
बन्द भएको डेढ वर्षपछि सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरिदिएपछि अहिले व्यवसायीमा उत्साह छाएको छ ।
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्ने उपायस्वरूप सरकारले २०७६ सालको ११ चैतबाट मुलुक लकडाउन गरेदेखि बन्द भएको पर्यटकलाई भिसा दिने काम खुलेपछि अहिले पर्यटन व्यवसायी उत्साहित भएका हुन ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निणर्य गरिदिएपछि नेपाली पर्यटन उद्योगमा सकारात्मक सञ्चार गर्ने खबर फैलियो र अहिले व्यवसायी उत्साहित भएका हुन् । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराभइल भिसा प्राप्त गर्न सक्ने निर्णय गरेको छ । यसले नेपाल आउन चाहेर पनि क्वारेन्टिनको झन्झटका कारण आउन नमानिरहेका पर्यटकलाई उत्साह थपेको पर्यटन व्यवसायी एवं सम्बन्धित सरोकारवालाको भनाइ छ ।
सरकारको यो निर्णयसँगै नेपालका वरिष्ठ पर्यटन व्यवसायी तथा टेम्पल टाइगर ग्रुपका अध्यक्ष वसन्त मिश्रले खुसी साट्दै आफ्ना पाहुनाका लागि इमेलमा लेखे, ‘आज तपाईंलाई मसँग एक राम्रो खबर छ, नेपाल सरकारले पुनः अनअराइभल भिसा सेवा खुला गरेको छ ।’ मिश्रका अनुसार यो घोषणा निकै महŒवपूर्ण समयमा भएको छ । यसले नेपालमा पर्यटक आगमन बढाउन निकै ठूलो भूमिका खेल्नेछ । उनले भनेका छन्, ‘यो खबरबाट हामी जति उत्साहित छौं, मलाई विश्वास छ, तपाईं पनि त्यतिकै उत्साहित हुनुहुन्छ ।’
यसैगरी, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पनि अनअराइभल भिसा खुलैसँगै अब बिस्तारै नेपालमा पर्यटक आउन थाल्ने अपेक्षा गरिएको बताए । उनले आगामी सिजनमा राम्रै संख्यामा पर्यटक नेपाल भित्रिने र पर्यटकीय चहलपहल पनि बढ्ने अपेक्षा गरिएको बताए ।
टानका पूर्वअध्यक्ष दीपक महतले पनि लामो समयदेखि बन्द भएको अनआराइभल भिसा खुलेपछि अब मुलुकमा पर्यटकीय गतिविधि सुरु हुने अपेक्षा गरिएको बताए । निजी क्षेत्रको मागअनुसार अहिले सरकारले यो निणर्य गरिदिएको जानकारी गराए ।
यसैगरी, अर्का पर्यटन व्यवसायी एरोलिना ट्राभलका प्रबन्ध निर्देशक तथा सोट्टो नेपालका पूर्वअध्यक्ष यम खड्काले पनि सरकारले अनआराइभल भिसा खोलिदिएपछि पर्यटन व्यवसायीमा उत्साह छाएको बताए । उनले यो खुसीको खबर साट्दै सामाजिक सञ्जालमा लेखेछन्, ‘खोपको मात्रा पूरा गरेका यात्रुलाई अब नेपालमा क्वारेन्टिन चाहिने छैन, नेपालमा तपाईंलाई स्वागत छ ।’
त्यसैगरी, अर्का पर्यटन व्यवसायी बोधराज भण्डारीले पनि सरकारको यो निर्णयबाट सुस्ताएको पर्यटकीय गतिविधिमा तीव्रता आउने बताए । ‘यो अवसरको उपयोग गर्न सरोकारवालाले प्रयास गरून्,’ उनले भने ।
विगतमा भूकम्पपछि यस्तै अभियानको नेतृत्व गरी सफल बनेका नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पनि अनअराइभल भिसा खुला हुनु र अनिवार्य क्वारेन्टिन हट्ने प्रावधानबाट अब कम्तीमा २० प्रतिशत र सोभन्दा बढी नै पर्यटक आगमनमा सुधार हुने सम्भावना रहेको बताए ।
सरकारको यस नयाँ निणर्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सरकारको निर्णय लगत्तै आफ्ना सदस्यहरूलाई सम्बोधन गर्दै सरकारको यो निर्णय तारिफयोग्य रहेको बताएको छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउन यो निर्णय महत्वपूर्ण सावित हुने टानको भनाइ छ ।
यसैगरी, नेपाल उद्योग परिसंघले सरकारको यो निर्णय कोभिड–१९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानमा सकारात्मक पहल भएको उल्लेख गरेको छ । नेपालमा विदेशी पर्यटक आवागमन वृद्धि भई पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको बुझाइ छ । अनअराइभल भिसा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सहज रूपमा अघि बढाउन सरकारले समन्वय गर्नुपर्नेसमेत परिसंघले बताएको छ ।
यसअघि पर्यटन व्यवसायीले लामो समयदेखि अनअराइभल भिसा खुला गर्न माग गरिरहेका थिए । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीका छाता संगठनले पटक–पटक सरकारको ध्यानाकर्षण गराइरहेका थिए । अघिल्लो साता व्यवसायीले सरकारलाई अल्टिमेटम नै दिएर माग पूरा नगरे सडक आन्दोलनमा समेत जाने चेतावनी दिएका थिए । यसपटक व्यवसाय सुचारु गर्न र नेपालमा पर्यटन खुला भएको सन्देश दिनुपर्छ भन्ने सन्दर्भमा निजी क्षेत्रको एक मत थियो ।
अनअराइभल भिसा खुलेपछि व्यवसायी तथा सरोकारवालाले अब मुलुकको पर्यटन क्षेत्रमा २० प्रतिशतभन्दा बढी सुधार हुने अपेक्षा गरेका छन् । जुनसुकै संकटको समयमा पनि आन्तरिक पर्यटनले बाह्य पर्यटक आउने वातावरण सिर्जना गर्छ । विगतमा भूकम्पपछि यस्तै अभियानको नेतृत्व गरी सफल बनेका पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी अनअराइभल भिसा खुला हुनु र अनिवार्य क्वारेन्टिन हट्ने प्रावधानबाट कम्तीमा २० प्रतिशत र सोभन्दा बढी नै पर्यटक आगमनमा सुधार हुने सम्भावना देख्छन् । उनका अनुसार आगामी अक्टोबर महिना नेपालमा पदयात्राका लागि सबैभन्दा उत्तम समय मानिन्छ ।
व्यवसायीसँगको छलफलमा समेत विदेशबाट नेपाल यात्राबारे पर्याप्त चासो रहेको बताउने गरेको उनीहरूको भनाइ छ । ‘संसारमा नो क्वारेन्टिन पोलिसी अपनाइएका छन्, यो काम अझै अघि हुनुपर्ने थियो भन्दै जोशीले भने, ‘अक्टोबर महिना, त्यसमा पनि पदयात्रा पर्यटनको सिजनको पूर्वसन्ध्यामा आएको निर्णयले उत्साह ल्याउने निश्चित छ ।’
सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्तान हुने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धि आदेश जारी गर्दै विभिन्न मापदण्डको व्यवस्था गरेको छ । जसमा नेपाल आउने विदेशी नागरिकलाई कानून अनुसार अनअराइभल भिसा दिइने उल्लेख गरिएको छ । तर, कोभिडविरुचको खोपको मात्रा पूरा गर्नुपर्नेछ । साथै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रदेश बिन्दुमा भिसा लागि आदेश गर्दा भिसाका लागि आवेदन दिँदा भिसाका लागि आवश्यक अन्य कागजातका अतिरिक्त विभिन्न मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ ।
यस मापदन्डमा कोभिडविरुद्ध खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धि अनुमतिको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण र सीसीएमसीको वेबसाइटमा अनलाइन फारम भरेको प्रमाण आवश्यक पर्नेछ ।
यसैगरी, सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले सम्बन्धित नेपाली नियागमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजताका अतिरिक्त पर्याप्त कागजात पनि पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।
१२ देशका नागरिकले नपाउने
अझै नेपालले द्वन्द्वग्रस्त विभिन्न १२ वटा मुलुकका नागरिकलाई भने अनअराइभल भिसाको सुविधा नदिने भएको छ । अध्यागमन विभागका अनुसार यसरी अनअराइभल भिसा नपाउने मुलुकमा बढी द्वन्द्वग्रस्त क्षेत्रका मुलुक छन् ।
विभागले जारी गरेको सूचीअनुसार नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा पाउनेछैनन् । उनीहरूले अनिवार्य रूपमा विदेशस्थित तोकिएको नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर नेपाल आउनुपर्नेछ । जसका लागि आकस्मिक राहदानी बाहकले समेत अनिवार्य रूपमा कूटनीतिक नियोगबाट भिसा लिनुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । आजको राजधानी दैनिकमा समाचार छ ।