
बाँके । नाट्टा बाँकेले हालै आयोजना गरेको ट्राभल मार्टलाई लिएर स्थानीय पर्यटन क्षेत्रका विज्ञ र व्यवसायीहरूले चासो र आलोचना दुबै व्यक्त गरेका छन्। उनीहरूका अनुसार “ट्राभल मार्ट” जस्ता औपचारिक कार्यक्रमले मात्र भारतीय पर्यटक भित्र्याउने अपेक्षा गर्नु धरातलीय यथार्थभन्दा टाढाको कुरा भएकाे बताएका छन् ।
पछिल्लो समय नाट्टा (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) बाँके च्याप्टरले Western Travel Mart मार्फत भारतीय पर्यटकहरू ठूलो संख्यामा ल्याउने दाबी गरिरहेको छ। तर यसप्रति स्थानीय पर्यटन व्यवसायी, सरोकारवाला तथा अन्य व्यक्तिहरूले ती दाबीलाई ‘हावादारी गफ’ भन्दै आलोचना गर्न थालेका छन्।
नाट्टा बाँकेले २०७८ फागुन २५ गते पहिलाे पटक वेष्टर्न ट्राभल मार्ट काे सुरूवात गर्याे । तर त्यसबाट के कति फाईदा भयाे त्यसकाे कुनै समीक्षा भएन । पुन त्यसलाई निरन्तरता दिदै दाेस्राे पटक २०७९ माघ १५ गते पुन उहीँ नाम दिदै मार्ट चलाईयाे र त्यसबाट पनि कुनै उपलब्धि नभएपछि सरकारी निकायले विश्वास गर्न छाेड्याे र २०८२ मा बजेट सक्न रैथाने खाना काे नामा नेपालगञ्ज पुन मार्ट चलाईएकाे एक पर्यटन पत्रकार बताउछन् ।
नाट्टा बाँकेले भारतसँगको पर्यटन सहकार्य विस्तार गर्ने उद्देश्यले ट्राभल मार्ट आयोजना गरेपनि त्यसको प्रभाव हालसम्म देखिएको छैन। न भारतबाट पर्यटकको उल्लेख्य आगमन भएको छ, न त स्थानीय पर्यटन व्यवसायमा उत्साहजनक परिवर्तन आएको छ।
नेपालगञ्जका एक पर्यटन पत्रकार भन्छन्, “हरेक वर्ष कुनै न कुनै कार्यक्रम गरेर प्रचार गरिन्छ, तर त्यसको प्रत्यक्ष फाइदा देखिएको छैन। उनी भन्छन् भारतीय पर्यटक ल्याउन भाषण होइन,व्यावहारिक काम चाहिन्छ।”
ट्राभल मार्टमा नेपालगञ्जका केही ट्राभल एजेन्सी, होटल व्यवसायी र भारतका केही मात्रै ट्राभल व्यापारीहरू सहभागी थिए। तर कार्यक्रम सम्पन्न भएकाे यतिकाे वर्ष सम्म पनि सीमा नाकाहरूमा पर्यटक चाप नदेखिनु कार्यक्रमको प्रभावहीनता पुष्टि गर्ने संकेत हो।
भारतीय एक ट्राभल व्यवसायी भन्छन् बाँकेले भारतीय पर्यटक भित्र्याउनका लागि केवल मेला–महोत्सव वा मार्ट आयोजना गरेर पुग्दैन। त्यसका लागि भारतका प्रमुख शहरहरूमा नियमित प्रोमोशन, यातायात सहजीकरण, मूल्य प्रतिस्पर्धात्मक प्याकेज र सीमा नाकामा सहज आवागमनको व्यवस्था हुनु जरुरी रहेकाे बताए ।
तर नाट्टा बाँकेका पदाधिकारीहरू भने हरेक वर्ष ट्राभल मार्ट सफल भएको दाबी गर्ने गर्दछन् । एक एक व्यवसायीले भने, “हामीले भारतका एजेन्सीसँग प्रत्यक्ष संवाद बढाएका छौँ, परिणाम आउन समय लाग्छ।” तर अर्को थरी व्यवसायी भन्छन् परिणाम आउन समय लाग्ने नाममा वर्षौंसम्म नतिजाविहीन कार्यक्रम दोहोर्याउनु भने बेमौसमको बर्सात जस्तै हो।
नाट्टा बाँकेले विभिन्न सम्मेलन र पत्रकार भेटघाटमार्फत भारतका उत्तर प्रदेश, बिहार लगायतका राज्यबाट पर्यटक भित्र्याउने योजना सार्वजनिक गर्दै आएको छ। तर अहिलेसम्म त्यो योजनाले मूर्तरूप लिन सकेको देखिँदैन। न नेपालगञ्जका होटलहरूमा पर्यटकको चाप छ, न त नयाँ प्याकेज वा सहकार्यबारे स्पष्ट जानकारी दिइएको छ।
एक स्थानीय होटल व्यवसायी भन्छन् “हरेक वर्ष पर्यटक ल्याउने गफ चुटिन्छ, तर व्यवहारमा केही देखिँदैन। पर्यटन भनेको केवल बोलेर होइन, रणनीतिक योजना र सघन सहकार्यबाट विकास हुन्छ।”उनका अनुसार भारतीय पर्यटकहरू ल्याउन सस्तो प्याकेज, सस्तो यातायात, स्वच्छ सेवा र सुरक्षित वातावरणको खाँचो हुन्छ, जुनबारे नाट्टाले ठोस पहल गरेको देखिँदैन।