एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पर्यटन क्षेत्रलाई राष्ट्रको पहिचान पर्यटन विकास र संस्कृति संवद्र्धन नारासहित घोषणापत्र सार्वजनिक गरेको छ ।
सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै समाजवादीका महासचिव बेदुराम भुसालले दैनिक कम्तीमा ५ लाख बाह्य तथा आन्तरिक पर्यटकलाई सेवा प्रदान गर्न सक्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न पहल गरिने बताए ।
घोषणापत्र नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक विशेषतालाई प्रवद्र्धन गर्दै जैविक, ऐतिहासिक र सांस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यको अध्ययन–अवलोकनका साथै नयाँ गन्तव्यको खोजी कार्यमा जोड दिइने उल्लेख छ ।
यस्तै निकुञ्ज र वन्यजन्तु आरक्षण क्षेत्रहरूमा पर्यापर्यटनको विकास गर्ने तथा पर्यटक आकर्षित गर्ने, पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकनलाई थप आकर्षक र सुरक्षित गर्न जोड दिइने, लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, पाथिभारा, हलेसीलगायत ऐतिहासिक, पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक महत्वमा पर्यटकीय गन्तव्यहरूको संरक्षण एवं विकासमा जोड, मुस्लिमलगायत धार्मिक अल्पसब्ख्यक समुदायका धार्मिक तथा सांस्कृतिक अधिकारहरूको जगेर्ना र उनीहरूका सांस्कृतिक सम्पदाहरूको सुरक्षामा जोड दिएको छ ।
यस्तै लोपोन्मुख जाति तथा भाषाहरूको संरक्षणका लागि भाषा र संस्कृति संरक्षणको विशेष कार्यक्रम सञ्चालन गर्न पहल गरिने, आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गरेर आर्थिक गतिविधि बढाउन र रोजगारीका अवसर सृजना गर्नका लागि पर्यटन ग्राम, होम स्टे, पर्यटन सडक, पदमार्ग लगायत पर्यटन पूर्वाधार निर्माण तथा ऐतिहासिक एवं धार्मिक पर्यटनको प्रवद्र्धनमा जोड दिइने उल्लेख छ ।