
निवर्तमान मन्त्रीले नियुक्त गरेका विभिन्न देश र सहरहरुमा तोकिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज भएको छ ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले २५ जना पर्यटनदूतको नियुक्ति खारेज भएको बताउनुभयो ।
तत्कालीन मन्त्रीको कार्यकालमा बनाइएको पर्यटनदूत सम्बन्धी कार्यविधि खारेज गर्दै नयाँ कार्यविधि बनाएको मन्त्रालयले जनाएको छ । नयाँ कार्यविधिले पर्यटनदूत हटाएर पर्यटक प्रवर्द्धक भन्ने शब्द राखेको छ ।
पर्यटक प्रवर्द्धक को पदावधि दुई वर्ष तोक्दै विदेशमा रहेर पर्यटन सम्बन्धी व्यापारमा कम्तीमा १० वर्ष बिताएको, ख्याती आर्जन गरेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, नेपालप्रति सद्भाव र रुची भई नेपालको पर्यटन, खेलकुद, संस्कृति, कला प्रवर्द्धनमा कम्तीमा १० वर्षदेखि क्रियाशील रहेर राष्ट्रिय वा अन्तर्राष्टियस्तरमा ख्याती आर्जेको नेपाली, गैरआवासीय वा विदेशी नागरिकलाई पर्यटन मन्त्रालयले पर्यटन प्रवर्द्धक नियुक्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।