
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा पर्यटन क्षेत्रका लागि विभिन्न योजनाहरु बनाई बजेट विनियोजन गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८२्८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेका छन् । पर्यटन क्षेत्रका लागि परेका योजनाहरु यहाँ उल्लेख गरिएको छ ।
छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी विशेष प्याकेज सञ्चालन
पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ्ग गरिनेछ। छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिनेछ ।
पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन
पर्या-पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा विस्तार गरिनेछ। प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ । स्थलमार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिनेछ ।
पर्यटकीय गन्तव्यको विकासमा सरकारी स्वामित्वको जमिन लिजमा दिने
पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ। राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या-पर्यटकीय पूर्वाधार विकासमा जोड दिइनेछ । प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेशन, होटल, लज, रिसोर्ट लगायतका पर्यटन पूर्वधार निर्माणका लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था गरिनेछ ।
निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन
निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या पर्यटन पदमार्गहरूको विकास गरिनेछ। शुक्लाफाँटा- खप्तड, बर्दिया-रारा, लुम्बिनी-मुक्तिनाथ, सौराहा-गोसाईंकुण्ड, जनकपुरधाम- कालिञ्चोक, कोशीटप्पु-सगरमाथा र केचना-पाथिभरा पदयात्रा सञ्चालन गरिनेछ । त्यसैगरी खप्तड, रामारोशन, वडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या-पर्यटन पदमार्ग विकास गरिनेछ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइनेछ।
होटल तथा रिसोर्टलाई आयकर र विद्युत महसुलमा छुट
होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत महसुल छुट दिइनेछ । होटल, मोटल, रेष्टुरेन्ट, जङ्गल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिनेछ ।
प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास र सन्ध्याकालीन सम्पदामार्गकाे विकास
सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गरिनेछ । लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिनेछ। स्वयम्भुनाथ, हनुमानढोका, पशुपतिनाथ र वौद्धनाथ क्षेत्रमा सन्ध्याकालीन सम्पदामार्ग विकास गरिनेछ ।
पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकका आकर्षक स्थलहरूमा पर्यटन पूर्वाधारको विकासमा जोड
पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकका आकर्षक स्थलहरूमा पर्यटन पूर्वाधारको विकासमा जोड दिइनेछ। कर्णाली, भेरी, गण्डकी, त्रिशुली, कोशी लगायतका प्रमुख नदीहरूमा -याफ्टिङ लगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।
आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने
नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याई संस्थागत सुदृढीकरण गरिनेछ। आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिनेछ । आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाइनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी वुटिक विमानस्थलमा विकास गर्न रु. ४ अर्ब १५ करोड विनियोजन गरेको छु । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिनेछ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकको लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइनेछ । यस विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने
नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइनेछ । वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।
आन्तरिक विमानस्थलहरूको पूर्वाधार विकासका लागि रु. ५० करोड
झापाको भद्रपुर, दाङको टरिगाउँ र ताप्लेजुङ्गको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिनेछ । सुर्खेतमा प्रादेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण कार्य थालनी गरिनेछ। तेह्रथुमको चुहानडाँडा, डडेल्धुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ। आन्तरिक विमानस्थलहरूको पूर्वाधार विकासका लागि रु. ५० करोड छुट्याएको छु।
उडान चाप कम भएका आन्तरिक विमानस्थलहरूमा हवाई उड्ययनसम्बन्धी तालिममा प्रयाेग गरिने
उडान चाप कम भएका आन्तरिक विमानस्थलहरूको वैकल्पिक प्रयोग योजना बनाइनेछ। निजी क्षेत्रसँगको साझेदारीमा यस्ता विमानस्थललाई हवाई उड्ययनसम्बन्धी तालिम तथा प्याराग्लाइडिङ्ग, प्यारासुट, अल्ट्रालाइट, स्काइडाइभिङ्ग जस्ता साहसिक पर्यटनमा प्रयोग गरिनेछ। नयाँ आन्तरिक विमानस्थलको निर्माण र विस्तार गर्दा आर्थिक तथा व्यावसायिक सम्भाव्यतालाई मुख्य आधार बनाइनेछ ।
ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका अभिलेखहरूको डिजिटल आर्काइभीङ्
नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्त्विक सम्पदाको संरक्षण गरिनेछ। अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनि ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण गरिनेछ। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका अभिलेखहरूको डिजिटल आर्काइभीङ् गर्न आवश्यक बजेट छुट्याएको छु ।