गन्तब्य सुदूर पश्चिम प्रदेश



गत वर्ष चार वर्ष पछि सुदूर पश्चिमप्रदेशको तराइका जिल्लाहरु भ्रमण गर्न भनी नवलपसारीको सुनवल, बनकट्टीबाट निस्किएँ । फागनुको दोस्रो साता । कोहल्पुरमा नातेदार बस्नाले मलाई सहज नै भयो । उसो त बाँकेको राष्ट्रिय निकुञ्जमा मेरो भाइ दिल पुन प्रमुख संरक्षण अधिकृत भएकाले समेत धेरै नै सघाउ पुग्यो ।

म जहाँ जान्छु त्यही नै मित्रता गाँस्छु । अझ ग्रामीण जनजीवन भनेपछि भुतक्कै हुन्छु । बारम्बार कल गरेर सञ्चो बिसञ्चोको जानकारी लिइनै रहन्छु । यात्राको क्रममा मीठा मात्र हैन तीता अनुभूतिहरु समेत हुँदा रहेछन्, जुन आफूले नचाहदा नचाहदै पनि त्यस्तै भयो कैलालीको चिसापानीमा ।

कोहल्पुर बसपार्कबाट हाइलक्स जिप लिएर चालक खुशीराम चौधरी, फुपू, भाइ कृष्ण रानाभाट, साली, नाति र म गरी ६ जनाको टोली भादासम्म गन्तव्य मानेर बिहानको खाजा लिइवरी हुइँकियौँ ।

भादा गाउँ होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीलाई कोहल्पुरबाटै फोन गरेर १२ बजेभित्र आइपुग्ने जानकारी दिइसकेकोछौँ । खानाका परिकारमा लोकल माछा र भात, तरकारीको अर्डर गरिसकेकाछौँ । उनी गत स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्ष समेत हुन् । चार वर्ष अघि उनको होमस्टेमा एकरात बास बस्दा हाम्रो सम्बन्ध बाक्लिएको हो । सरल, मृदुभाषी र इमान्दार लाग्छन्, उनी । छोराछोरी सबैलाई स्नातकोत्तर अध्ययन गराइसकेका छन् । गाउँमा हुनेखानेमा दरिन्छन् । तैपनि, खेती किसानीमा आफै तुरुक्क पसिना चुहाउछन् । जनप्रतिनिधि भएपश्चात जनताकै सेवामा टहल गर्दै ठिक्क छ, उनलाई । गाउँमा जोकोही व्यक्ति वा संघ÷संस्था आउँदा समेत उनकै खोजी हुनेगर्छ । नवलपरासीमा अमलटारी थारु होमस्टे सञ्चालन हुनूपूर्व भादा होमस्टेको ख्याती राजधानीसम्म पुगेका थियो । परम्परागत थारु जनजीवनमा रम्ने हो भने भादा नै उत्तम छ, भलै टाढा नै किन नहोस् ।

बादी बस्तीका कथा व्यथा
कर्णाली नदीको पुल तरेर चिसापानी बस्तीलाई छाडिसकेकाछौँ । कर्णालीको बेतोड बतासको झापडबाट समेत मुक्त भइसकेकोछौँ । पश्चिमतिर गुडिरहेको छ, हामी सवार हाइलक्स । म अगाडिको सीटमा बेल्ट बाँधेर बसेकोछु । युवा चालक थारु भाइको हँकाइ बेजोड छ । पिच बाटोमा सवारी साधन धेरै नै कम छन् । बाटो पनि राम्रो नै छ । मुग्लिन नारायणघाट खण्डको राजमार्गको दुर्दशा भोगिसकेका हामीलाई यताका बाटामा गाडी गुडाउन पाउँदा भने सहज नै भो । परन्तु, स्पीडको गाडी कतै बिजुलीको पोलमा त ठोक्किने हैन या पुल्टुङ बाजी त खाने हैन भनी मनमा एकतमासको भयले घर जमाई रह्यो ।

चिसापानीबाट पश्चिमतर्फ बीस मिनेट जति गुड्दै गर्दा सालका बुटामुन्तिर झुरुप्पको बस्ती देख्दा मन थाम्नै सकिनँ । खरका झुपडी । काठका दारपातले बारेका । सिनित्त पारेर गोबरले भुइँ लिपपोत गरेका । दाउराकै चुला । लोकल कुखुरा चल्लाका बथान अघिपछि । बाख्राका पाठापाठी बुर्लुक–बुर्लुक उफ्रदै गरेका । बाटो छेवैनेरको दक्षिणतिरको बादी बस्ती ।

यो बस्तीलाई बलचौर भनिन्छ । जहाँ सुदूर पहाडी बाह्र जिल्लाका एक सय बैसट्ठी घर छन् । उनीहरु अछाम, दैलेख, सुर्खेत, डोल्पा, बझाङ, बाजुरा र सल्यान जिललाबाट १२ वर्षअघि सुखी दिनको खोजी गर्दै आउँदा यही बस्ती बसाउन पुगेका हुन् । भनिन्छ ‘१२ वर्षमा बगेको खोला पनि फर्कन्छ’ तर यो उक्ति उनीहरुका जीवनमा फिटिक्कै मेल खान्न । सुखी ज्यानको आश गरेको १२ वर्ष बितिसक्दा पनि उनीहरुका दिलमा कहिल्यै पनि उज्यालो घाम लागेन ।

उनीहरुका पुख्र्यौली पेशा मादल बनाउने, नदीमा बल्छी, जाल फ्याकेर माछा मार्ने तथा माग्दै हिड्नु पनि हो । ऐलानी जग्गामा बस्ती बसाले पनि अझतक जग्गाधनीको पूर्जी पाउन सकेको छैनन् । कसैले ज्यालामजदूरी गर्छन् र कोही कामको खोजीमा भारतसम्म पुग्छन् । ‘यहाँको मुख्य समस्या नै भोकमरी हो’, तीर्थबहादुर बादीले सुनाए । झुपडीनिरको बारीमा केही सागसब्जी र लसुन लगाएको देखिन्छ । झुपडीले मात्र खान नपुग्ने उनीहरुको बिलौना छ । थ्रि एन्जल्स नेपाल भन्ने संस्थाले मात्र साइनबोर्ड राखेर केही शैक्षिक सामग्री बितरण गरेको देखिन्छ ।
झुपडीको ढोकैनेर बसेकी थिइन् पदमकली बादी (६०) बडेमानको सुल्पा (चिलिम) मा कङ्कड (भुक्कर) राखी त्यस माथि आगोको रातो फिलिङ्गोले सल्काएर तन्तन् सासले तान्दै थिइन् । मलाई देख्नासाथ हत्तपत्त लुकाउँदै भनिन, ‘क्या गरी खानी, क्या गरी बस्नी ।’

बस्ती चक्कर लाउँदै थिएँ । आँगनमा एउटा बालक पीडाका साथ दर्दनाक चित्कार गरिरहेको देखेँ । ‘मरे बाबा’ भन्दै घाउको पीडा व्यक्त गरि रहेको थियो । केही महिना अघि आगोको भुङ्गोमा परेर दायाँ गोडा भित्री भागसम्म जल्न पुगेछ । पैसा चन्दा सङ्कलन गरी भारतसम्म पु¥याउँदा पनि सञ्चो नभएको उसको आमाले बताइन् । मैले ‘नरो बाबु’ भन्दै सय रुपैयाँको नोट उसको हातमा थमाइदिएँ । उनीहरुका फोन नम्बर माग्न भने भुसुक्कै बिर्सिएछु ।

उर्वर माघी होमस्टे
घोडाघोडी तालको केही पश्चिमतर्फ लागेपछि महेन्द्र राजमार्गलाई छाडेर कच्ची बाटो उत्तरतिर लाग्ने । खेतीपाती हराभरा । बाटो छेउमै कुलुलु कुलो बगेको । तोरी फुलेर पहेल्पुर धर्ती । बाटोका दुबैतर्फ टायलका घरहरु । निख्खर गाउँले जीवन । चारैतिर सालका घना जंगल । एक घन्टाजति गुडेपछि बल्ल आइपुग्यो माघे होमस्टे । थारुहरुका सबैभन्दा ठूलो चाड हो माघी । यो गाउँको नाम समेत माघी रहेछ ।
२०७१ साउन १० गते औपचारिक रुपले उद्घाटन गरेर चौध घरमा थारु होमस्टे सञ्चालनमा ल्याएका छन् । जसका अध्यक्ष हुन् शोभाराज चौधरी । एकचोटिमा २८ जना पाहुनासम्म राख्न सक्ने क्षमता छ होमस्टेको । गाउँले मिजिसिला, फरासिला छन् । थारुका परम्परागत घरमा बास बसेर थारु परिकार चाख्न पाउँदा सधैभर झल्को लाइरहन्छ । चिचर, ढिकरी, खिरिया, घुंघी, गंगटा, माछा, अन्दी चामलको जाँड झोल, मौवाको दारु (रक्सी) थारुका परिकार खान पाउँदा मन प्रफुल्ल हुन्छ ।

होमस्टेमा हालसम्म ३५ सय पाहुना बास बसेका छन् । आन्तरिक पर्यटकमा काठमाण्डौं, पोखरा, दाङ, नवलपरासी, इलाम, नेपालगञ्ज, कोहल्पुर, धनगढी र कन्चनपुरसम्मका छन् । त्यस्तै बाह्य पर्यटकमा फ्रान्स, सिंगापुर, मलेसियाका आएका छन् । बर्दियाको डल्ला, ठाकुरद्वाराबाट सम्पर्क व्यक्तिहरुद्वारा माघी होमस्टेको प्रचारमा सघाउ पुगेकोछ । माघीमै पंछी संरक्षण संघ ९द्यऋल्० को सम्पर्क कार्यालय समेत छ । त्यसले पनि होमस्टेको प्रचारमा सघाउ गरेको छ ।

गाम्लेलाई उर्वर भूमि भएकोले बेसाउनु पर्देन । उब्जनीले ढुक्कसँग वर्षदिन खान पुग्छ । प्रति घर डेढदेखि बढिमा ३ विघासम्मको जमिन छ । धान, गहुँ, मसुरो, तोरी मनग्गे फल्छ । चना भने केही कम फल्छ । गाउँ नजिकैको चेन्ना नदीबाट खनिएको कुलोले सिँचाईको काम गरेको छ ।
माघीमा कुल घरधुरी १ सय पचासी छन् । पहाडी भन्दा थारु बेसी छन् । रोजगारीको सिलसिलामा कोही युवा दुबई, मलेसिया पुगेका छन् । गाउँमा विद्युतीकरण नभए पनि सोलरबाट काम चलाएका छन् ।

यो गाउँको पूर्वमा दीपनगर पश्चिममा राजपुर उत्तरमा गैडाखेडा र दक्षिणमा सिन्थरी गाउँ पर्दछ । गाउँमै एउटा आधारभूत विद्यालय छ । अक्सर यो गाउँमा थारुका घना बस्ती छ । उनीहरुले थारुका भेषभूषालाई जगेर्ना गरेका छन् । रैथाने सीपलाई उजागर गरी राखेका छन् ।
घेरै नेतालाई चुनाव जिताएर पठाएकोमा यो गाउँलाई कुनै विकास निर्माणमा सघाउ नपु¥याएकोमा होमस्टे अध्यक्ष शोभाराज चौधरीले अचाक्ली गुनासो पोखे । नेपाली काँग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलको त उनले खुलेरै आलोचना समेत गरे ।

झुक्काइन् होटलवाल्नीले ?
कर्णाली नदीका स्थानीय माछा पाक्छन् कैलालीको चिसापानीस्थित होटल रेष्टुराँमा । हामी बारम्बार छापामा यही समाचार पढिरहेका छौँ । परन्तु, मिडीयाले सत्य, तथ्य निर्भिकताका साथ ओकेल्नुपर्छ ।

चारवर्ष अघि भादा होमस्टे बास बसी भोलिपल्ट टीकापुर पार्क घुमेका थियौँ भाइहरु कुमार पुन, कृष्ण रानाभाट र म । फर्कँदा झिमिक्क साँझ परेकोले चिसापानीको सागर लजमा एकरात व्यतित ग¥यौँ । उतिवेला लोकल स–साना माछा मिठैसँग खुवाएका थिए, होटलवालाले । यस चोटि पनि बीचमा खाजा नखाइकन आन्द्रा बटार्दै सोही लजमा पाइला टेक्यौँ । मुखबाट फुत्त निस्क्यो ‘लोकल माछा हो, साहुजी ?’ ‘हो सर प्योर लोकल हो’ होटलका साहूले भने । हामी पनि विश्वस्त भई चिउरा, माछा पाँच ठाउँ मगायौँ । माछा बेस्वादको थियो । नदीको लोकल भनेको त पोखरीको विकासे माछा पो खुवाए त्यो पनि बासी । हसुरे पछि बील त भुक्तान गर्नै प¥र्यो, खुरुक्क ति¥र्यौ महँगो बिल । यता मलेखुतिर पनि त्रिशुलीको माछा भनी झुक्काउँछन् ।

मैले कर्णाली नदी छेउमा बसोबास गर्ने सोनाहा जातिसँग रिर्पोटिङ्ग गरेको छु । उनीहरुले दैनिकी कति परिमाणमा चिसापानीका होटलमा माछा पु¥याउँछन् सबै जानकारी छ । कर्णालीको माछा भन्दै पोखरीको विकासे माछा खुवाउनमा यहाँका होटलहरु अभ्यस्त भइसकेका छन् । केही होटलमा मात्र कहिलेकाही भने लोकल नै पाक्ने गर्दछ । तपाईं पनि लोकल भन्दै विकासे माछामा पर्नु होला, चिसापानीमा ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी