
दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्वी र भारतीय पर्यटकको आकर्षण बढेको छ । लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो ।
२०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो । बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ ।