भारतको उत्तराखण्ड सरकारले चार धाम यात्राका लागि नयाँ निर्देशन जारी गरेको छ । सरकारले चार धाम यात्राका लागि सबै आन्तरिक र अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूले अनिवार्य नाम अनलाइन दर्ता गर्नुपर्ने जनाएको छ । अनिवार्य दर्ता बिना कसैलाई पनि यात्रा गर्न नदिने भारतीय संञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उत्तराखण्ड राज्य सरकारले महाशिवरात्रिको दिन यो घोषणा गरेको थियो र केदारनाथ र बद्रीनाथको पवित्र मन्दिरको ढोका क्रमशः अप्रिल २५ र अप्रिल २७ मा खोलिनेछ । साथै गंगोत्री र यमुनोत्री धामको प्रवेशद्वार पनि परम्परा अनुसार अप्रिल २२ मा खोलिनेछ ।
पछिल्लो समाचार अनुसार पर्यटन विभागले गंगोत्री र यमुनोत्री धामको लागि दर्ता सुरु गरिसकेको छ । अहिलेसम्म ४.१७ लाख तीर्थयात्रीहरूले यात्राका लागि दर्ता गरिसकेका छन् । यस वर्ष अक्षय तृतीयाको दिन गंगोत्री र यमुनोत्री धामको प्रवेशद्वार भक्तहरूका लागि खोलिनेछ । भक्तजनको सुविधाका लागि पर्यटन विभागले अनलाइन दर्ता प्रणाली सुरु गरेको हो ।