
पर्यटन पुनरुत्थान प्राविधिक समितिले आन्तरिक र बाह्य पर्यटकमा रहेको सेवा शुल्कको असमानता हटाउन नयाँ एकद्वार प्रवेश नीति ल्याउन सुझाएको छ । समितिले प्रतिवेदन बुझाउँदै अन्तरप्रदेश उडान र हवाई सेवा विस्तारका लागि आवश्यक गृहकार्य गरी स्रोत बजारमा सिधा हवाई सञ्जाल विस्तार गर्न पनि सुझाव दिएको छ ।
त्यस्तै, समितिले नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकका नेपाली दूतावासमा पर्यटन अधिकारी नियुक्त गर्न पनि सुझाएको छ । पर्यटन सेवाप्रदायक र पर्यटनसँग सम्बन्धित सबैबाट कुनै पनि आपतकालीन मामिलाहरूको जवाफ दिन हप्ताको सातै दिन र २४ सै घण्टा उपलब्ध हुनेगरी ‘क्विक रेस्पोन्स टिम’ को अवधारणामा एउटा पर्यटन टोली मन्त्रालयमै व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ ।
पर्यटन पुनरुत्थान प्राविधिक समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउँदै समितिका संयोजक राजाराम गिरीले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा पुगेका बेला समिति गठन भएको र करिब अढाई महिना लगाएर पर्यटन व्यवसायी तथा विज्ञहरूसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरिएको बताए । उनले भने, “नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि दुर्गम क्षेत्र वा नयाँ गन्तव्यको खोजी गरी हाम्रो स्रोत बजारमा प्रचारप्रसारमा जोड दिएर देशभर नै पर्यटकीय गन्तव्यको विस्तार गर्नुपर्छ ।”
प्रतिवेदनले नेपालका धेरै दर्शक र अनुयायी भएका व्यक्तित्वहरूलाई विभिन्न देशहरूमा पर्यटन सद्भावना दूत नियुक्त गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न विगतमा योगदान पु¥याएका सेलिब्रेटीहरू, पर्वतारोहीहरू, खेलाडीहरूलाई नेपाल आमन्त्रण गरेर प्रचारप्रसार गर्न पनि सुझाएको छ । साथै अन्तरक्रियात्मक वेबसाइट र एप डिजाइन गर्ने, अन्तर्राष्ट्रिय र घरेलु विमानस्थलका सबै आगमन बिन्दुमा प्रशिक्षित र मैत्रीपूर्ण स्वयंसेवक नियुक्त गर्ने, स्वच्छ–सफा–हरियाली नेपालको अवधारणामा स्थानीय तहहरूसँग सहकार्य गरी देशभरका पर्यटकीय स्थलहरूमा सरसफाइमा ध्यान दिनका लागि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । आतिथ्य र सेवा क्षेत्रमा आवश्यक पर्ने प्रशिक्षित जनशक्ति तयार गर्न नेपाल पर्यटन तथा होटल व्यस्थापन एकेडेमी (एनएटिएचएम) को सहकार्यमा सातवटै प्रदेशमा पर्यटन तालिम केन्द्रहरूको स्थापना गर्न पनि समितिले सुझाएको छ ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री आलेले प्रतिवेदनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न टेवा पु-याउने विश्वास व्यक्त गरे । आन्तरिक उडानका वायुसेवा कम्पनीलाई स्वदेशी र विदेशी पर्यटकलाई भाडामा विभेद नगर्न पनि उनले आग्रह गरेका छन् । समयमै आन्तरिक उडान नहुने समस्या देखिएकाले राति १२ बजे पनि विमानस्थल खुला राख्ने मन्त्री आलेको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई सुविधा दिलाउने बारेमा गृह, अर्थ र पर्यटन मन्त्रालयबीच समन्वय भइरहेको उनले जानकारी दिए । कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न विशेष प्याकेज ल्याउने उद्देश्यले पर्यटन पुनरुत्थान निर्देशक समिति तथा पर्यटन पुनरुत्थान प्राविधिक समिति गठन गरिएको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।