नेपालगन्जका क्यासिनो र क्लबमा भारतीय नागरिक ‘विक्की’ को आतंक
‘विक्की सिंह’ भनिने भारतीय नागरिक अतिक खाँनले नेपालगन्जका क्यासिनो तथा क्लबमा आतंक मच्चाउने गरेका छन् । विगत ७ वर्षदेखी नेपालगन्जका क्यासिनो र क्लवमा अखडा जमाउँदै आएका उनले जुवा खेल्न आउने भारतीय नागरिकलाई आफ्नो कब्जामा लिने र डर धम्की दिएर उनीहरुबाटै रकम असुल्ने गरेको आरोप लागेको हो । विक्कीको अन्य अबैध गतिविधीमा पनि संलग्नता रहने गरेको बताइन्छ । भारतमा थुप्रै काण्ड मच्चाएका विक्कीले नाम र थर नै परिवर्तन गरी नेपालगन्जमा डेरा जमाएका
हुन् ।
यहाँका उच्च ब्यक्तिको संरक्षणमा गुण्डागर्दी गर्ने र कानुन हातमा लिने जस्ता गतिविधी गरिरहेको पीडित बताउँछन् । जुवा खेल्न आउने भारतीय नागरिकलाई सिमाबाटै आफ्नो नियन्त्रणमा लिएर क्यासिनो सम्म पुर्याउने र त्यसवापत सम्बन्धित क्यासिनोबाट कमिसन असुल्ने उनको धन्दा चलिरहेको स्रोतले जनाएको छ । यसका साथै क्यासिनोमा जुवा खेल्न आउने ब्यक्तिलाई मिटर ब्याजमा पैसा दिने जस्ता अवैध धन्दा पनि चलाइरहेका छन् । कानुन अनुसार नेपालमा मिटर ब्याजमा पैसा लगाउन पाइदैन । ‘आफ्नो पैसा मिटर ब्याजमा लगाउने र दैनिक रुपमा ब्याज जोडेर पैसा असुल्ने विक्कीको धन्दा छ । बर्दिया, गुलरिया-११ का पंकज नेपालगन्जमा ब्यवसाय गर्छन् । आर्थिक कारोबारका विषयमा विक्कीसँग केहीदिन अघि नेपालगन्जमा रहेको स्टार लाईट क्यासिनोमा सामान्य कुटपिट मात्रै भएको र १८ मिनेट भित्रै वडा प्रहरी कार्यालय नेपालगन्जमा लगेर विक्कीलाई बुझाइएको पंकजले बताए ।
सो विवाद जिल्ला प्रहरी कार्यालय बाँकेसम्म पुगेपनि भोलीपल्टै दुई पक्षबीच सहमती भएको पंकजले जानकारी दिए । ‘त्यो विवाद मिलिसकेको छ, तर म लगायत मेरा साथीहरुमाथी अपहरण गरेको भनि निराधार आरोप लगाउने काम भएको छ, हाम्रो चरित्र हत्या भएको छ,’ उनले भने ‘हामी सामान्य ब्यवसाय गरेर खाने ब्यक्ति हौं, हामी गुण्डागर्दी गर्दैनौं, जसले गुण्डागर्दी गर्छ, उसैले हामीमाथी आरोप लगाएको छ ।’
विक्कीको संलग्नता जोडिएको यो एउटा प्रतिनिधी मुलक घटना मात्र हो । यस्ता थुप्रै घटनामा विक्कीको संलग्नता रहेको देखिएको छ । गत माघ महिनामा भारतबाट क्यासिनोमा जुवा खेल्न आएका भारतीय नागरिकलाई विक्कीले स्टारलाइट क्यासिनोमै कुटेका थिए । जुवा खेल्न आएका सुहेल नाम गरेका भारतीय नागरिकले त्यतिखेर २ लाख ५७ हजार रुपैयाँ जितेका थिए ।
स्टारलाइट क्यासिनोमा भारतीय नागरिक सफादले फलास गेमको टेबुल राखेका छन् । जुवा जितेका सुहेललाई घर फर्काउन थालेका बहराइच निवासी अनस साहलाई विक्कीले क्यासिनो भित्रै कुटेका हुन् । तर, त्यतिबेला कुटपिटको उक्त घटना बाहिर आएन । पछिल्लो समयमा विक्कीले गरेका थुप्रै गुण्डागर्दी सम्बन्धी घटना क्रमशः बाहिर आउन थालेका छन् ।