
गण्डकी प्रदेश प्रवेशबापत अब नाकाबाटै पर्यटक गाडीबाट दस्तुर उठाइने भएको छ ।
आगमी आर्थिक वर्षबाटै गण्डकी प्रदेश प्रवेशद्वार तनहुँको मुग्लिन र स्याङ्जाको राम्दीबाट भारतीय गाडी प्रवेशबापतको दस्तुर उठाउन लागिएको हो ।
गत वैशाख १५ गते मुख्यमन्त्रीको सपथ लिएका सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन आवश्यक प्रबन्ध गर्ने पहिलो निर्णय नै गरेका थिए । त्यसैमुताबिक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक तथा प्रशासन महाशाखा प्रमुखसमेत रहेका सचिवको संयोजकत्वमा समिति गठन भएको थियो ।
समितिले १५ दिनभित्रै बुझाएको प्रतिवेदनलाई मन्त्रिपरिषले निर्णय गरेर कार्यान्वयनमा गइसकेको छ । प्रतिवेदनको सुझावअनुसार सरकारले प्रदेश प्रवेश गर्ने मुख्य दुई नाकाबाटै दस्तुर उठाउने तयारी भइसकेको समितिका सदस्य सचिव तथा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव टीकाराम पौडेलले जानकारी दिए ।
दुबै नाकाबाट नयाँ आर्थिक वर्षबाटै दस्तुर उठाउने र प्रदेशको राजस्वको दायरा बढाइने अर्थमन्त्री जीतप्रकाश आलेको भनाइ छ । आर्थिक विधेयकअनुसार साना सवारी साधनले सात दिनसम्म ५ सय रुपैयाँ र त्योभन्दा बढी प्रतिदिन थप १ हजार रुपैयाँ लाग्ने छ । मझौला सवारी साधनकामा ७ दिनसम्म १ हजार ५०० र त्योभन्दा बढी दिन बस्दा प्रतिदिन थप २ हजार रुपैयाँ तिर्नुपर्छ । यस्तै ठूला सवारी साधनमा १ हप्तासम्म ३ हजार र त्योभन्दा बढी बस्दा प्रतिदिन थप ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने विधेयकमा व्यवस्था छ ।
अहिले आफ्नै गाडी लिएर पोखरा घुम्न आउने भारतीय पर्यटकको संख्या ठूलो छ । भारतीय पर्यटकहरु आफ्नै गाडी लिएर पोखरा र आसपासका पर्यटकीय गन्तव्यसम्मै पुग्दा नियमन गर्नुपर्ने आवाज निजी क्षेत्रबाट पनि उठिरहेको थियो । नेपाल घुम्न आउने भारतीय पर्यटकले प्रदेशैपिच्छे फरक फरक शुल्क तिर्नुपर्ने हो भने यसबाट नकरात्मक सन्देश जाने निजी क्षेत्रको आशंका छ । साभार पब्लिक टिभी