२०७९ बैशाख २७, मंगलवार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

सगरमाथा आरोही अनुकूल मौसमको पर्खाइमा

२०७९ बैशाख २७, मंगलवार

सगरमाथा आरोहणको लागि अनुमति लिएका आरोहीहरू आरोहण अभ्यास पूरा गरेर सगरमाथाको शिखर टेक्न अनुकूल मौसमको पर्खाइमा छन् । सबै टोली बेसक्याम्पमा अनुकूल मौसमको पर्खाइमा रहेको पर्यटन विभागका महानिर्देशक तारनाथ अधिकारीले बताए ।

उनका अनुसार विभागबाट आरोहण अनुमति लिएका आरोही टोली सबै बेसक्याम्प पुगेका छन् । धेरैजसो आरोहण टोलीले वैशाख २८ देखि जेठ ४ गतेसम्ममा आरोहण गर्ने गरी योजना बनाएर केही आरोहण अभ्यास गरिरहेको र केही अभ्यास पूरा गरेर बसेको विभागले जनाएको छ ।

जारी सिजनमा कामीरिता शेर्पासहितको ११ जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँग्ने) गरी बाटो बनाउँदै शनिबार यस वर्षको पहिलो आरोहण गरेको थियो । आरोही शेर्पासहितको ११ जना शेर्पाको टोली सगरमाथाको चुचुरोमा पुगेको हो । शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । यसअघि शेर्पाले २०७८ वैशाख २४ गते २५ औं पटक सफल आरोहण गरेर सबैभन्दा बढी पटक सगरमाथा आरोहणको आफ्नो रेकर्ड राखेकोमा उनले आफ्नै रेकर्ड शनिबार आफैंले तोडेका थिए ।

शेर्पा सहितको टोली मौसम अनुकूल नहुँदा बेसक्याम्प ओर्लिन भने नसकेको विभागले जनाएको छ । हाल अनुकूल मौसमको पर्खाइमा रहेका करिब ३ सय आरोही सगरमाथाको बेसक्याम्पमा रहेका छन् । बेसक्याम्पमा रहेका सर्भे विभागका उपसचिव खिमलाल गौतमका अनुसार सगरमाथा बेसक्याम्पमा आरोहण टोली, आरोहण दलका सहयोगी सबै गरेर करिब १५ सयको हाराहारीमा रहेका छन् । सोमबार आरोहण अभ्यासका क्रममा तेश्रो बेसक्याम्पमा पुग्न नसकी केही टोली फिर्ता भएको गौतमले बताए । उनले भने, “माथि अत्यधिक हावाको बेग चलेका कारण आरोहण टोली क्याम्प ३ मा जान नसकेर क्याम्प २ मा फिर्ता भएका हुन् ।” केही आरोही आरोहण अनुमति लिनको लागि आइरहेको भए पनि यसअघि अनुमति लिएका आरोही सबै बेसक्याम्प पुगेको विभागको भनाइ छ । आरोहण टोलीका सदस्यले आरोहण अभ्यास पूरा गरेर आरोहणको क्रममा रहेको विभागका निर्देशक मोहनबहादुर जिसीले बताए । धेरै आरोही बेसक्याम्पमा रहेको र केही आरोही क्याम्प १ र २ मा रहेको उनको भनाइ छ ।

विभागका अनुसार ८ मेसम्ममा ५८ देशका ३ सय १७ जना (७३ महिला र २४४ पुरुष)ले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । जसमा अमेरिकी नागरिक ६५, बेलायती ३४, भारतीय २३, नेपाली २१, फ्रन्सेली १३, क्यानेडियन १७ जना छन् । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यावस्था रहेको विभागले जनाएको छ ।

मौसम केही दिन प्रतिकूल रहने
समुन्द्री आँधी आसामीको प्रभाव नेपालमा पनि पर्ने र हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसमविद् डा. धर्मराज उप्रेतीले बताए ।

जारी सिजनमा दुई आरोहीको मृत्यु
सगरमाथा आरोहणका क्रममा गएका रुसी नागरिककोे मृत्यु भएको छ । आरोहण अभ्यासका क्रममा शनिबार ५५ वर्षीय पावेल कोस्ट्रीकिनको अल्टिच्युट सिकनेसका कारण क्याम्प १ मा मृत्यु भएको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए । यसअघि सगरमाथामा आरोहण दलका सहयोगी निङ्मा तेञ्जिङ शेर्पाको मृत्यु भएको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख