काठमाडाैँ । पर्यटक प्रहरी समक्ष नेपाल घुम्ने आउने पर्यटकले एक वर्षमा ५३२ वटा उजुरी गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सामान हराएको सम्बन्धमा ३४५ वटा, चोरी सम्बन्धमा ८२ वटा, ठगीमा ३३ वटा, उत्पीडनबारे २८ र डकैतीमा १३ उजुरी गरेका छन् ।
यस्तै ५ वटा उजुरी धम्की दिएको, पर्यटक हराएको उजुरी ४ वटा २ वटा दुर्घटना, पाकेटमारीमा २ वटा, आक्रमणमा २ वटा, लुटपाटमा १ वटा, दुर्व्यवहारमा १ वटा, १ वटा अपहरणको र अन्य १३ वटा उजुरी पर्यटक प्रहरीमा दर्ता भएको तथ्यांकमा देखिएको छ ।
पर्यटकमाथि हुने यस प्रकारका घटना र उजुरी सबैभन्दा धेरै सन् २०१९ मा आएका थिए । सो वर्ष पर्यटक आगमन समेत अधिक थियो । सो वर्ष ६३३ वटा उजुरी आएका थिए । सन् २०२० मा ५४०, सन् २०२१ मा ७९, सन् २०२२ मा १८० यस्ता उजुरी दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।
यसरी उजुरी दर्ता गराउनेमध्ये सबैभन्दा धेरै भारतीय छन् । उनीहरुको संख्या ७० छ । चिनियाँ नागरिक ६५, अमेरिकी ४६, बेलायती ४१, फ्रान्सका २८, अष्ट्रेलियाका २६ र जर्मनका २० नागरिकले उजुरी गरेका छन् । उजुरी दिनेमध्ये १७२ जना महिला छन् ।