इतिहास बोकेको नुवाकोटको साततले दरवार



के.बी.मसाल
नेपालमा भित्रिने पर्यटकहरु हिमाल, जैविक विविधता र ताल मात्र होइन ऐतिहासीक स्थलमा समेत रमाउन थालेका छन । रसुवा जिल्लाको गोसाईकुण्ड, लाङटाङ पुग्ने धेरै पर्यटकहरु आजभोली नुवाकोटको साततले दरवार र देवीघाट समेत पुग्ने गरेका छन ।

नुवाकोट दरवारमा आजभोली पर्यटकहरु रमाउने गर्दछन । सरदमुकाम विदुरबाट ५ किलोमिटर नागवेली उकालो मोटरमा यात्रा गरेपछि नुवाकोट साततले दरवार पुगिन्छ । उत्तर–दक्षिण तेर्सिएको नुवाकोट दरबारको उचाइ ७५ फिट, लम्बाई ५० फिट र चौडाइ करिब ३९ फिट रहेको छ । धातुको छाना भएको यो दरबारका अरु सामग्री तेलिया इँटा र काठमा शूक्ष्म र विस्तृत कलात्मक शैलीमा कुँदिएको छ । झ्याल, ढोका, थाम, निदाल, दलिन, टुँडाल आदि काठबाट बनेका छन् । काष्ठकलामा भएको मार्मिकताले दरबारको सुन्दरतालाई मात्र बढाएको छैन, पुरातत्वको एउटा अनुपम उदाहरण पनि बनेको छ । दरवार परिसर करिब ९ सय ७० मिटर उचाईमा रहेको छ । जुन कारण दरवार परिसर प्राकृतिक भ्यु–टावर पनि बनेको छ । यहाबाट रानीपौवा, थानसिंङ फाट, ढिकुरेफाट, विदुर बजार, पिपलटार, बट्टार, सामरी भञ्ज्याङ, खड्क भञ्ज्याङ, जिलिङ लगायत दर्जनौ गाउँ र बस्तीहरु अवलोकन गर्न सकिन्छ । जुन गाउँ र भञ्ज्याङको बिचमा बग्ने त्रिशूली र तादी खोलाले सिगार दिएको छ ।

नुवाकोटको साततले दरवार पुगेपछि पर्यटकको हातमा भएको क्यामेरा घुम्न थाल्दछन । कसैले टाढाटाढाका प्राकृति सम्पदा र बस्तीका फोटा क्यामेरालाई जुम गर्दै फोटो लिन्छन । भने कसैले दरवादका फोटो र भिडिओ लिने गर्दछन । अहिले नुवाकोट दरबार दुई सय ५६ वर्ष पुरानो भएकोछ । बि.स.१८१९ सालमा पृथ्वीनारायण शाहले ललितपुरबाट वास्तुकलाका दक्ष कालिगढ झिकाएर यो दरबार निर्माण गरेका थिए । सुरुमा यो दरबार नौतले थियो । बि.स.१९९० सालको भुकम्पले दुई तला भत्किएर साततले हुन पुगेको थियो । नेपाल एकीकरण र इतिहासको परिचय बनेर उभिएको नुवाकोट दरबार आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र पनि हो । राष्ट्रिय संग्रहालय बनेपछि यो सर्वसाधारणका लागि खुला गरिएको थियो । मन्दिर शैलीको यस दरबारभित्र पृथ्वीनारायण शाहको शयनकक्ष, रानीको खोपी, भारदारकक्ष, कैदी थुन्ने कालकोठरी, पृथ्वीनारायण शाह र उनकी रानीले प्रयोग गरेका सामग्री तथा उनीहरुका जीवित छँदै बनेका मूर्ति छन् । यस्ता सामग्री अवलोकन गर्न थुप्रै बाह्य र आन्तरिक पर्यटक नुवाकोट दरवारमा पुग्दछन ।

नुवाकोटको साततले दरबार आखीझ्यालका लागि प्रसिद्ध मानिन्छ । यसका सबै तलामा आखीझ्याल छन । ती सबै कलात्मक रुपले खोपिएका र बु्टेदार छन । अरु झ्यालभन्दा तेस्रो तलाको झ्याल कलात्मक पर्यटकहरुको आखा लोभ्याउने खालका छन । दोस्रो र चौथो तलाका झ्यालमा प्रयोग गरिएका काष्ठकलाका नमुनाले पनि पर्यटकहरु आकर्षक हुन्छन् । चौथो तलाको बार्दलीका चारैतिर प्रयोग गरिएका आखीझ्यालका बुटटा हेर्न लायक छन । पाचौ र छैटौ तलामा प्रयोग गरिएका साना झ्यालहरु कलात्मक शैलिले बनाइएका छन । दरबारको छैटौ तलामा अध्यारो कालकोठरी पनि छ । कालकोठरी कोठा शत्रुहरुलाई थुन्न बनाइएको हो । सातौ तल्लाबाट चारैतिरका दृश्यहरु लेक–बेसी, पहाड, गणेश हिमाल, लाङ्टाङ हिमाल, राहुचुली, ऐतिहासिक सूर्य गढी, त्रिशुली बजार, तादी र त्रिशुली नदीको संगमस्थल देवीघाट लगायत धेरै परसम्मका प्राकृतिक मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

राजधानी संग जोडिएको नुवाकोट दरवारलाई लिने हो भने पृथ्वी नारायणको जीवनीको बारेमा धेरै कुरा जोडिएको छ । राजा पृथ्वीनारायण शाहले वि.सं.१८०१ देखि २४ बर्ष नुवाकोट मै बिताएका थिए । नुवाकोट दरबार परिसरमा भैरवी मन्दिर, तलेजु मन्दिर, नारायणको मन्दिर र कृष्णको मन्दिर रहेको छ । पुरातात्विकविद डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए । तर उपत्यकाका मल्ल राजाहरुको घमण्ड तोडनकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाएका हुन । यसरी बनाएको दरवार गृष्मकालिन रुपपमा प्रयोग गरी अर्को शीतकालिन दरबार शेरामा बनाएका थिए ।

नुवाकोट सास्कृितक रुपले पनि धनी मानिन्छ । उपत्यकामा प्रचलित मल्लकालिन सास्कृति मेला, पर्व, र जात्राहरु पनि नुवाकोटमा लाग्ने गर्दछ । अको तर्फ नुवाकोटमा पृथ्वी नारायाणकै पालामा पनि धेरै मठ मन्दिरहरु निर्माण भएका थिए । नुवाकोटका देवीदेवता, सांस्कृतिक रीतिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरबार, प्राचीन वस्तुहरु भूकम्पले ध्वस्त बनायो । तर, पनि यी स्थल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन । नुवाकोट दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्घ हुँदा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवीशक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास पनि छ । यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना र गजुर चढाएको थिए ।

सिन्दुर यात्रा
नुवाकोटमा भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रुपले आकर्षक मानिन्छ । देवी जात्रा अर्थात सिन्दुरे जात्रालाई आन्तरिक पर्यटक मात्र होइन विदेशि पर्यटकहरुले समेत रुचिका साथ हेर्ने गर्दछन । भैरवीको सिन्दुर यात्रा प्रत्येक बर्ष चैत्रशुक्ल पूर्णिमाका दिन हुने गर्दछ । यो जात्रा फागु पूर्णिमादेखि शुरु भएर महिना दिन सम्म चलिरहन्छ । फागु पूर्णिमाको दिनदेखि जात्राको तयारी हुनेहुदा पुजारीहरुले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेसीबाट फर्कन्छन् ।

सिन्दुरे जात्राका लागि धामी अर्थात भैरवी मन्दिरका पुजारी र धमिनीका साथै द्वारे अर्थात सरकारका प्रतिनिधि कुमार, गणेश तथा गुठियारहरुको व्यवस्था हँुदै आएको छ । वि.सं.१८०१ मा नुवाकोट विजय गर्नुअघि यहाँ ‘हाकुद्यो’ नाम गरेका धामी थिए । हालका धामी हरिमानसिं डंगोल उनका बाह्रौं पुस्ताका हुन् । धामीले राष्ट्रप्रमुखको अनुमतिबिना नुवाकोटको त्रिशूली, सामरी, तादी, लिखु नदी पार गर्न नहुने प्रचलन छ । यो प्रचलन मल्लकालीन समयभन्दा अघिदेखि रहदै आएको हो ।

चैत्र शुक्ल पूर्णिमाका दिन बेलुका धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधिबाट शुरु हुन्छ । बन्दुक पडकेको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई विशेष पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि वेशभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्वारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक विधिद्घारा बज्राचार्यले मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ ।

त्यसपछि बज्राचार्यद्वारा धामीधमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ । धामीधमिनी देवीको रुप धारण भइसकेपछि काँप्न थाल्छन् । भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी झम्टिन्छन् । यसपछि मन्त्रोन्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् । महाबलिको कार्य सम्पन्न भइसकेपछि बूढी भैरवी (देवी भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एकवटा लिंगो गाडने गरिन्छ । लिंगो गाडने बेलामा धामी खाल्टोसँगै भैरवीको रुप धारण गरी आसन जमाएर बसिरहनु पर्छ । यो अवधि धामीका लागि कष्टकर हुन्छ । यो लिंगोहरु वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ ।

प्रतिपदाको दिन धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरवारको बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । हाल साततले दरबार भूकम्पले क्षति पुगेर टेकोको भरमा अडयाएर राखिएकाले दरबार बाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीहरुलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धामीधमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजा साथ धामीधमिनी र गणहरुलाई तलेजु मन्दिरतर्फ लगिन्छ ।

तलेजु भवानी भूकम्पले तहसनहस बनाएपछि र बर्खाको पानीले ढलेको छ । यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि देवीघाट अर्थात जालपा मन्दिर तर्फ प्रस्थान गर्छन् । देवीघाट ऐतिहासिक स्थल हो जहा पृथ्वी नारायण शाहको दाहसस्कार गरिएको थियो । जालपादेवी अर्थात देवीघाट यात्रामा खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरु राखिएका हुन्छन् । यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैंचा हुँदै देवीघाटमा पु¥याइन्छ । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ ।

धामीबाट भविष्यवाणी
देवीघाटमा देवता चढेका धामीबाट नयाँ सालको भविष्यवाणी हुन्छ । यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलकलाई मात्र हुन्छ । उल्लेखनीय वाणीलाई पहिले राजदरबारमा द्वारे मार्फत पु¥याइन्थ्यो भने हाल राष्ट्रप्रमुखसमक्ष पु¥याउने गरिन्छ । देवीघाटको मेला सकिएपछि धामीधमिनीलगायत अन्य गणहरु बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट दरवारमा फर्कन्छन । नुवाकोटको धरमपानीमा पुगेपछि धामीधमिनीको पूजा गरिन्छ र भोज खुवाइन्छ । भोलिपल्ट अथवा द्वितीयाको दिन दिउँसो सरकारी कार्यालय प्रमुखहरुको उपस्थितिमा निशान झन्डा, भैरवी र तलेजु भवानीलाई सलामी बढाइँ दिइन्छ ।

तलेजुको कार्यक्रम सकिएपछि रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामीधमिनी आफ्नो निवासमा भित्रिन्छन् । भोलिपल्ट डबलीमा धामीलाई विशेष भोग ख्वाउने गरिन्छ । देवताको रुप धारण गरेका धामीले राँगा, बोकाका रगत पिउँछन् । रगत पिउन लाग्दा धामी रुप डरलाग्दो देखिन्छ । सिदर जात्रा हेर्न दिेशि पर्यटक मात्र नभएर छिमेकी जिल्लाहरुबाट समेत आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गदृछ ।

काठमाण्डौबाट नुवाकोट जादा बाटोमा पर्ने ककनी र रानीपौवाले पर्यटकहरुको मनै लोभ्याउछ । रानीपौवाबाट रसुवा जिल्लाको लामटाङ हिमाल मात्र होइन रसुवा जिल्लाको दक्षिण भेगमा पर्ने राम्चे, कालिकास्थान, जिवजिवे, धैवुङ, लहरेपौवा जस्ता दर्जनौ गाउका बस्ती र पहाडी श्रृखलाको दृष्य देख्न सकिन्छ । यतिमात्र होइन रानीपौवाबाट नुवाकोट जिल्लाको अधिकांश भूगोल र धादीङ जिल्लाको बुधसिङ, तारुका लगाएत दर्जनौ गाउँहरु पनि देख्न सकिन्छ ।
लामो समय लिएर नुवाकोट घुमघाम गर्न निसकेका पर्यटकहरुले ककनी चिर्केश्वर डाडा, बागमारा सागर कुण्ड भाल्चेको भेडा फार्म चिसापानी माला भञ्ज्याङ काला भञ्ज्याङ, गोल्फु भञ्ज्याङ जस्ता रमणिय स्थलहरु पनि पर्यटकहरुको गन्तब्य भएको छ । प्रकृती प्रेमीहरुको लागि बागमारा नजिकै पर्ने सागर कुण्ड र राहुचुली नुवाकोटको अर्को आकर्षक प्राकृतीक सम्पदा हो । राहुचुलीबाट काठमाडौं उपत्यकाका अधिकांश भाग र नुवाकोटको पूरै भाग देख्न सकिन्छ ।

ट्राउट माछाको स्वाद
नुवाकोट घुमघाम गर्दा खान बसनको कुनै समस्या छैन । ठाउ ठाउमा होटल लज र रिसोर्ट समेत खुलेका छन । नुवाकोट ट्राउट उत्पादनका लागि अग्रणी जिल्ला हो । पछिल्लो समय काठमाडौं त्रिशुली सडक खण्डको ककनी, मदानपुर, सुनखानी, काउले, भाल्चे, मनकामना, बेलकोट, बालकुमारी लगायत गाउँमा व्यावसायिक ट्राउट माछा पालन गरेका छन । ट्राउट माछाको स्वाद लिन चाहनेको लागि पनि नौलो अनुभव हुन्छ । कृषिका विद्यार्थी र किसानका लागि ककनी र ओखरपौवा पुग्नै पर्ने ठाउ हो । स्ट्रेबरी, ट्राउट माछा, च्याउ र मुला ककनी र ओखरपौवा राम्रे उत्पादन हुन्छ ।

नुवाकोटको नाम
गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोटय, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुदै नुवाकोट रहन गएको हो । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको मानिन्छ । सल्यानकोट र धुवाकोट २०१९ सालमा जिल्ला विभाजन हुदा धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेको र बाकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट अहिले नुवाकोट जिल्लामा रहेको छ ।

नुवाकोट जाने बाटो
पृथ्वी राजमार्गमा पर्ने धादीङ जिल्लाको वैरेनी देखि विदुर सम्मको ३० किलोमिटर मोटर मार्गको यात्रामा सदरमुकाम विदुर पुग्न सकिन्छ । तराईबाट नुवाकोट जाने पर्यटकहरुको लागि यो बाटो छोटो पर्दछ । काठमाण्डौबाट नुवाकोट जानको लागि नयाँ बसपार्कको माछा पोखरीबाट बस पाइन्छ । ककनी, रानीपौवा हुदै ७० मिलोमिटरको यात्रामा नुवाकोट पुग्न सकिन्छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी