
सुर्खेत । कर्णाली प्रदेशका पर्यटन व्यवसायीहरूले सुर्खेतलाई केन्द्र आधार बनाएर पहाडी जिल्लाहरूमा हवाई सेवाको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
आईतबार सुर्खेतमा पर्यटन बोर्ड को आयोजना गरिएकाे पर्यटन नीति तथा बजेट सम्बन्धी छलफल कार्यक्रममा सहभागीहरूले हवाई सेवा विस्तारका साथै सूचना बोर्ड स्थापनादेखि पर्यटकहरूको शान्ति सुरक्षा, आतिथ्यता र दक्ष जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले कर्णाली प्रदेशमा पर्यटन पूर्वाधार विस्तारका लागि निजी क्षेत्रको सहभागिता संस्थागत गर्नुपर्ने, सीपमूलक तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने, तथा हस्पिटालिटी (आतिथ्यता) क्षेत्रको स्तरवृद्धिका लागि सहज लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
साथै, प्रमुख पर्यटकीय क्षेत्रहरूमा सूचना केन्द्रको स्थापना गरेर पर्यटकहरूलाई सहुलियत सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए ।
पर्यटन व्यवसायीहरूले प्याराग्लाइडिङ, होमस्टे, उद्योग ग्राम, तथा अन्य पर्यटन गन्तव्यहरूको प्रवर्द्धनका लागि एकीकृत योजनाको खाँचो रहेकाले आगामी आर्थिक वर्षको वजेटमा विशेष ध्यान दिनुपर्ने बताए । साथै कर्णालीको पर्यटन विकासका लागि राज्य र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघ, नाट्टा कर्णाली प्रदेश, पर्यटन मन्त्रालयका प्रतिनिधि, पर्यटन बोर्ड, प्याराग्लाइडिङ व्यवसायी, होमस्टे सञ्चालक, उद्योग ग्राम प्रतिनिधि लगायत सम्पूर्ण पर्यटनसँग सम्बन्धित व्यवसायीहरूको उपस्थिति रहेको थियो।