमाडौँका राजा यक्ष मल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन वि.सं.१५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाएका तथ्य इतिहासमा पाइन्छन् । वि.सं.१५५६ तिर राजा शिवसिं मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई अधिकारमा लिएका थिए ।

वि.सं.१७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदार र मोरङका बादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेका गरेका थिए । वि.सं. १८७३ मा शुरु भएको नेपाल–अग्रेज युद्धको समयमा सिन्धुलीगढीको सामरिक महत्व बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रुपमा स्थायी सैन्य छाउनी व्यवस्था गरेका थिए । १८८६ माघमा जनरल थापाले पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका पनि लिएका थिए ।

बिपी मार्गले सिन्धुली चिनायो !
बिपी मार्ग नबन्दै सिन्धुली कहाँ हो ? पूर्व हो कि पश्चिम भनेर सोध्नेको सख्या धेरै थियो । राजमार्गबाट भित्र पस्नुपर्ने भएकाले सिन्धुलीको बारेमा धेरै कुरा थाहा हुदैन थियो । सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई भन्ने कृष्णबिक्रम थापाले गाएको गीतले मात्र धेरैलाई सिन्धुलीको केही परिचय दिएको थियो । इतिहास जान्नेलाई त सिन्धुलीगढीमा अंग्रेज सेनालाई नेपाली सेनाले पराजित गरेको गौरवगाथाको जानकारी कुरा पनि थाहा थियो । बिपी कोइरालाले पुख्र्याैली गाउँ दुम्जा, शहिद ऋषिराज देवकोटाको जन्मथलो खुर्काेट र कर्मथलो भिमान जान्नेहरु सिमित नै थिए भन्दा पनि हुन्छ । सिन्धुलीको परिचय बिपी राजमार्ग बनेपछि पूरै फेरिएको छ । कसैले घर कहाँ हो भन्दा सिन्धुली भन्नुपर्छ ! जापानले बनाइदिएको सुन्दर बाटो र रहरलाग्दा फाँट, चिसो महाभारत पर्वत, हरियाली वातावरणको कुरा आफैले निकाल्छन ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी