
जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले बाँकेमा आन्तरिक पर्यटन प्रवद्र्धन रणनीतिक कार्ययोजना निर्माणका लागि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य, तथा सहलगानीमा सन्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले शनिबार नेपालगञ्जमा बाँकेका पर्यटन व्यवसायीहरुबाट आन्तरिक पर्यटन प्रवद्र्धन रणनीतिक कार्ययोजना निर्माणका लागि सुझाव लिएको हो ।
परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले कोभिड १९ का कारणबाट पर्यटन व्यवसायीहरु तथा जनशक्तिहरुमा परेको प्रभावलाई मूल्याकन गरी आगामी दिनहरुमा विपत्ती तथा चूनौतिहरुसंग सामना गर्न आन्तरिक पर्यटन रणनीतिक कार्यका बारेमा जानकारि गराउनुभएको थियो ।
गोष्ठमा पूर्व पर्यटन सचिव शंकर प्रसाद अधिकारीले आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुयाउने विद्यमान नीतिगत खाडलहरूको अन्वेषण र विश्लेषण, नीतिगत आवश्यकता आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्वका बारेमा जानकारी गराउनुभएको थियो ।
परियोजनाले चार वटा टोली बनाई उक्त टोलीबाट आन्तरिक पर्यटनको परिभाषा, दिगो पर्यटन परियोजना, पर्यटकीय वस्तु विकास, गन्तव्यहरुको पहिचान को बारेमा सुझाव लिएको छ ।
गोष्ठमा ट्राभल, एयरलाइन्स, होटल, पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायी तथा पत्रकारहरुको सहभागिता रहेको थियो।