नेपालगञ्ज। बाँकेको नरैनापुर गाउँपालिकाले निजि तथा नाफामुलक संघ संस्थालाई लाखौँको अनुदान दिएको खुलेको छ ।
पालिकाले गत आर्थिक वर्ष मा विभिन्न प्रयोजनका लागि अनुदानबापत ४ वटा निजि संस्थाहरुलाई १९ लाख ६६ हजार ४ सय ४६ रुपैयाँ वितरण गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७९\८० को वार्षिक प्रतिवेदनले नाफामूलक तथा निजि फर्म र संस्थालाई कार्यविधिविपरीत लाखौँ रुपैयाँ अनुदान वितरण भएको उजागर गरेको हो ।
प्रतिवेदनमा नाफामूलक तथा अन्य निकायर संस्थालाई अनुदान स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने उल्लेख छ। जसबाट नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउन मिल्दैन । यदि उपलब्ध गराउने हो भने पनि सार्बजनिक रुपमा निशुल्क वा न्युन शुल्कमा सेवा उपलब्ध गराउने सुनिश्चित हुनुपर्दछ ।
तर नरैनापुर गाउँपालिकाले नाफामूलक तथा निजि फर्म र संस्थाको लागि १९ लाख ६६ हजार ४ सय ४६ रुपैँया अनुदान उपलब्ध गराएका देखिएको छ ।
पालिकाले बागेश्वरी असल शासन क्लवलाइ १ लाख २ हजार ५ सय, कान्ति हेल्थ लाइनलाइ ३ लाख ५० हजार, समर्पण नेपाललाइ ३ लाख ६० हजार र मानव समाज विकास मञ्चलाइ ७ लाख ७० हजार २ सय १० रूपैँया अनुदान दिएको छ ।