
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार १२ यात्रु गम्भीर घाइते भएका छन्। बस दिउँसो ४ बस दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालयकाअनुसार बिहीबार मुक्तिनाथ मन्दिर दर्शन गरी जोमसोमतर्फ फर्किदै गरेको बसले कागबेनी जाँदै गरेको ग७प ५७२ नम्बरको स्कुटीलाई अचानक ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो। बसको ठक्करबाट वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
विराटनगर महानगरपालिकादेखि मुक्तिनाथ दर्शनका लागि आएको तिर्थालु सवार बस कागबेनीको दोस्रो मोडमा दुर्घटना भएको प्रहरी निरीक्षक गोपीकृष्ण आचार्यले जानकारी दिए।
दुर्घटनामा ५८ वर्षीया कमला तिमिल्सिना, ६५ वर्षीय कुलबहादुर कुवर, ४० वर्षीया बिष्णुमाया न्यौपाने, ७३ वर्षीया दुर्गा नेपाल, ६८ वर्षीया इन्दिरा न्यौपाने, ४५ वर्षीया पार्वती तिमिल्सिना, ३५ वर्षीया सरस्वती नेपाल, ११ वर्षीया दिलसा पौडेल, ६५ वर्षीय गोकर्णबहादुर खनाल, ६० वर्षीया धर्मशीला खनाल, ६० वर्षीया उषा कोइराला र ३५ वर्षीया सुनिता तिमिल्सना गम्भीर घाइते भएका छन्। मुक्तिनाथ दर्शन गरी फर्किएको बसमा सवार ३५ जना यात्रुमध्ये १४ जना सामान्य घाइते भएका छन्।
तीर्थयात्री सवार उक्त बसले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र बेलबारी नगरपालिकाका ३५ यात्रु लिएर मुस्ताङ आएको थियो। बस दुर्घटनापछि प्रहरी चौकी कागबेनी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी र स्थानीयको समन्वयमा दुर्घटनामा परी घाइते भएका यात्रुलाई मुस्ताङ जिल्ला अस्पतालमा पुर्याइएको छ। प्रहरीले घटनास्थलको चार किल्ला र दुर्घटना सम्बन्धी विवरण संकलन गरेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए। तीर्थयात्रु सवार बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।