कोभिड १९ का कारण दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान आजदेखि शुरु भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि ५० प्रतिशत उडान गर्ने निर्णय गरेको थियो।
वैशाख २० मा बन्द भएको आन्तरिक उडान असार १७ गतेदेखि सुचारु भए पनि साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ ।
यात्रुले यात्रा गर्दा तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।
कुन गन्तव्यमा कति उडान ?
असार १७ गतेदेखि आन्तरिक उडान सुरु भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी प्रतिघण्टा ५ वटा मात्र उडान हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको उडान तालिकाअनुसार बुद्ध एयरले काठमाडौंबाट भैरहवाका लागि पाँच उडान, विराटनगरका लागि चार उडान, सिमरा, जनकपुर, पोखरा नेपालगञ्ज, भद्रपुरका लागि तिन उडान, धनगढीका लागि दुई उडान र तुम्लिङटार र सुर्खेतका लागि एक उडान गर्ने छ ।
यस्तै यती एयरले काठमाडौँबाट विराटनगरका लागि तिन उडान र भद्रपुर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज मा दुईवटा उडान गर्ने छ ।
श्री एयरलाइन्सले भने भद्रपुर, विराटनगर, भैरहवामा दैनिक एक उडन गर्ने छ भने नेपालगञ्ज र धनगढीमा दैनिक दुई÷दुई उडान गर्नेछ ।
यस्तै सौर्य एयरले काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक÷एक उडान गर्ने छ ।
काठमाडौंबाट लुक्का, फाप्लु, डोल्पा र सिमकोट गन्तव्यलाई दैनिक ८ उडान तोकिएको छ । समिट, तारा र सीताले यो उडान गर्ने छन् ।