
होटल संघ नेपाल (हान) ले आगामी माघ २ गते ‘नेपाल सत्कार दिवस २०२५’ मनाउने भएको छ । हानले र काठमाडौंमा पत्रकार सम्मेलन गरी सो दिवस मनाउनेबारे जानकारी गराएको हो ।
संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्दै आएको छ । यसअघि पनि संघले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०२४ आयोजना भइसकेको छ ।
होटल संघका अध्यक्ष विनायक शाहका अनुसार सत्कार दिवस होटल क्षेत्रले वर्षैभरि भोगेका अवस्था र विकासका सम्भावना, चुनौती तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषय प्रस्तुति रहनेछन् ।
यो वर्ष आयोजना हुन लागेको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटल इयर बुक २०२४ विमोचन हुने कार्यक्रम रहेको छ ।
साथै सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खाना प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनालाई सत्कारस्वरूप प्रस्तुत गरिने पनि संघका अध्यक्ष शाहले जनाएका छन् ।