नयाँ वर्ष आउनासाथ हामीले घुम्ने योजना बनाउदछौँ । नेपालमा घुम्ने ठाउँहरु धेरै नै छन् । तर घुम्ने ठाउँहरुको सम्प्रर्ण जानकारी नहुँदा हामी कहाँ जाने भनेर अलमलिरहेका हुन्छौँ । परिवार तथा साथीभाइसँग घुम्न जाने ठाउँबारे प्रष्ट रुपमा थाहा नपाउदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था आउन् सक्छ । त्यसैले नयाँ वर्ष २०७८ सालमा गण्डकी प्रदेशमा घुम्न जाँदै हुनुहुन्छ भने हामीले प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुका बारेमा आवश्यक जानकारी पस्किएका छौंः
पोखरा
गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानिको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै हुनुहुन्छ भने पोखरामा रहेका फेवाताल र बेगनास, माछापुच्छ्रे हिमालको दृश्य, विन्ध्यवासिनीको मन्दिर, शहरको बीचबाट साँगुरो र गहिरो भएर बगेको सेती नदी, महेन्द्र गुफा र डेबिड फल देख्न सक्नुहुन्छ । नेपालको प्रमुख पर्यटन केन्द्रको रूपमा प्रसिद्धि पोखराको अवलोकन भ्रमणलाई नेपाल आउने विदेशी पर्यटकहरूले पनि ठूलो प्राथमिकता दिने गरेका छन् । यो ठाउँ जानको लागि सिद्धार्थ राजमार्ग को बुटवल, तानसेन हुदै पोखरा पुग्न सकिन्छ भने पृथ्वी राजमार्ग काठमाडौँ, मुगलिङ हुदै पोखरा पुग्न सकिन्छ । हवाई मार्ग हुदै पनि पोखरा पुग्न सकिन्छ ।
मुस्ताङ (मार्फा, कागवेनी र मुक्तिनाथ)
आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र हो मुस्ताङ । गण्डकी प्रदेशको मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा धेरै जसो आन्तरिक तथा वाह्य पर्यटक घुम्न जाने गर्दछन । यस ठाउँमा पुग्ने अधिकाश बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ अर्थात् लोमाङथाङ जाने गर्दछन् । मुस्ताङमा घुम्न जाँदै हुनुहुन्छ भने मार्फा नछुटाउनुहोस यहाँ वरिपरि पहाडले घेरिएर बिचमा गुजुमुजुक्क परेको यो गाउँ निकै सुन्दर छ । यस्तै अर्को ठाउँ दुई खोला बिचमा रहेका कागबेनी पनि निकै राम्रो छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको यो पवित्र तीर्थस्थल पनि हो । प्राकृतिक सुन्दरताको हिसाबले यो निकै राम्रो छ । यो ठाउँ अन्नपुर्ण पदमार्ग अन्तरर्गत पर्दछ । यस ठाउँमा ७०० बर्ष पुरानो काग छोंदे थुप्तेन साम्फेल लिड गुम्बा छ । यो ठाउँमा जानको लागि मुस्ताङ पुग्नलाई पोखरादेखि जोमसोमसम्म हवाईजहाजको यात्रा गर्नुपर्छ । त्यसपछि पैदल बाट जान सकिन्छ भने जिप पनि चल्छ । जोमसोमदेखि ३० मिनेटमा मार्फा पुग्न सकिन्छ । मार्फादेखि कागवेनी डेढ घन्टा लाग्छ ।
अन्नपूर्ण पदमार्ग
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दछ । यसको प्रदेशद्धार लमजुङको बेंसीसहर बाट सुरु हुदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाड जिल्लाको ताल, बगरछाप,चामे, थोरङपास हुदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ ।
घोरेपानी – अन्नपूर्ण आधारशिविर
धौलागिरी हिमाल नजिकैबाट हेर्ने उपयुक्त स्थान हो घोरेपानीको पुनहिल । अन्नपूर्णको आधारशिविर पुग्न वाह्य तथा आन्तरिक पर्यटक यस घोरेपानी पुनहिलको पदयात्रा गदै पुग्ने गर्दछन् । तर, पछिल्लो समय नेपाली युवाहरुको पनि आकर्षणा यस क्षेत्रमा परेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । घोरपानीबाट आधा घण्टा उकालो हिँडेपछि पुग्न सकिन्छ पुनहिल । घोरपानी हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ । अन्नपूर्ण हिमाल लगायत दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । यो विशेषगरी स्वदेशी युवाहरुको गन्तब्य स्थल हो । पुनहिलबाट टाढापान, छोमरोङ्ग, हिमालय होटल हुँदै अन्नपुर्ण आधारशिविर पुग्न सकिन्छ । यहाँ पोखराबाट पुनहिल हुँदै घोरेपानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरेपानी पुगिन्छ । तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ ।
बाग्लुङकालिका मन्दिर
बाग्लुङ जिल्लाको सदरमुकाम बाग्लुङ बजारदेखि पूर्वमा कालीगण्डकी र काठेखोलाको सङग्मको उच्च समस्थली (टार) हात्तीसडँुे जङग्लभित्र कालिका देवीको मन्दिर छ । यो मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोको रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति नै मन्दिरमा स्थापना गरिएको हो भन्ने जनश्रुति छ । धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरमा विशेष रुपमा चैत्र अष्टमिका दिन विशेष पुजा गर्ने गरिन्छ । धार्मिक पर्यटनको रुपमा रहेको यो मन्दिर जानको लागि सहज रुपमा गाडि पाईन्छ ।
बन्दीपुर
ग्रामीणा पर्यटन तथा एक सुन्दर बस्तिको रुपमा रहेको बन्दीपुर धार्मिक तथा प्राकृतिक दृष्टिले रमणीय स्थल मानिन्छ । यहाँ छिम्केश्वरी मन्दिर, खड्गदेवी मन्दिर, गुफा छन् भने बन्दीपुरको मिश्रित ग्रामीण संस्कृति, उत्तरतर्फको मस्र्याङ्दी उपत्यका हिमाली पर्वतशृङ्खला, ससाना पर्वत चुचुराहरू, गणेश हिमाल, माछापुच्छ«्रे आदि हिमशृङ्खलाको मनोरम दृश्यालोकन यहाँबाट गर्न सकिन्छ । बन्दीपुरबाट पदयात्रा सुरू गरी देवघाट हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुगिने हुँदा पनि यसको पर्यटकीय महत्व बढेको छ ।
मनकामना देवी मन्दिर
गण्डकी प्रदेशको गोर्खा जिल्लामा अवस्थित मनकामना दवी मन्दिर एक धार्मिक पर्यटकीय स्थल हो । यस मन्दिरमा दुर्गा भवानीको मूर्ति राखिएको छ । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । भने, सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा जाने गर्दछन् । यस ठाउँमा पुग्न केवलकार चढेर पुग्न सकिन्छ । यदि पैदल यात्रा गरेर पनि जान चाहानुहुन्छ भने आँबुखैरेनी मस्र्याङदी नदीको सानो पुल तरेर करिब ४ घण्टाको उकालो हिडेपछि मनकामना मन्दिर पुग्न सकिन्छ ।
ल्हो मन्थाङ (मुस्ताङ)
दुरीको हिसावले टाढा तर ग्रामीण पर्यटनको लागि महत्वपूर्ण पर्यटकीय स्थल हो ल्हो मन्थाङ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा अवस्थित ल्हो मन्थाङ समुद्री सतहदेखि करिब १२००० फिटको उचाइमा अवस्थित एक गाउँ हो । यो गाउँ किल्ला वा पर्खालभित्रको शहर भनी चिनिएको छ । यस ठाउँमा ल्हो मन्थाङ् चारैतिर स–साना सुख्खा डाँडाहरूले घेरिएको उब्जाउ योग्य समथर रहेको छ। पन्ध्रौँ शताब्दीतिर स्थापित यो बस्ती प्राचीन ल्हो राज्यको राजधानी पनि हो । ल्हो मन्थाङ्को आकर्षण पुरानो दरबार र पुराना ३ वटा गुम्बाहरू नै हुन् । सन् १३८७ मा राजा अमेपालले स्थापना गरेको अतिप्राचीन झम्पा गुम्बाका भित्ताहरूमा चित्र र अक्षरहरू स्वर्णाक्षरद्वारा अङ्कित गरिएकोले अति आकर्षक र महत्वपूर्ण मानिन्छ ।
घलेगाउँ
पछिल्लो समय ग्रामीण पर्यटनको रुपमा लमजुङ जिल्लास्थित घलेगाउँ होमस्टेका प्रसिद्ध रहेको छ । यस ठाउँबाट मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े, लमजुङ हिमाल शीरको टोपीजस्तै देखिन्छन् । यस ठाउँमा हेर्नको लागि चियाबगान, भेडीखर्क, उत्तरकन्याको मन्दिर रहेका छन् । घले गुरुङको आत्मीय आतिथ्य र घाँटु नाँचको प्रदर्शनले स्वदेशी र विदेशी पर्यटकलाई मोहीत गराउँछ । घलेगाउँको होमस्टे पार्क मुलुककै उत्कृष्ट मानिन्छ ।
सिरुबारी
होमस्टेको सुरुवात भएको ग्रामीण पर्यटकीय स्थत सिरुबारी एक पर्यटकीय स्थल हो । स्याङ्जाको पञ्चमुल मा पर्ने सिरुबारी ’होमस्टे’ का रुपमा प्रख्यात छ । गुरुङ जातीहरुको संस्कृती भएको गाउँले परिवेशको सिरुबारीमा आन्तरिक पर्यटकहरुबो भिड लागि रहन्छ । यहाँ पुग्ने पर्यटकहरुलाई बुढापाकाले छोरा–नाती जस्तै माया र सत्कार गर्छन । पाहुना सत्कार गर्ने राम्रो शैली छ यहाँ । हिँडेर आउनेलाई गाउँको मुखैमा र बसमा आउनेलाई बसपार्कमा उनीहरू स्वागत गर्छन । गुरुङ पहिरनमा सजिएका महिला र पुरुषले फूलमाला लगाइदिन्छन भने दलित समुदायले पञ्चै बाजा बजाउँछन । यस ठाउँमा पुग्नलाई पोखराबाट गाडी पाइन्छ ।