
उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।
त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौं तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन् ।
त्यसो त यो र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्याफ्टिङका लागि आउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् ।
‘र्याफ्टिङका लागि यो अनुकूल समय हो, बर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन । पारिवारिक साहसिक गतिविधि भएकाले र्याफ्टिङ गर्नेहरु बढेका छन्,’ उनले भने ।
बिदाको दिन आउने, र्याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरू बढेको उनको भनाइ छ । उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौं, चितवन, पोखरालगायतका शहरबाट मानिसहरू आउने गरेका छन् ।
‘कतिपय मानिसहरू काठमाडौं–चितवन–पोखराको यात्राका क्रममा पनि र्याफ्टिङ गरेर जानेहरु हुनुहुन्छ, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरू हुनुहुन्छ,’ उनले भने ।
यहाँ आउनेहरू गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ ।
त्रिशूली नदीमा र्याफ्टिङ निकै सहज भएकाले काठमाडौंबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्याफ्टिङ गर्न सक्छन् । र्याफ्टिङ सबै उमेर समूहका लागि रहेको सञ्चालक कँडेलले बताए ।
र्याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्याफ्टिङ गर्दा र्यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौंबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।