२०७८ जेष्ठ २३, आईतवार | २०८१ चैत्र ७ | [email protected]

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समिति गठन

२०७८ जेष्ठ २३, आईतवार

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेपछि पहिलो कार्यको रुपमा जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि एक समितिको गठन गरेका छन् ।

मन्त्री अरगरियाले शुक्रवार राति नै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै आर्थिक वर्ष २०७८÷७९ मा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने विषयमा अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा पाँच सदस्यीय समितिको गठन गरेको जानकारी दिए ।

विश्वका हिन्दुहरूको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका विगतदेखि नै विभिन्न प्रकारको प्रयास हुँदै आए पनि हालसम्म सफल हुन सकेको छैन । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पर्यटकहरुका लागि आकर्षणको केन्द्र रहेको छ ।

जानकी मन्दिरमा राम र सीताको मूर्ति रहेको छ । जानकी मन्दिरमा निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।

भारतको जयपुरको लोहागढका साधु सुरकिशोर दासले जनकपुर पत्ता लगाएका थिए । भनिन्छ उनलाई जानकीले नै सपनामा यही मेरो जन्मभूमि रहेको बताएकी थिइन । शुरुमा उनले नै सानो कुटी बनाएर पूजा प्रारम्भ गरेका थिए । त्यही बेलादेखि जनकपुरमा पूजा गर्न बाहिर बाट साधु सन्तहरु आउन थाले ।

जानकी मन्दिरको वर्तमान स्वरुप टिकमगढकी महारानीले बनाएकी थिइन । भाकल गर्दा पुत्र प्राप्त भएपनि वृषभानु कुमारीले ९ लाखको लागतमा मन्दिर बनाएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन । जानकी मन्दिरको शिलान्यास सन् १८९४ मा गरिएको थियो भने सन् १९११ मा मन्दिरको निर्माण कार्य पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप नै हुने गर्छ । राम जन्मको अवसरमा प्रत्येक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाइनु यसकै उदाहरण हो । जानकी मन्दिर ४हजार ८सय ६० वर्ग फÞीट क्षेत्रफलमा फैलिएको छ । जानकी मन्दिरलाई नेपालको सबैभन्दा ठूलो मन्दिर भनिन्छ ।

भगवान राम जानकीकै कारण भगवान बनेकाले पनि जानकी र जनकपुरको महत्व संसारभरी अत्याधिक रहेको विधायक सुरिता साह बताउँछिन । ‘जनकपुर आउनुभन्दा पहिला उनी एउटा राजकुमार मात्रै थिए ।’ विधायक एवं सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामअशिष यादवले पशुपतिनाथ पछि नेपालमा पर्यटकका लागि जानकी मन्दिर, गौतम बुद्धको जन्मस्थल र सगरमाथा रहेको बताए । जानकी मन्दिरमा तीन पटक आरती हुन्छ । आरतीको बेला भीड लागेको हुन्छ । जानकी मन्दिरमा २४ घण्टे रामनाम संकिर्तण हुनुका साथै राम जानकीसंग जोडिएको संग्रहालय पनि रहेको छ । मन्दिरमा आउँदा कोही प्रसादी चढाउँछन, कोही मुण्डन गराउँछन, कोही अन्य कार्य गर्ने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख