साहसिक पर्यटनको लागि गज्जब छ प्रदेश एक
प्रमोद चौलागाई
प्रदेश नम्बर १ अन्य प्रदेशको तुलनामा पर्यटनमा अबल छ । यसका अलवा यो प्रदेश कृषि, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश नम्बर १ सबैभन्दा अगाडि छ । यहाँको शिक्षाको स्तर उच्च छ ।
पर्यटनको अपार सम्भावना छ र कृषिको आधुनिकीकरण गर्ने हो भने झापा, मोरङ र सुनसरीले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ । प्राकृतिक स्रोत साधनका हिसाबले सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो स्थान झापाको कचनकवल पनि यही प्रदेशमा पर्दछ । धार्मिक हिसाबले १ नम्बर प्रदेशमा पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेंसी महादेव र चुरे–तराइ क्षेत्रमा रहेको बराहक्षेत्र, पिण्डेश्वरीलगायतका हिन्दु धर्मावलम्बीको तीर्थस्थल छन् ।
मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको यस प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलांचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगवनी तथा भण्टाबारी नाका चर्चित नाका हुन् । उत्तरका नाका चालू अवस्थामा नभए पनि दक्षिणका नाका अहिले चालू छन् । १ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाँडीडाँडा र खामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल छन् । काठमाडौं र विराटनगरबाट यी सबै ठाउँमा हवाइ उडान भइरहेको छ । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने तयारी भइरहेको छ ।
यसका साथै पूर्व–पश्चिम राजमार्ग, वीपी कोइराला राजमार्ग र निर्माणाधीन मध्य पहाडी राजमार्ग राजधानी पुग्नका लागि सडक हुन् । चतरार्मा याफ्टिङको रौनक, कोशीटप्पुको जंगल सफारी ।पूर्वी नेपालको पहाडी प्रवेशमार्गका रुपमा परिचित सुन्दर नगरी धरान प्रदेश नम्बर १ को साहसिक पर्यटनको समेत प्रवेशद्वार बन्न थालेको छ ।
साहसिक पर्यटनर्मा याफ्टिङ, प्याराग्याइडिङ मात्रै हैन माउन्टेन बाइकिङको समेत प्रदेश १ मै सबैभन्दा पहिलो व्यवसायिक सञ्चालन धरानबाटै भएको छ । अरु त अरु, हाल बन्दको अवस्थामा रहेको कोशीटप्पुको जंगल सफारी पनि धरानबाटै सञ्चालन भएको हो ।
याफ्टिङ
धरानमा रहेको तमोर रिभर याफ्टिङ का लागि उपयुत्त ठाउँ हो । यहाँ याफ्टिङ गर्नको लागि नेपाली पर्यटकहरु तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पढ्ने भारतीय विद्यार्थीहरु आउने गर्दछन । यस्तै झापाका भुटानी शरणार्थी शिविरका लागि काम गर्ने पश्चिमा पाहुनाहरु पनि याफ्टिङ गर्न आउने गर्दछन् । प्रदेश एक याफ्टिङका लागि उपयुक्त ठाउको रुपमा धनकुटाको मुलघाटबाट सुनसरी र उदयपुरको सीमानामा पर्ने चतरास सम्म याफ्टिङ गर्न उपयुक्त हुन्छ । त्यसैगरी ताप्जेजुङको दोभान हुँदै चतरासम्म र संखुवासभाको तुम्लिङटार हुँदै अरुण नदीबाट चतरासम्र्म याफ्टिङ गर्ने गरिएको छ । ओखलढुंगाको हर्कपुर हुँदै सुनकोशीबाट चतरासम्मको याफ्टिङ पनि गर्न सकिन्छ ।
भेडेटारबाट प्याराग्याइडिङ
प्रदेश नम्बर एक को अर्को साहसिक खेल हो प्याराग्याइडिङ । भेडेटारबाट धरानसम्म प्याराग्लाइडिङ गर्न सकिन्छ । यस्तै प्याराग्लाइडिङका लागि प्रयोगमा आएको चिन्डेडाँडा समुन्द्र सतहदेखि ४८० मिटरको उचाइमा छ भने भेडेटारको उडानस्थल १२५० मिटरको उचाइमा छ । यहाँ प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक तथा सीमावर्ति बिहारका पर्यटकहरु आउने गर्दछन् । यसका अलवा पूर्व घुम्न आएका केही चिनियाँ र पश्चिमाहरुले पनि धरानको आकासमा प्याराग्लाइडिङ गर्ने गरेका छन् ।
माउन्टेन बाइक
प्रदेश नम्बर एक को अर्को साहसिक खेलका रुपमा माउन्टेन बाइक रहेको छ । यस प्रदेशमा धरान हुँदै पूर्वी तराई र पूर्वी पहाडका विभिन्न रुटहरुमा माउन्टेन बाइकिङ चलाउने गरिन्छ । बाइकमै धरानबाट इटहरीको तालतलैया, बक्लौरीको रास ताल, सप्तकोशी नदी र मोरङको सहिना तथा बेतना सिमसार घुम्ने गरिन्छ । लामो रुटको रुपमा धरानबाट धनकुटाको हिले, तेह्रथुमको चौकी, संखुवासभाको गुफापोखरी, ताप्लेजुङको दोभान, पाँचथरको राँके, इलामको फिक्कल तथा कन्याम हुँदै मोरङको बेतना र सुनसरीको तातलैया भएर धरान आउने गरिन्छ ।
कोशीटप्पुको जंगल सफारी
प्रदेश एक को अर्को साहसिक खेलमा जंगल सफारी पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षपछि पूर्वकै पहिलो जंगल सफारीको रुपमा रहेको भए पनि यो अहिले बन्द अवस्थामा रहेको छ । नेपालको सबैभन्दा ठूलो नदी कोशी किनारमा रहेको दक्षिण एसियाको चरा भण्डार एवं अर्ना, डल्फिन र साइबेरियाका आप्रवासी घुमन्ते चराको गन्तव्यका कारण कोशी टप्पु चर्चित छ । चर्चित कोशी टप्पुको जंगल सफारी पनि चर्चित नै रहेको छ ।