
नेपाल पर्यटन बोर्डले सात वटै प्रदेशमा संरचना विस्तार गरेको छ । बोर्डले गत पुस १५ देखि औपचारिक रुपमा सातवटै प्रदेशमा प्रदेशस्तरीय कार्यालय विस्तारका लागि आफ्ना कर्मचारीहरुलाई सम्बन्धित प्रदेशमा अध्ययनका लागि खटाएको थियो । ध्ययनका लागि स्थलगत खटाइएका कर्मचारीले बोर्डमा आवश्यक तयारीसहितको प्रतिवेदन बुझाइसकेका छन् । अध्ययन गरिएको प्रतिवेदनका आधारमा बोर्डले छिट्टै प्रदेश कार्यालय स्थापना गर्ने पर्यटन बोर्ड स्रोतले जनाएको छ ।
कार्यालय कस्तो बन्ने छ ?
पर्यटन बोर्डले सात वटै प्रदेश कार्यालयका लागि केन्द्रबाटै व्यवस्थापक तहका कर्मचारीको नेतृत्व हुने गरी कार्यालय विस्तार गर्नेछ । कार्यालयका लागि अधिकृतस्तरका कर्मचारी राख्ने बोर्डले जनाएको छ ।
कुन प्रदेशमा कस्लाई तोक्यो कार्यालय प्रमुख
पर्यटन बोर्डले प्रदेश कार्यालयका लागि बोर्डबाटै कार्यालय प्रमखको जिम्मेवारी तोकेको छ । प्रदेश १ को विराटनगरमा प्रदेश कार्यालय रहने र झापा र धरानमा छुट्टै कार्यालय रहने गरी दिवाकरविक्रम राणालाई कार्यालय प्रमखको जिम्मेवारी तोकेको छ ।
प्रदेश २ को जनकपुरमा प्रदेश कार्यालय रहने र वीरगञ्जमा शाखा कार्यालय रहने गरी समीर बज्राचार्यलाई कार्यालय प्रमखको जिम्मेवारी तोकेको छ । वाग्मती प्रदेशमा भने सङ्घीय कार्यालयले हेर्ने जनाएको छ ।
यस्तै गण्डकी प्रदेशमा यस अघिकै बोर्डको मुख्य संरचनालाई स्थापना गरिएको छ । बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीलाई कार्यालय प्रमखको जिम्मेवारी तोकेको छ ।
लुम्बिनी प्रदेशको बुटवलमा बोर्डको प्रदेश कार्यालय र भैरहवाको सुनौली र नेपालगञ्जमा शाखा कार्यालय रहनेगरी लीला बानियाँलाई कार्यालय प्रमखको जिम्मेवारी तोकेको छ ।
यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश कार्यालय रहने गरी खड्गविक्रम शाहलाई कार्यालय प्रमखको जिम्मेवारी तोकेको छ । भने सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालय रहने गरी रोहिणी खनाललाई कार्यालय प्रमुखको जिम्मेवारी तोकेको छ ।