कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरु असोज पहिलो हप्ता देखि खुल्ने भएका छन् ।
कोरोना भाइरसको संक्रमण दर घट्दै जानु र घुमफिरको उपयुक्त सिजन सुरु भएकाले अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरु असोज पहिलो हप्ताभित्रै खोल्ने तयारी गरेको घान्द्रुक पर्यटन समितिले जनाएको छ ।
अन्नपूर्ण आधार शिविर क्षेत्रभित्र पर्ने घान्दु्रक, घोरेपानी, टाढापानी, छोमरोङ लगायतमा रहेका होटलहरु असोज पहिलो हप्ता सम्म खोल्ने व्यवसायीहरुले बताएका छन् ।
अन्नपूर्ण आधार शिविरमा किन जाने
अन्नपूर्ण आधार शिविरमा धौलागिरी, अन्नपूर्ण हिमाल लगायत दर्जनौं हिमाल आँखै अगाडि हेर्न पाईन्छ । र यसको उपयुक्त स्थान हो घोरेपानीको पुनहिल । वाह्य तथा आन्तरिक पर्यटक यस घोरेपानी पुनहिलको पदयात्रा गदै पुग्ने गर्दछन् । तर, पछिल्लो समय नेपाली युवाहरुको पनि आकर्षणा यस क्षेत्रमा परेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । घोरपानीबाट आधा घण्टा उकालो हिँडेपछि पुग्न सकिन्छ पुनहिल । घोरपानी हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ ।
कसरी पुग्ने
पुनहिलबाट टाढापान, छोमरोङ्ग, हिमालय होटल हुँदै अन्नपुर्ण आधारशिविर पुग्न सकिन्छ । पोखराबाट पुनहिल हुँदै घोरेपानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरेपानी पुगिन्छ । तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ ।