तेह्रथुमको चोलुःङ पार्कमा फुलेको गुराँसले पर्यटकलाई स्वागत गरीरहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पार्कमा फुलेको गुराँससँग रहेको मनोरम वातावरणमा रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै बनेको छ ।
तिनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्वारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ । गुराँसको राजधानी (टिएमजे) को तल्लो क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै पर्यटक आउन थालेका हुन् । गुराँस फुल्ने सिजन सुरु भएसँगै यहाँका होटल व्यवसायी समेत पर्यटकहरुको स्वागत सत्कारका लागि आतुर बन्न थालेका छन् ।
फागुन दोस्रो हप्तादेखि वैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । कोरोना महामारीका कारण थलिएको पर्यटन व्यावसाय बिस्तारै फस्टाउन थालेको छ । विगतमा भन्दा यसवर्ष अधिक मात्रामा हिउँ परेसँगै पर्यटकको चाप बढ्न थालेको हो । हिउँमा रमाएका पर्यटकको चाप सेलाउन नपाउँदै गुराँस फुलेपछि थप आकषर्णले तान्न थालेको छ । गुराँसको रंगिन वनसँगै रमाउन काठमाडौंदेखि चोलुःङ पार्क जीवन श्रेष्ठ श्रीमतीसँग पुगेको बताए । उनी भन्छन्, “गुराँस फुलेपछि श्रीमतीसँग घुम्न आएको छु । गुराँस फुलेको बोटमा फोटो लिन पनि पालो कुर्नुपर्छ ।”
बसन्तपुरको चोलुःङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथिभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतिबेला भने यस क्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेगतर्फ गुराँस फुल्न थालेको छ । गुराँससँगै प्राकृति सुन्दरतामा पर्यटक रमाइरहेका छन् । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन पर्यटकको चाप हुन्छ ।
गुराँस फुल्न सिजन सुरु भएपछि पारिवारिक घुमघामको लागि झापाबाट चोलुःङ पार्क आइपुगेको डिल्लीरमण पौडेलले बताए । “गुराँस फुलेको फोटोमा देख्यौं र हामी परिवारसहित घुम्न आएका हौं” उनले भने । पर्यटकको चहलपहल बाक्लिन्दै जाँदा यहाँको आर्थिक गतिविधिसमेत बढ्न थालेको छ । यहाँका होटल पनि यतिबेला भरिभराउ हुन थालेका छन् ।
विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस यस क्षेत्र पाइने गरेको छ । गुराँस संरक्षणका लागि यहाँका स्थानीय वन उपभोक्ता समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । गुराँस १ हजार ५ सय मिटरदेखि ५ हजार ५ सय मिटरसम्मको उचाइमा पाइन्छ । यो क्षेत्रमा प्रदेशक १ का पहाडी तथा तराईका जिल्ला एवम् काठमाडौ र भारतबाट पनि पर्यटक आउने गरेका छन् । आजकाे काराेबार दैनिकमा समाचार छ ।
गुराँसले पर्यटक आकर्षित
२०७८ चैत्र ७, सोमबार
© 2024, सर्वाधिकार सुरक्षित Tourism News
Made with ❤️ By Gorkhaly Labs