
पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र विस्तारका लागि काम गर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वार्षिक कार्यक्रमअनुसार प्रगति हासिल गर्न नसकेको पाइएको छ।
महालेखापरिक्षक कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनअनुसार मन्त्रालय र मातहतका निकायले अनुगमन गत विगतका प्रतिवेदनहरूमा वार्षिक कार्यक्रमअनुसार प्रगति हासिल नगरेको, अनुदानको अनुगमन नगरेको, क्यासिनो रोयल्टी असुल नगरेको, सम्पदा पुर्ननिर्माण समयमा सम्पन्न नभएको, पुरातात्त्विक सम्पदाको संरक्षण, विमानस्थल सञ्चालन, सोझै खरिद, ठेक्का व्यवस्थापन, भाडा तथा बहाल असुल नगरेको लगायतका विषयमा विगतमा नै दिइएको निर्देशनसमेत कार्यान्वयन नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
मन्त्रालय र मातहतसमेत ९ निकायमा यो वर्ष रू ३० करोड १ लाख ८३ हजार बेरुजू देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि रू २ करोड ४५ लाख २८ हजार फछ्यौट गरेपछि रू २७ करोड ५६ लाख ५५ हजार बराबरको बेरुजु बाँकी छ । सोमध्ये म्याद नाघेको पेस्की रू ७४ लाख ३४ हजार रहेको छ ।
संगठित संस्था एवं समितिसमेत १७ निकायमा यो वर्ष रू ५० करोड २२ लाख ७१ हजार बेरुजू देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि रू ६ करोड ५७ लाख ३१ हजार फस्यौंट गरेकोले रू ४३ करोड ६५ लाख ४० हजार बाँकी रहेको छ । सोमध्ये म्याद नाघेको पेस्की रू ४ लाख ९२ हजार रुपैयाँ बराबर छ।
यो वर्ष मन्त्रालय र मातहतसमेत १८ सरकारी कार्यालयको ७ अर्व ९२ लाखको लेखापरीक्षण सम्पन्न भएको छ। संगठित संस्था र अन्य २४ संस्थाको रु ३ खर्व ५ अर्व २५ करोड २ लाखको लेखापरीक्षण सम्पन्न भएको छ।