काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएको पर्यटन बाेर्डले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन ३८४ जनामध्ये २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक छन्।
विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनीबाट प्राप्त विवरणका आधारमा सूची तयार गरिएको हो। बोर्डले सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरण पुनः जाँच भइरहेको जनाएको छ।
बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा ठूलो क्षति पुगेको छ। सडक, पुल, बस्ती तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा आवतजावतसमेत कठिन बनेको छ। भोटेकोशी नदीको बहाव अत्यधिक बढेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा सम्राट टुर्स एन्ड ट्राभल्सका ७१, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७, लिफ होलिडेका ५५, कैलाश जर्नीका ३१, एक्सप्लोर भ्याकेसनका ७, ट्रेकर्स सोसाइटीका ९२, रिचा टुर्स एन्ड ट्राभल्सका १२, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७, हिमालयन ग्लेसियरका ५२ र अल्पाइन इको ट्रेकका २० जना छन्। विदेशी नागरिकतर्फ भारतका पर्यटकको संख्या उल्लेख्य छ।
नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी, उद्धार र उनीहरूको अवस्थाबारे जानकारी संकलनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।


