
बाँके – बाँकेमा पर्यटन प्रवर्द्धनको नाममा आयोजना गरिएका ट्राभल मार्टहरू देखावटी समारोहमा सीमित हुँदै गएका छन्।
पछिल्ला वर्षहरूमा स्थानीय तहदेखि नेपाल पर्यटन बाेर्ड र संघीय सरकारसम्मको सहयोगमा आयोजना गरिएकाे ट्राभल मार्ट परिणाममुखि भन्दा पनि गाेजी भर्ने कम भएकाे देख्न सकिन्छ ।
नाट्टा बाँके च्याप्टरले आयाेजना गर्ने हरेक ट्राभल मार्टहरूमा आकर्षक ब्यानर, स्टल र उद्घाटन समारोह त भव्य देखिन्छन्, तर त्यसपछिको गतिविधि झनै निराशाजनक हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्। एक होटल व्यवसायीका अनुसार, “हामीलाई स्टल राख्न बोलाइन्छ, तर पर्यटक होइन, बोलाउनेहरू आफैं पुग्दैनन्। कार्यक्रम सकिएपछि पनि कुनै फलदायी संवाद हुँदैन।”
नाट्टा बाँकेले २०७८ फागुन २५ गते पहिलाे पटक वेष्टर्न ट्राभल मार्ट काे सुरूवात गर्याे । तर त्यसबाट के कति फाईदा भयाे त्यसकाे कुनै समीक्षा भएन । पुन त्यसलाई निरन्तरता दिदै दाेस्राे पटक २०७९ माघ १५ गते पुन उहीँ नाम दिदै मार्ट चलाईयाे र त्यसबाट पनि कुनै उपलब्धि नभएपछि सरकारी निकायले विश्वास गर्न छाेड्याे र २०८२ मा बजेट सक्न रैथाने खाना काे नामा नेपालगञ्ज पुन मार्ट चलाईएकाे एक पर्यटन पत्रकार बताउछन् ।
पछिल्लो ट्राभल मार्टमा दर्जनौं स्टल राखिए पनि अधिकांशमा न दर्शक आए, न संवाद भयो। स्थानीय पत्रकारहरूका अनुसार उक्त कार्यक्रमको उद्घाटनमा सरकारी पदाधिकारी र आयोजक निकाय मात्र देखिन्थे। पर्यटनसँग सम्बन्धित निजी क्षेत्र भने पन्छिएको थियो।
स्थानीय स्रोतका अनुसार हरेक ट्राभल मार्टमा लाखौँ रुपैयाँ खर्च गरिन्छ। ब्यानर, पोस्टर, मञ्च निर्माण, खानपान लगायतको खर्च प्राथमिकतामा रहन्छ। तर त्यसको पर्यटक आगमनमा प्रभाव भने देखिएको छैन। बाँकेका एक पर्यटन कर्मि भन्छन्, “प्रचारमा मात्रै जोड, कार्यक्रमको सामग्री शून्य भएपछि यो केवल अनुदान खर्च गर्ने माध्यम बनेको छ।”
यस्ता कार्यक्रमहरूमा स्थानीय संस्कृतिको प्रदर्शन, होमस्टे प्रवर्द्धन, गन्तव्य चिनाउने प्रयत्न हुनु पर्नेमा केवल औपचारिकता पूरा गरिन्छ। स्थानिय समुदायको सहभागिता अत्यन्त न्यून रहने भएकाले ‘ट्राभल मार्ट’ नाम मात्रैको नारा बनेको छ।