| २०८३ भाद्र १० | [email protected]

रसुवा बाढीपछि पर्यटकको खोजी र उद्धारलाई प्राथमिकता दिन सरकारसँग युनिट्राभकाे आग्रह

२०८३ भाद्र १०, बुधबार

काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई तत्काल प्राथमिकता दिन नेपाल ट्रेकिङ–ट्राभल्स–र्‍याफ्टिङ–एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) ले सरकारसँग आग्रह गरेको छ।

युनिट्राभले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, भोटेकोशी, पहिरेबेँसी, ग्याल्टे तथा आसपासका बस्ती प्रभावित भएको जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै युनिट्राभले प्रभावित क्षेत्रमा रहेका नेपाली तथा विदेशी पर्यटकको अवस्थाबारे तत्काल यकिन गर्न माग गरेको छ।

प्रारम्भिक जानकारीअनुसार बाढीका कारण टिमुरे तथा आसपासको क्षेत्रमा जनजीवन प्रभावित भएको छ। लाङटाङ, गोसाइँकुण्ड, त्रिशूलीलगायतका पर्यटकीय क्षेत्रमा पर्यटक लिएर गएका श्रमिक तथा गाइडहरूसँग समेत सम्पर्कविच्छेद भएको युनिट्राभले जनाएको छ। यसले पदयात्रा तथा साहसिक पर्यटनमा रहेका पर्यटकको सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

युनिट्राभले सम्पर्कविहीन पर्यटक तथा पर्यटन क्षेत्रका श्रमिकको तत्काल पहिचान गरी उनीहरूको अवस्थाबारे सार्वजनिक जानकारी दिन सरकारसँग माग गरेको छ। साथै जोखिममा रहेका पर्यटकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा उद्धार गरी आवश्यक राहत, स्वास्थ्य सेवा, खाना र अस्थायी बसोबासको व्यवस्था गर्न आग्रह गरेको छ।

युनिट्राभले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली तत्काल परिचालन गर्न, सम्पर्कविहीन पर्यटक र श्रमिकको विवरण संकलन गर्न तथा क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको छ। पर्यटकको सुरक्षा सुनिश्चित नभएसम्म जोखिमयुक्त पर्यटकीय क्षेत्रमा आवतजावत तथा भ्रमणबारे स्पष्ट सूचना जारी गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले विपद्को समयमा सम्पर्कविहीन श्रमिकका परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै प्रभावित श्रमिक तथा पर्यटकको जीवनरक्षा, उद्धार र राहतका लागि आवश्यक समन्वयमा संगठन तयार रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख