जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरूलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरूलाई पनि आवतजावतका लागि सहज बनेको हो ।
२०७८ चैत १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअलरूपमा सीमापार रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति हेतु भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो ।
गत चैतबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरूलाई सहज बनेको छ । साथै नेपालबाट भारत जाने र आउनका लागि पनि रेल मार्ग सहज बनेको यात्रुहरूको भनाइ छ ।
रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरूका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरू बताउँछन् । भारतीय पर्यटक सुमन भिवाले नेपालमा घुम्न आउँदा रमाइलो महसुस भएको बताए । उनले रेल सञ्चालन हुँदा पहिलेको तुलनामा यात्रा धेरै सहज भएको प्रतिक्रिया दिए ।
अर्की भारतीय यात्रु सरिताकुमारीले नेपाल र भारत रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको बताइन् । उनले दिनमा दुईपटक मात्रै चल्ने भएकोले यसलाई अझै बढाउन आग्रह गरिन् । रेलको यात्राले समयसँगै खर्च पनि कम भएको उनको भनाइ छ ।
रेलको टिकट विक्रेता सन्तुकुमार यादवले पछिल्लो समय यात्रुहरूको चाप बढिरहेको बताए । उनले यात्रुहरूको चाप धान्न रेलहरू थप्नुपर्ने बताए । उनका अनुसार भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा छन् ।
सरकारले रेल चलाउने गरी २०७८ चैत ८ गते तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो ।
३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ पुसबाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर, गत वर्षको चैतबाट रेल पुनः सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।