२०८१ कार्तिक १९, सोमबार | २०८१ मंसिर १८ | ourtourismnews@gmail.com

पर्यटकले लगाए पाेखरामा भाइटिका

२०८१ कार्तिक १९, सोमबार

पोखरा । तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो ।

नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिए र सेलरोटी लगायतका परिकार पस्किए । सँगै देउसीभैलो र नाचगानको कार्यक्रम पनि देखाए । सहभागी पर्यटक पनि नाचगानमा साथ दिंदै रमाए । आफ्नो नेपाली नाम लिला राखेकी एक चिनिया पर्यटकले भाइटिका लगाउन पाउँदा आफू प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन् ।

महोत्सवमा इजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गरिएको हो । घरमा जसरी दिदीबहिनीबाट टिका ग्रहण गरिन्छ त्यही तरिकाले पर्यटकलाई टिका लगाइदिने र तिहारबारे जानकारी दिंदै पर्यटकलाई दोहोर्याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास संघका अध्यक्ष सुवेदीले व्यक्त गरे ।

कार्यक्रमको संचालन महासचिव ढकालले गरेका थिए । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रबद्र्धन गरेका थिए । गोर्खा वियर र इसेवा होटल्सले महोत्सवलाई सघाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख