रसुवागढी मार्गहुदै मानसरोवर कैलाश जाने तिर्थ यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार गत जेठदेखि भदौ २५ सम्ममा रसुवागढी मार्गबाट ७ हजार ५ सय २३ जना तिर्थ यात्रु मानसरोवर कैलाश धार्मिक यात्राका लागि गएको बताए ।
मानसरोवर जाने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेको निरौलाले बताए ।
रसुवागढी मार्गहुदै मानसरोवर कैलाश यात्रा गर्दा करिव १० दिन लाग्छ । मानसरोवर यात्राका लागि आफुले चाहे जस्तो गरी जान पाईदैन । चिनियाँ प्रावधानमा ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने उल्लेख छ ।
यस रुट भएर मानसरोवर यात्रा गर्दा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट रहेको पाईन्छ । कुनै ट्राभल एजेन्सीले एक लाख ३५ हजार रुपैयाँ र कुनैले एक लाख ७० हजार रुपैयाँसम्म लिने गरेको यात्रीहरुले बताएका छन् ।