पर्यटकीय संभावना बोकेको दैलेख जिल्ला



परिचय
कर्णाली प्रदेशकाे दैलेख जिल्ला पूर्वमा जाजरकोट पश्चिममा अछाम उत्तरमा कालिकोट र दक्षिणमा सुर्खेत जिल्ला जोडिएको यो जिल्लाको प्राकृतिक साध सिमानाभित्र उत्तरमा महाबुको लेक, दक्षिणमा रानिमत्ताको लेक, पूर्वमा कालिकोटको लेक र पश्चिममा कर्णाली नदि रहेका छन् । दैलख जिल्लाको कुल क्षेत्रफल १५०२ वर्ग किलोमिटर रहेको छ भने कुल क्षेत्रफल मध्ये १६ प्रतिशत भूभाग हिमाली र वाँकी ८४ प्रतिशत भू–भाग मध्ये पहाडी भूगोलले ओगेटेको छ । दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । सुर्खेत देखि करिव ६५ किलोमिटर दुरीमा रहेको दैलेख बजार नेपालगन्ज देखि करिव १ सय ७४ किलोमिटरको दुरीमा रहेको छ । दैलेख जिल्ला प्राचिनकाल देखि नै पञ्चकोशी नामले प्रसिद्ध तिर्थस्थलहरु रहेको जिल्ला हो । देवलोक मानिने यस जिल्लामा विभिन्न धार्मिक, साँस्कृतिक, भौगोलिक तथा पर्यटकीय स्थलहरु धेरै मात्रामा रहेका छन् । दैलेख जिल्लाको प्राचिन नामाङ्करणका सन्दर्भमा विभिन्न किम्वदन्तीहरु छन् ।

आदियुगमा यो पर्वतीय देवताहरुको लोक वा निवास स्थान रहेकोले देवलोक वा देवलेक नामाकरण हुन गएको र पछि अपभं्रस भई दैलेख हुन गएको भन्ने भनाई रहेको छ । अर्को मतअनुसार यो भूमिमा दधिचि नामक ऋषिको नेतृत्वमा अन्य ऋषिमुनिहरुले आदिकालमा तपस्या गरेको भूमि भएकाले यस भूमिको नामाकरण प्रमुख ऋषिकै नामबाट दधिलेख भएको र पछि दैलेख हुन गएको हो भन्ने भनाई पनि रहेको छ । त्यसैगरी यस जिल्लामा प्रसस्त दही पाईने भएकाले पनि जिल्लाको नाम दहिलेकबाट दैलेख रहन गएको पनि भनिन्छ ।

दैलेख जिल्लामा पर्यटकीय गुण बोकेका धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक तिर्थस्थल रहेका छन् । जसको अवलोकनका लागि पर्यटकहरु ती क्षेत्रमा पर्व लागेका बेला धेरै मात्रामा जाने गर्दछन् । दैलेखमा रहेका पर्यटकीय क्षेत्रहरुले आफैमा छुट्टै खालको पहिचान दिएका
छन् ।

ऐतिहासिक पर्यटकीय क्षेत्र
पंञ्चकोशी (शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर, पादुकास्थान)
दैलेख जिल्लालाई पंञ्चकोशीका नामले चिनिने गरिन्छ । पूराणमा उल्लेख भए अनुसार पौराणिक ऋषिमुनिहरुको आध्यात्मिक साधनाको तपोभूमि मात्र नभएर पवित्र देभभूमि समेत रहेको भूमि हो । उक्त पूराणमा दुल्लु क्षेत्रमा उत्पति भएको ज्वालाको दर्शन गर्नाले काशी मायापुरीको तीर्थ गरेभन्दा ठूलो फल मिल्ने, सम्पूर्ण पापहरु नाश हुने तथा मनले सोचेको कुरा पूरा हुने कुरा गरिएबाट पनि यस क्षेत्रको महत्व प्रष्ट हुन्छ । पंञ्चकोशी तिर्थस्थल अन्तर्गत शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर र पादुका गरी जम्मा पाँच तिर्थ स्थलहरुको दर्शनलाई उच्च महत्वको रुपमा हेर्ने गरिन्छ । पंञ्चकोशी तिर्थ गर्नका लागि पहिलो दिन कोटेश्वर महादेवको दर्शन कार्यबाट यात्रा प्रारम्भ गरी विनायक गाउँस्थित मगराको पुरानो धाराको स्नान गरी सोही दिन सोही ठाउँमा बास बस्नुपर्दछ । दोस्रो दिन मालिका देवीको दर्शन गरी डुङ्गेश्वर पुगेर डुङ्गेश्वर महादेवको दर्शन गरिन्छ । तेसो्र दिन पादुका स्थान पुगी स्वामी कार्तिकेय ज्वालादेवी भैरव र शिवजीको दर्शन गरिन्छ । चौथो दिन भैरवीकुण्डमा स्नान गरी भैरीकालिकाथुम पुगी कालिका देवी र धुलेश्वर महादेवको दर्शन गरिन्छ । पाँचौ दिन ब्रह्मकुण्डमा स्नान गरी हाडेचौरस्थित ब्रह्मकपाली, नाभिस्थान, शिरस्थानको दर्शन गरी पंञ्चकोशी क्षेत्रको परिक्रमा गरेर तिर्थ पूरा गरिन्छ ।

शिरस्थान
दुल्लु नगरपालिका अन्तर्गत छामघाट खोला र नाभिस्थान खोलाको किनारमा अवस्थित पंञ्चकोशी तिर्थस्थल मध्ये महत्वपूर्ण पिठ हो । यो ठाउँमा पुग्न दैलेख बजारबाट करिब एक घण्टा लाग्दछ । सत्य युुगमा दक्षप्रजापतिको यज्ञकुण्डमा आत्मदाह गरेकी सत्यदेवीलाई पति महादेवले पिठ्युमा बोकी हिड्दा त्यस ठाउँमा शिरपतन भएकाले शिरस्थान भन्ने गरिएको किम्वदन्ती भनाई छ । यो ठाउँमा परापूर्वकालदेखि अनवरतरुपमा ज्वाला प्रकट भएको र सोही ज्वालालाई देवीको रुपमा पुजा अर्चना गरिने भएकाले यस पिठलाई ज्वालादेवी पनि भन्ने गरिन्छ । शिवरात्रीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । शिरस्थान मन्दिर नजिक रहेको खोलाको किनारमा मृत व्यक्तिको दाहसंस्कार गर्ने गरिन्छ ।

नाभिस्थान
दुल्लु नगरपालिका स्थित नाभिस्थान खोलाको बाँया किनारमा अवस्थित यो मन्दिर पनि पंञ्चकोशी तिर्थ स्थल मध्ये महत्वपूर्ण पिठ हो । यस स्थानमा पनि शिरस्थानमा भनिएझै सत्यदेवीको नावी पतन भएकोले यस स्थानको नाम नाभिस्थान रहन गएको भन्ने विश्वास गरिन्छ । दैलेख बजारबाट नाभिस्थान पुग्न करिव डेढ घण्टामा हिडेर तथा एक घण्टामा सवारी साधन मार्फत पुग्न सकिन्छ । यस ठाउँमा पनि परापूर्वकाल देखि अनवरत रुपले ज्वाला बल्दै आएको छ । विशाल स्वामिको रुख तथा विभिन्न किसिमका देवीदेवताका मूर्तिहरु रहेको यो पिठमा बडादशैँको कालरात्री, बाला चर्तुदशी, श्री स्वस्थानी व्रतका समय, शिवरात्री तथा चैते दशैँमा विशेष पुजा गरीन्छ । शिरस्थानमा जस्तै यहाँ पनि मृत व्यक्तिको दाहसंस्कार गर्ने गरिन्छ ।

कोटीला
नारायण नगरपालिका वडा नं. ९ स्थित छामगाड खोलाको किनारमा अवस्थित कोटीला स्थान पंञ्चकोशी तिर्थस्थलमध्ये महत्वपूर्ण पिठ हो । दैलेख बजारबाट करिव डेढ घण्टामा पुग्न सकिने यस स्थानमा पनि पौराणिक कालमा ऋषि द्रोणचार्यले कोटिहोम महायज्ञ गरेकाले यसको नाम कोटीला रहेको हो भन्ने गरिन्छ । यस स्थानमा माघेसंक्रन्तिमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिरको वरिपरि विभिन्न किसिमका ढुङ्गाका मूर्तिहरु रहेका छन् ।यहाँ मानिसहरुको चुडाकर्म (व्रतवन्ध) गरिने भएकाले यसको महत्व निकै रहेको छ ।

 

धुलेश्वर
दुल्लु नगरपालिका स्थित वडलम्जीको धुलेश्वर डाडाँमा अवस्थित मन्दिर पंञ्चकोशी तिर्थस्थल मध्येको एक महत्वपूर्ण शक्ति पिठ हो । पौराणिक कथन अनुसार सत्यदेवीको मृत शरीरलाई महादेवले डुलाउदै लैजादा यस स्थानमा पुग्दा सत्यदेवीको अंगको धुलो पतन भएकाले धुलेश्वर रहन गएको भन्ने भनाई रहेको छ । यहाँ शिखरशैलीका देवहरु रहेका छन् । केही वर्षअघि सम्म भूर्गवबाट खरानी वालुवा निस्कने भएतापनि अहिले यो मृतज्वालामूखीको रुपमा रहेको छ । यहाँ उमामहेश्वरको मूर्ति, शिवलिङग र वसाहको आकृति रहनुका साथै मन्दिरको गर्भगृहमा अग्निकुण्ड रहेको र परिसरमा भैरव मन्दिर, गादीघर रहेको छ । यस मन्दिरमा तान्त्रिक विधिद्धारा भैरव र भगवतीको पूजा गर्ने गरिन्छ ।

पादुकास्थान
दुल्लु नगरपालिका स्थित पादुका खोलाको किनारमा अवस्थित पादुकास्थान दैलेखको पंञ्चकोशी तिर्थस्थलहरु मध्येको महत्वपूर्ण पीठ हो । दैलेख बजारबाट करिब २३ किलोमिटरको दुरीमा पश्चिममा पर्दछ । यस स्थानमा पनि महादेवले मृत सतिदेवीको शरीरलाई बोकेर घुम्दै जाँदा यो ठाउँमा पुगेपछि पाउ पतन भई शिवशक्ति स्वरुपका रुपमा रहन गएकोले यो पिठको नाम पादुकास्थान रहन गएको हो भन्ने किबमदंन्ती रहेको पाईन्छ । अर्को किबमदंन्ती अनुसार भगवान् श्रीविष्णुका पाउँ रहेकोले यसलाई पादुका स्थान भन्ने गरिन्छ । यस मन्दिरको मुख्य पुजनिय बस्तु भनेको शिलामा खुट्टाको स्पष्ट आकार हो जसलाई विष्णुपादुका भनिन्छ । मन्दिर भित्र विभिन्न किसिमका देवीदेवताका मूर्तिहरु रहनुका साथै बुद्धका मूर्ति पनि रहेका छन् । मन्दिरको नजिकै कपुरनाउली (इनार) रहेको छ । वि.सं. २०१२ सम्म यहाँ ज्वाला बल्ने गरेतापनि ठूलो बाढी आएर बगाएकोले हाल ज्वाला बल्न छाडेको छ । यो स्थानलाई धार्मिक कारणले मात्र नभई पुरातात्तिक कारणले पनि महत्वपूर्ण स्थल मानिन्छ ।

वेलाशपूर मन्दिर
नारायण नगरपालिका वडा नं. ६ मा अवस्थित वेलाशपूर मन्दिर धार्मिक हिसावले महत्वपूर्ण मानिन्छ । दैलेख बजारबाट करिव आधा घण्टामा हिडेर पुग्न सकिने वेलाशपूर मन्दिरमा भैरवको मूर्ति रहेको छ । भैरव मन्दिरलाई संसार वर्माले आफ्नो कुल देवताको रुपमा स्थापना गरेका थिए भन्ने स्थानिय जनश्रृति रहेको छ । अर्को भनाई अनुसार विलाशपूरका अन्तिम राजा कर्ण शाहीकी रानीले आफ्नो माइती सिंजाबाट दाइजो स्वरुप भैरवको मूर्ति ल्याई स्थापना गरेकी हुन् भन्ने भनाई पाईन्छ । मन्दिर आसपासमा विभिन्न देवीदेवताका मूर्तिहरु रहेका छन् । मन्दिर अग्लो स्थानमा अवस्थित हुनाको साथै विलाशपूरका अन्तिम राजाको रुपमा निर्मित दरवारको भग्नावशेष पनि रहेको छ । यहाँ वडादशैँ, तिज, चैते दशैँ मा ठूलो मेला लाग्ने गर्दछ ।मन्दिरका पूजारीहरु स्थानीय रेग्मी खलकका रहेका छन् । पर्यटकीय दृष्टिकोणले यस क्षेत्र राम्रो मानिनुका साथै यहाँ बाट दैलेख जिल्लामा रहेका स्थानहरु हेर्न सकिन्छ । अहिले वेलाशपूर मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको लागि बस्नलाई गार्डेन बनाईएको छ ।

भूर्तिका देवलहरु
नारायण नगरपालिका वडा नं. ६ स्थित भूर्ति गाउँमा ६ फिट देखि १५ फिट सम्मका शिखरशैलीमा अवस्थित २२ वटा देवलहरु रहेका छन् । निर्माणकालमा २५ वटा देवलहरु रहेतापनि हाल ३ वटा देवलहरुको अस्तित्व समाप्त भएतापनि २२ वटा देवलहरु मात्र रहेका छन् । दैलख बजारबाट यस स्थानमा पुग्न सवारीसाधनमा १५ मिनेट र हिडेर ३० मिनेटमा पुग्न सकिन्छ । जुम्लाका मल्ल साम्राज्यकाल अर्थात पन्धौ सताब्दीतिर खस राजाहरुबााट यस प्रकारका देवहरु निर्माण भएको पाईन्छ । स्थानियका अनुसार द्वापरकालमा पंञ्चपाण्डपहरुद्वारा देवलहरुको निर्माण भएको हो भन्ने गरिन्छ । देवलहरुमा रहेका ढुङ्गाहरुमा कलात्मक आकृति कुदिएका छन् । यी देवलहरुलाई पूरातत्व विभागले क वर्गमा वर्गीकरण गरेको छ । भने सन् २००८ मा विश्व सम्पदा सूचीको प्रस्तावित सूचिमा समावेश गरिएको छ । यी देवलहरुलाई हाल वरिपरि काँडेतार लगाई संरक्षण गरिएको छ । देवलहरुको नजिकै ढुङ्गेधारा पनि रहेको छ । आकर्षको रुपमा रहेको यी देवलहरु दैलेख जिल्लाको एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा रहेको छ ।

दैलेख गढी (कोत किल्ला )
कोत गढी दैलेख जिल्ला सदरमुकाम दैलेख बजारको पूरानो बजारमा अवस्थित एक ऐतिहासिक युद्ध कालको रुपमा चिनिने गढी हो । यो गढी बहादुर शाहको नायवीकालमा वाईसे राज्यहरुको एकिकरण अभियान अन्तर्गत वि सं. १८४६ तिर गोर्खाली सेनाले अत्यन्तै कलात्मक ढङ्गले निर्माण गरेका थिए भन्ने अभिलेख पाईन्छ । गढीको मूल ढोका त्रिकोण आकारमा रहेको छ । यस गढी भित्रबाट दैलेख जिल्लामा हेर्नको लागि १३ वटा प्वालहरु बनाईएका छन् । द्धन्दकालमा सैनिक ब्यारेको रुपमा रहेको यो गढी अहिले नेपाल प्रहरीको सुरक्षामा रहेको छ । यसलाई सुरक्षित राख्नको लागि बाहिरबाट काँडेटारले बारिएको छ । पूरातत्व विभागले यसलाई ख बर्गमा राखेको छ ।

महावु (शिवजी)
कालिकोट र दैलेखको सिमानामा पर्ने महावु आफैमा एक चर्चित ठाउँ हो । समुन्द्री सतहदेखि करिव ४१६८ मिटरको उचाईमा अवस्थित यस ठाउँमा ढुङ्गाबाट उत्पति भएको शिवलिङ्ग रहेको छ । जसको दर्शनको लागि प्रत्येक वर्षको साउनको महिनामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । किम्वदन्ती अनुसार शिव र पार्वतीको उत्पति भएको कैलाशको रुपमा प्रसिद्व यस ठाउँमा तिर्थयात्रीहरुले दर्शन गरेपछि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पूर्खाहरुका अनुसार दैलेख जिल्लाको भूर्तिका एक व्राह्मणका लाटा छोरा पाटनमा गई गाई भैँसी चराउन गएको समयमा निन्द्रा लागेपछि ढुङ्गामा गएर सुते त्यस समयमा शिवको दर्शन पाएपछि त्यस ढुङ्गामा दिनहुँ दुध चढाउनुपर्ने र उक्त कुरा कसैलाई नभन्नु भन्ने आज्ञापाएपछि त्यसै अनुसार गरेकोले उनी बोल्न र वेद पढ्न सक्ने भएको भनाई छ । त्यही ढुङ्गाबाट शिवको लिङ्ग जस्तो आकृति भएको ढुङ्गा अहिले पनि जस्ताको तस्तै रहेको छ । हिउँदको महिनामा यहाँ हिउँ पर्ने भएकाले सो क्षेत्र साहै रमणीय हुने गर्दछ । यहाँबाट जिल्लाका विभिन्न भागहरु तथा कालिकोटका केही भागहरुको अवलोकन पनि गर्न सकिन्छ ।

नौमूले
शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, तल्लो डुगेश्वर आदि पछिको छुट्टै पर्यटकीय बोके ठाउँ हो नौमूले । दैलेख बजारबाट १८ किलोमिटरको दुरीमा रहेको नौमूले ऐतिहासिक पृष्ठमूमि बोकेको ठाउँ हो । यस ठाउँमा पानीका नौमूल एकै ठाउँमा रहेकाले यसको महत्व निकै रहेको छ । वरिपरि अग्ला डाडाँहरु तथा विचको समथर भू–भागमा लोहोरे खोलाको किनारमा नौमूले बजार रहेको छ । द्धन्द्धका समयमा माओवादीको उद्गम स्थलको रुपमा चिनिएको यो क्षेत्र पर्यटकका लागि रमणीय स्थानको रुपमा रहेका छ । नौमूले बजारमा तिहार पछि ठूलो जात्रा लाग्ने गर्दछ । यसका अलवा दैलेख जिल्लामा रहेको द्धारी खोलाको झरना हेर्न यस ठाउँ भएर जान सकिन्छ ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • किन जादैनन बराह तालमा पर्यटक ?
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी