
सरकारले नेपाल घुम्न आउने विदेशीपर्यटकका लागि विमानस्थलबाटै अनअराइभल भिसा खुला गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको छ ।
आदेश अनुसार नेपाल घुम्न आउन चाहने विदेशी पर्यटकले अब अध्यागमन प्रवेश विन्दु भएर सोझै भिसाको लागि आवेदन दिन पाउने भएका छन् । तर सरकारले त्यसका लागि केहि मापदण्ड बनाएको छ ।
जस अनुसार नेपाल आउन विदेशीले कोभिड खोप लगाएको १४ दिन पूरा गरेको हुनुपर्नेछ भने हवाइ उडानको चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने प्रावधान भने तोकेको छ ।
यस्तै, पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गरे अनअराइभल भिसा पाउँनेछन् भने नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दुमा एन्टीजेन परीक्षण गर्नु पर्नेहुन्छ ।
कोरोना भाइरस सुरु भए देखि सरकारले नेपाल आउन चाहने विदेशी पर्यटकका लागि सम्बन्धीत देशमा रहेको दुतावासबाट भिसा लगाउने व्यवस्था मिलाएको थियो ।