
होमस्टे (घरबास) एशोसिएसन नेपाल (होसान) ले होमस्टेको निति निर्माण गदै अन्तराष्ट्रीय बजारमा चिनाउन सुर्खेतमा तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
बिहिबार सुर्खेतमा पत्रकार सम्मेलन गरि होसानले फाल्गुन २८, २९ र चैत्र १ गते देशैभरका होमस्टेकर्मीहरुको सहभागितामा होमस्टेहरुको सेवाको गुणस्तरीतामा वृद्धि, एकरुपता, प्रवद्र्धन, विकास, बजारीकरण एवं हक हितका कार्यक्रम सञ्चालन गर्दै नेपालको ग्रामीण पर्यटन विकास गर्ने उदेश्यले सुर्खेतमा तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीको आयोजना गरिएको कोषाध्यक्ष सुरज बास्तोलाले बताउनुभयो ।
पर्यटन व्यवसायलाई सिमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, साँस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न, गरिबी निवारण गर्न, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न र दिगो जीविकोपार्जन गर्न लगायत सम्पूर्ण देशकै विकास गर्न होमस्टे कार्यक्रमले नेपालका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने होसानले विश्वास लिएको छ ।
कार्यशाला गोष्ठीमा नेपालको राष्ट्रिय होमस्टे निति निर्माण गर्न, होमस्टेमैत्री प्रदेश स्तरीय होमस्टे कार्यविधि निर्माणका लागि पहल गर्न, अन्तराष्ट्रीय पर्यटन बजारमा नेपालको होमस्टेलाई परिचित गराउने, होमस्टे दर्ता, सञ्चालन एवम् निरिक्षण गर्ने कार्यमा समय सापेक्ष विकास गर्न तथा कोभिड १९ पछिको ग्रामिण पर्यटन र होमस्टेको अवस्थाको समिक्षा गर्दै समस्या र समाधानको विषयहरु निक्र्योल गर्ने जनाईएको छ ।
“प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान , समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान” का साथ होसानले अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा २०७२ फागुन ७ – ९ गते प्रथम राष्ट्रिय कार्यशाला गोष्ठी, पिप्रहर सामुदायिक होमस्टेमा २०७५ माघ १८ – २० गते दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरिसकेको छ ।