| २०८३ श्रावण ३० | [email protected]

कर्णाली : पर्यटन नबुझेका व्यवसायी, राज्यको लगानी बढ्दा गन्तव्य ओझेलमा

२०८३ श्रावण ३०, शनिबार

दिपक जैसी\सुर्खेत

कर्णालीमा पर्यटन विकासका नाममा राज्यको लगानी वर्षेनी बढ्दै गए पनि यहाँका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार र बजारीकरण भने अपेक्षाकृत कमजोर देखिएको छ।

पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायले लगानी गरिरहे पनि त्यसलाई पर्यटकसम्म पुर्‍याउने प्रभावकारी योजना नहुँदा सम्भावना बोकेका गन्तव्यहरू ओझेलमा परेका छन्।

कर्णालीमा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको ठूलो सम्भावना छ। रारा, शे–फोक्सुण्डो, काक्रेबिहार, सिंजा, पञ्चकोशी, जुम्ला–हुम्लाका मौलिक संस्कृति तथा हिमाली क्षेत्रका अनेकौं गन्तव्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्छन्। तर यी गन्तव्यको व्यवस्थित प्रचार, सूचना प्रवाह र पर्यटकलाई लक्षित व्यावसायिक प्याकेज निर्माणमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन।

पर्यटन व्यवसायमा संलग्न केही व्यवसायीसमेत गन्तव्यको विशेषता, पर्यटकको आवश्यकता र बजार व्यवस्थापनबारे पर्याप्त जानकारी नराख्दा समस्या थपिएको पर्यटन क्षेत्रका सरोकारवालाको भनाइ छ। पर्यटन व्यवसाय केवल होटल सञ्चालन वा पर्यटक आएपछि सेवा दिने विषय मात्र नभई गन्तव्यको पहिचान निर्माण, प्रचार–प्रसार, सूचना प्रवाह र बजारसँग जोड्ने समग्र व्यवसाय भएको उनीहरूको तर्क छ।

राज्यले सडक, पदमार्ग, पर्यटन सूचना केन्द्र, विश्रामस्थललगायतका पूर्वाधारमा लगानी गरे पनि ती संरचनाको उपयोग र प्रचार प्रभावकारी हुन नसक्दा अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन। नाकामा स्थापना गरिएका पर्यटन सूचना केन्द्रसमेत धेरै पर्यटक र व्यवसायीलाई जानकारी नहुनु यसको एउटा उदाहरणका रूपमा देखिएको छ।

पर्यटनका सम्भावनाबारे भाषण र योजना बनाउने क्रम बढे पनि ‘गन्तव्य बनाउने र गन्तव्य बेच्ने’ कामबीच ठूलो खाडल देखिएको छ। पर्यटन विज्ञ तथा व्यवसायीहरूका अनुसार अब पूर्वाधार निर्माणसँगै स्थानीय व्यवसायीलाई पर्यटनसम्बन्धी ज्ञान, आतिथ्यता, डिजिटल प्रचार, गाइड सेवा, प्याकेज निर्माण र बजार व्यवस्थापनसम्बन्धी तालिम दिन आवश्यक छ।

कर्णालीको पर्यटनलाई साँच्चिकै अर्थतन्त्रको आधार बनाउने हो भने सरकारी लगानी मात्र पर्याप्त हुँदैन। निजी क्षेत्रको क्षमता विकास, व्यवसायीको पर्यटनसम्बन्धी ज्ञान अभिवृद्धि र गन्तव्यको आक्रामक प्रचार–प्रसार पनि उत्तिकै आवश्यक हुन्छ।

राज्यले गन्तव्यमा लगानी गरिरहने तर व्यवसायीले त्यसलाई बजारसम्म पुर्‍याउन नसक्ने हो भने कर्णालीका पर्यटकीय गन्तव्य ओझेलमै पर्नेछन्। अब पर्यटनका ठूला कुरा होइन, लगानीको प्रतिफल देखिने गरी गन्तव्य चिनाउने र पर्यटक भित्र्याउने काममा जोड दिनुपर्ने आवश्यकता छ।

प्रतिक्रिया

सम्बन्धित ख